जिप्रकामैं स्वास्थ्य मापदण्डको पालना भएन

0
54

प्रस, वीरगंज, १९ असोज/
लकडाउन, निषेधाज्ञा जारी भएको सात महीनामा पछिल्लोपटक असोज १ गतेदेखि सञ्चालनमा आएको पर्सा जिल्लाका सरकारी कार्यालयहरूमा अहिले सङ्क्रमणको जोखिमलाई बेवास्ता गर्दै सेवा प्रवाह भइरहेको पाइएको छ ।
कोभिड–१९ को जोखिमका बीच सञ्चालनमा आएका सरकारी कार्यालयहरूलाई उच्च सतर्कता अपनाएर स्वास्थ्य मापदण्डको निर्देशन पालना गरी सञ्चालन गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय पर्सा आपैंmले नै सो निर्देशनको पालना गरेको छैन । कार्यालय सञ्चालन भएपछि यो कार्यालयमा दैनिक पाँच सयभन्दा बढी सेवाग्राहीको आवतजावत देखिएको छ । सेवा लिन आउनेहरूले सेनिटाइजरको प्रयोग, मास्क लगाउने र सामाजिक दूरी बनाउने जस्ता स्वास्थ्य मापदण्डको ठाडो उल्लङ्घन गरिरहेका पाइएको छ । जिप्रका पर्सामा नागरिकता बनाउन, नागरिकताको प्रतिलिपि लिन, राहदानी बनाउन, उजूरी दिन, मिलापत्र र विभिन्न कार्यालय प्रयोजनका काम गराउनका लागि सेवाग्राहीहरूको आवतजावत हुने गरेको छ । यहाँ सबैभन्दा बढी भीडभाड नागरिकता र राहदानी बनाउने फाँटमा हुन्छ ।
स्वयम् नियम पालना गराउने कार्यालयमा यस प्रकारको भीडभाडबारे प्रमुख जिल्ला अधिकारी आसमान तामाङ भन्छन्, “सात महीना कार्यालय बन्द भएकोले धेरै काम रोकिएको छ । त्यसैले सेवाग्राहीहरूको सङ्ख्या बढेको छ । उनीहरूलाई सेनिटाइजरको प्रयोग, मास्क लगाउन र सामाजिक दूरी बनाउन भनिए तापनि कार्यान्वयनमा समस्या भएको छ,” उनले जोखिम भएको कुरा स्वीकार्दै भन्छन्, “जतिभन्दा पनि सेवाग्राहीहरूले टेरेका छैनन् । कार्यालय प्रवेश गर्दा सुरक्षाकर्मी र कार्यालयभित्रका कर्मचारीले भन्दा–भन्दा थाकिसके तर सेवाग्राहीहरूले अटेर गरिरहेका छन् ।”
नियम कानूनको पालना गर्ने, गराउने कार्यालयको यो हरिबिजोग छ भने यहाँका अन्य भीडभाड बढी हुने कार्यालय मालपोत, नापी, भूमिसुधार, यातायात (सवारी, लाइसेन्स), वीरगंज महानगरपालिका लगायतका कार्यालयको हविगत के होला सहजै अनुमान गर्न सकिन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्