यद्यपि निषेधाज्ञा हटेको छ

0
14

     देशमा कोरोना भाइरस (कोभिड–१९) प्रवेश गरेको शुरूको दिनमा पर्सा जिल्ला कोरोना इपिसेन्टर बनेकोमा अहिले जिल्लाबाट निषेधाज्ञा बरखास्त गरिएको छ । हिजो सबैभन्दा सुरक्षित मानिएको र सरकार तथा जनस्तरबाट पर्याप्त सतर्कता राखिएको राजधानी अहिले कोरोना–इपिसेन्टर बन्न पुगेको छ । भूकम्पको इपिसेन्टर प्राकृतिक हो र यसको एउटै ठेकान हुन्छ । कोरोना–इपिसेन्टर मानवजन्य लापरवाहीको परिणाम हो र यसको केन्द्र सरिरहन्छ । हिजो भारतबाट बग्रेल्ती, सुरक्षा जाँचविना आउने नागरिकका कारण पर्सामा कोरोना महामारीले व्यापकता लिएको थियो भने अहिले त्यही कारणले राजधानी ग्रस्त हुन पुगेको छ । यसपछाडि मानवीय लापरवाही मात्र जिम्मेवार छ । मानिसमा रोगले मलाई पछार्न सक्दैन भन्ने मनोविज्ञान सक्रिय भएपछि कुनै न कुनै निहुँमा रोगले उसलाई गाँज्छ । यसर्थ कोरोना समुदायसम्म फैलनुमा हिजो सरकारको एकाङ्गी प्रयास दोषी थियो भने आज नागरिकको हेलचेक्र्याइँ यसको कारण बनेको छ । कोरोनालाई बेवास्ता गर्नु वा यससँगै बाँच्न सिक्नुको कुनै विकल्प नदेखेर सरकारले त्वम् शरणम् गर्दै निषेधाज्ञा हटाएर बन्दाबन्दी खुकुलो पार्दै लगेको हो ।

    यसै पनि अब चाडबाडको लहरो आउँदै छ । एकपछि अर्को, कदापि त्याग्न नसकिने दशैं, तिहार, छठ पर्व आउँदैछ । यी सबै पर्व जनसमूहमा मनाइने हो । यी सबै चाड एउटा परिवार होइन, एउटा जात होइन, समुदाय मिलेर, दूरदराजका इष्टमित्र मिलेर, भेटेर मनाउने चाड हुन् । यसबाट सङ्क्रमणको खतरा बढ्छ । सरकारले जतिसुकै रोक्ने कोशिश गरे पनि रोक्न नसकिने यी चाडहरू मानवजीवनका लागि जोखिम नबनून् भन्ने हेक्का नागरिक आफैंले राख्नुपर्छ । नागरिक आफैं सतर्क हुनुपर्छ र सरकारले प्रत्यक्ष हस्तक्ष्Fेप गर्नुको साटो नागरिकलाई सतर्क गराइराख्ने र परिआएको बेला त्वरित उपचारका लागि तयार बस्नुपर्छ । कोरोना सर्वव्यापी भइरहेको छ । अस्ति मात्र एउटा कार्यक्रममा नेपालको सरकारी तत्परताको तारीफ गर्दै, अन्य मुलुकका सांसद, मन्त्री, राष्ट्रप्रमुखहरूमा सङ्क्रमण देखिए पनि नेपालका ठूला–बडा यस सङ्क्रमणबाट मुक्त रहेको चर्चा चल्दै थियो । तर आज प्रधानमन्त्रीका सल्लाहकारहरूमा रोगको सङ्क्रमण भएको समाचार आइपुगेको छ । राजधानी शहरहरू अहिले अत्तालिएका छन् । तर राजधानी शहरहरूले हिजो सबै सुविधा आफूसम्म सीमित गरेकाले अन्यत्रका मानिस जसरी पनि राजधानी पुग्नुपर्ने विवशता खडा गरेका छन् । यसले महामारीले फैलने अवसर पाएको हो ।
    दुर्लभ सामान, दुष्कर स्वास्थ्य उपचार, उच्च र गतिलो शिक्षालगायत नागरिकलाई चाहिने सबै कुरा राजधानीमा सीमित पारियो । राजधानीबाहिर मुश्किलले गतिलो विद्यालय, विश्वविद्यालय, स्वास्थ्य उपचारका लागि भरपर्दो संस्थाहरूको निर्माण गरियो । नागरिक जाओस् त कहाँ जाओस् ! अहिले कोरोनाको आशङ्कामा सामान्यजनलाई अन्य रोगको उपचारका लागि पनि राजधानी पुग्नु दुष्कर पारिएको छ । यस्तोमा नागरिकले गोप्यरूपले राजधानी नपुगी धर पाएन, पुग्नेजति कोरोनामुक्त छन् कि छैनन् भन्ने यकीन पनि गर्न सकिएन । यो सरकारको लापरवाही र हिजोको दिनमा देशको एकाङ्गी विकास गरेको प्रतिफल हो । यो सरकारहरूको त्रुटि हो । अहिले चाहिं सम्पूर्ण दायित्व नागरिकमा सरेको छ । सतर्क भएर कोरोनामुक्त रहने कि लापरवाह बनेर रोग पाल्ने ?

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्