धानको बालामा भुस

0
17

     धानमा दानाभन्दा भुस धेरै भएपछि किसानहरू समस्यामा परेका छन् । पर्सा, बाराका केही स्थानबाहेक अधिकांश खेतबारीमा मङ्सिरे धान भुस्याहा भएको छ । पर्सा, ठोरीका किसानहरूले मल, सिंचाइ र औषधोपचार गर्दागर्दै पनि धानको  बोटमा दाना नलागेर भुस धेरै फलेको बताएका छन् । त्यसैगरी, बारा जिल्लाका केही क्षेत्रमा धानको बाला सुक्ने रोग लागेको छ । विगतको तुलनामा यस वर्ष २५ देखि ४० प्रतिशतसम्म धानको उत्पाद घट्ने किसानहरूको अनुमान छ । सबै ठाउँको समस्या प्रायः एउटै देखियो । बाला सुकेर भुस मात्रै भएको किसानहरूको भनाइ छ । बाराका किसानहरूले पनि समयमा रोपनी तथा मल, बीउ र औषधि छरेका हुन् । उनीहरूको पनि धानको बाला सुकेर उत्पादन घटेको छ । सबैतर्फको समस्या र परिणाम एकै भएपनि त्यसको कारण भने फरक छ । केही स्थानमा धानको बालामा दूध लाग्ने बेला पतेरो  कीराको सङ्क्रमणको कारण भुस धेरै भयो, केही स्थानमा धान पसाउने बेलामा आवश्यक युरिया मल उपलब्ध हुन नसक्दा बालामा भुस फल्यो । त्यसैगरी, केही मुहान तथा सीम खेतहरूमा पानी धेरै भयो र किसानको अक्कल नपुग्दा धानको गाभाले गाँज हाल्न सकेन । यसो हुँदा थोरै बोट थोरै उत्पादन भयो । पात मर्ने र धानको जरा कुहिने समस्या पनि यस वर्ष कम थिएन ।
    यस वर्ष समयमा आकाशे वर्षा भएकोले मनग्य धान उत्पादन हुन्छ भन्ने विश्वासमा किसानहरू थिए । तर परिणाम उल्टो भइदियो । सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पनि गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन घट्ने अनुमान गरेको छ । यस आव २०७७/०७८ मा ५५ लाख ५१ मेट्रिकटन धान उत्पादन हुने मन्त्रालयको प्रक्षेपण छ । बितेको आव २०७६/०७७ मा ५६ लाख १० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष एक प्रतिशतले धानको उत्पादन घट्ने सरकारी अनुमान छ, तर वास्तविक परिमाण भने निकै फरक पर्ने देखिएको छ । अघिल्लो वर्ष ७० मन धान उत्पादन भएको खेतमा यस वर्ष कम्तीमा ४ मनदेखि बढीमा ७ मनसम्म मात्रै धान उत्पादन हुने ठोरीका किसानहरूको अनुमान छ । त्यसैगरी, फरक ठाउँका फरक समस्याहरू छन् ।
    यस वर्ष मनसुन स्वाभाविकभन्दा १० दिन ढिलो गरेर प्रवेश गरेको हो । मनसुन प्रवेशसँगै लगातार वर्षा भएपछि आवश्यकताभन्दा बढी पानीले खेत हिलाम्य भएको थियो । हिलो सुकेपछि मात्रै खेत जोत–खन गर्दा धान रोप्ने समय निकै पछि स-यो । रोपाइँ गर्ने समय जति पछि स-यो, उति नै बालामा भुस धेरै हुने धानबालीको स्वाभाविक प्रक्रिया हो । किसानका खेतहरूमा सिंचाइको पर्याप्त सुविधा भइदिएको भए मौसम पर्खनुपर्ने थिएन, निर्धारित समयमा रोपाइँ सम्पन्न हुने र त्यसले उत्पादनमा बढोत्तरी कायमै रहने थियो । कृषि उत्पादनका लागि किसानको परिश्रम एउटा महत्वपूर्ण पक्ष हो भने त्यत्तिकै महत्वपूर्ण पक्ष सिंचाइ, मलखाद र कीटनाशक औषधि पनि हो । बालीका लागि यी चिजहरू प्रयोग गर्ने निश्चित समय तथा अवधि हुन्छ । जहिले पायो त्यहींले प्रयोग गरिंदा यसले सकारात्मकभन्दा नकारात्मक परिणाम दिन्छ । हाम्रो मुलुकमा यी सबै कुरा किसानको आवश्यकताभन्दा पनि सरकारको तजबिजमा भर पर्छ । धान पसाउने बेला तेस्रो मुलुकसँग युरिया पैंचो माग्ने र सोही प्रक्रियामा ६ महीना बिताइदिने हाम्रा सरकार सञ्चालकहरू छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्