करको दायरामा नआउनेलाई सरकारी योजना

89

प्रस, परवानीपुर, २० असोज/
आन्तरिक राजस्व कार्यालय पर्सामा फर्म दर्ता गरी पसल, व्यवसाय गरेका तर विगत लामो समयदेखि कर नबुझाएका व्यवसायीका लागि सरकारले योजना ल्याएको छ ।
पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले गत जेठ १५ गतेको बजेट भाषणमा करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन छुटसमेत दिएर ल्याउने योजना ल्याएका थिए । सोही अनुरूप हाल पर्सा जिल्लामा आन्तरिक राजस्व कार्यालय योजनाबाट विगत लामो समयदेखि कर नबुझाएका र जुनबेला पनि कारबाहीको फन्दामा पर्न सकिने पसले तथा व्यवसायीलाई उक्त योजना अनुसार आय विवरण र कर बुझाएर विगतका कमीकमजोरीलाई सुधार गर्नुपर्ने अवसर सरकारले दिएको एकजना कर अधिकृतले बताए ।
आन्तरिक राजस्व कार्यालय पर्साका सूचना अधिकारी एवं कर अधिकृत ह्दयनारायण महतोका अनुसार व्यक्ति वा निकायको हकमा २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ को आय विवरण र सोमा लाग्ने कर चालू आवको फागुन मसान्तसम्म बुझाएमा त्यसमा लाग्ने शुल्क तथा ब्याज मिनहा हुने सुविधा दिएको छ ।
प्यानमा दर्ता भई ५० लाखसम्मको वार्षिक कारोबार गर्ने प्राकृतिक व्यक्ति, सामान्य पसले वा करदाताले २०७३ सालदेखि हालसम्मको ४ वर्षको आय विवरण र कर बुझाउँदा त्यसमा २५ प्रतिशत छुट दिने सरकारको योजना छ । सोभन्दाअघिको कारोबारको आय विवरण र शुल्क माग गरिंदैन । त्यसैगरी, प्यान दर्ता गरी वार्षिक ५० लाखभन्दा बढी कारोबार गर्ने करदातालाई पनि २०७३ देखि ४ वर्षको आय विवरण र कर बुझाउँदा २५ प्रतिशत छुट दिइने व्यवस्था छ ।
मूअकतर्पm दर्ता भई मूअक विवरण र कर नबुझाएकाका लागि पनि सुनौलो अवसर सरकारले दिएको ती कर अधिकृतले बताए । २०७५ असार मसान्तसम्म मूअक विवरण र कर बुझाएको छैन भने पछिल्लो चार वर्षको आय विवरण र मूअक आगामी फागुन मसान्तसम्म बुझाए तिर्नुपर्ने ब्याजमा ५० प्रतिशत छुट गरिने सूचना अधिकारी महतोले स्पष्ट पारे ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्