प्रजातान्त्रिक शासन व्यवस्थाको अर्थ

0
34

-अनंतालाल दास    

प्रजातान्त्रिक शासन पद्धतिलाई प्रस्ट गर्दै भनिएको छ– “प्रजातान्त्रिक शासन पद्धतिमा जनताद्वारा जनताको हितमा जनताको सरकार गठन गरिन्छ ।” यस परिभाषाले के स्पष्ट हुन्छ भने प्रजातन्त्रमा जनताको चाहना सबैभन्दा ठूलो हुन्छ । यस पद्धतिमा जनताले छानेका व्यक्तिहरूले जनताको हितलाई ध्यानमा राखी शासन चलाउँछन् । प्रजातान्त्रिक शासन पद्धतिको प्रारम्भ अठारौं शताब्दीको अन्तिम चरणमा भएको थियो । पश्चिमा देशहरूमा सबैभन्दा पहिले युनानले यस शासन पद्धतिलाई अँगालेको थियो । त्यहाँ त्यस बेला दासप्रथा भएको कारण शासन त राजाले चलाउँथे तर देशका विभिन्न समस्यामाथि विचार–विमर्श गर्नका लागि शासन पद्धतिमा समयानुकूल सुधार गर्नका लागि ‘सभ्य’ जनतालाई आमन्त्रित गर्ने चलन थियो । बिस्तारै फ्रान्स, स्पेन आदि देशहरूमा राजतन्त्र समाप्त हुँदै गयो र त्यस ठाउँमा प्रजातन्त्रको स्थापना हुँदै गयो । यस प्रकार बिस्तारै विश्वका ठूल्ठूला र ससाना राष्ट्रहरूमा पनि प्रजातान्त्रिक शासन पद्धतिको सुरुआत भयो । हुनत नेपालमा २००७ सालदेखि प्रजातान्त्रिक पद्धति सुरुआत भएको हो तर विक्रम संवत् २०६३ सालमा राजतन्त्रको समाप्तिपछि नेपालमा पूर्ण प्रजातन्त्र स्थापना भयो ।
    वर्तमान युग प्रजातन्त्रको युग हो । प्रजातान्त्रिक शासन प्रणालीले एउटा आदर्श उद्देश्य बोकेको हुन्छ । यस शासन प्रणालीमा जनताले पूर्ण स्वतन्त्रताको उपयोग गर्दछ । जनतालाई लेख्ने–पढ्ने स्वतन्त्रता, विचारको स्वतन्त्रता, शासनको आलोचना गर्ने स्वतन्त्रता, धार्मिक स्वतन्त्रता आदि प्रदान गरिएको हुन्छ । प्रजातान्त्रिक शासन पद्धतिमा अन्य धर्मको भावनालाई ठेस नपु-याई जनतालाई आआफ्नो धर्म अनुसार आचरण गर्ने पूर्ण स्वतन्त्रता हुन्छ । जनतामा आपसी द्वेषको बीजारोपण नहुन्जेल शासनको आलोचना गर्नु पनि क्षम्य हुन्छ । आफ्नो अधिकार प्राप्त गर्नका लागि विरोध प्रदर्शन गर्ने स्वतन्त्रता पनि नागरिकलाई प्राप्त हुन्छ । नागरिक अधिकारको सुरक्षाका लागि प्रजातान्त्रिक देशमा एउटा संविधान पनि हुन्छ, जसलाई जनताद्वारा छानिएका प्रतिनिधिहरूले तयार गर्छन् । संविधान निर्माणमा हरेक वर्गको प्रतिनिधित्व हुन्छ । प्रजातान्त्रिक देशको संविधानले सबै जनतालाई समान अधिकार प्रदान गर्दछ । संविधानको दृष्टिमा सबै समान हुन्छन् ।
    कुनै पनि देशमा प्रजातन्त्रको सफलताका लागि केही कुरा आवश्यक हुन्छन् । पहिलो देशको जनता सुशिक्षित हुनुपर्छ, जसलाई आफ्नो अधिकार र कर्तव्यबारे अधूरो हैन, पूर्ण ज्ञान हुन्छ । अशिक्षित देशले प्रजातान्त्रिक शासन पद्धतिमा अनेकौं किसिमका समस्याको सामना गर्नुपर्ने हुन्छ । पूँजीपतिहरूले जनताको सबैभन्दा ठूलो अधिकार ‘भोट’ सजिलै किनबेच गरी देशलाई उन्नतिको साटो अवन्नतितर्फ धकेल्न थाल्छन् । दोस्रो देशमा धेरै राजनीतिक दल हुनुपर्छ । धेरै दल भएपछि सत्तासीन राजनीतिक दलले आफ्नो मनोमानी गर्न पाउँदैन । विरोधीहरूको कटु आलोचनाको भयले गर्दा सत्तासीन दल कुनै पनि अनुचित नीति अँगाल्न सक्दैन । तेस्रो देशमा पर्याप्त सङ्ख्यामा समाचारपत्र प्रकाशित हुनुपर्छ र त्यसलाई जनमत प्रकाशनको पूर्ण स्वतन्त्रता हुनुपर्छ ।

    प्रजातान्त्रिक शासन पद्धतिका धेरै फाइदा पनि छन् । प्रजातान्त्रिक शासन पद्धतिमा राज्यभन्दा बढी महत्व नागरिकलाई दिइन्छ । राज्यले प्रत्येक नागरिकको विकासका लागि अनेक अवसर प्रदान गर्दछ । अर्थात् राज्य साधन हो भने नागरिक साध्य । प्रजातान्त्रिक शासन पद्धतिमा नागरिकलाई बढीभन्दा बढी स्वतन्त्रता प्रदान गरिएको हुन्छ । उसले आफ्नो ‘भोट’द्वारा जो कोही आफ्नो प्रतिनिधि निर्वाचित गर्न सक्छ । भाषण र लेखनीबाट आफ्नो विचार प्रक्षेपण गरी बहुमत प्राप्त गर्न सक्दछ । इतिहासका पाना पल्टाउँदा के स्पष्ट हुन्छ भने विभिन्न देशमा जुन क्रान्ति र विद्रोहहरू भएका छन्, ती सबै विचार प्रकट गर्ने स्वतन्त्रता नभएको वा शासकसम्म आफ्नो विचार पु-याउने सुविधा नभएकै कारण भएका छन् । यस प्रकार अन्याय असह्य भएपछि ती देशहरूमा रक्तक्रान्तिको थालनी भएको इतिहास साक्षी छ तर प्रजातान्त्रिक शासन पद्धतिमा यस प्रकारको कुनै भय हुँदैन । प्रजातान्त्रिक शासन पद्धतिमा सरकारले जनतामाथि कम मात्र शासन गर्नुपर्छ । सरकार जनतामाथि आफ्नो मनोमानी गर्न सक्दैन किनभने उसलाई अन्य विपक्षी राजनीतिक दलहरू तथा समाचारपत्रको भय हुन्छ । प्रजातान्त्रिक शासन पद्धतिमा कानून सबैभन्दा माथि हुन्छ । यस कारण प्रजातन्त्रलाई विधिको शासन पनि भनिने गरिएको छ ।
    प्रजातान्त्रिक शासन पद्धतिमा जनताको प्रत्यक्ष शासन हुँदैन । जनताले आप्mनो प्रतिनिधि छनोट गर्दछ । चुनावमा जुन दलको बहुमत हुन्छ त्यस दलले आफ्नो सरकार (मन्त्रिमण्डल) गठन गर्छ । यदि कुनै पनि दललाई बहुमत प्राप्त भएन भने बढी सीट हासिल गर्ने दलले केही दलहरूको सहयोगमा बहुमत पु-याएर सरकार गठन गर्दछ र यसरी बनेको सरकार संसद्प्रति उत्तरदायी हुन्छ । जुनबेला त्यस दलको बहुमत हुँदैन, त्यस बेला उसले मन्त्रिमण्डलसहित त्यागपत्र दिनुपर्छ । यस कारण प्रत्येक दलको के प्रयास हुन्छ, जनता उसको नीतिबाट सन्तुष्ट रहोस् । यस कारण प्रजातान्त्रिक पद्धतिमा जनचाहनाको कदर गरिन्छ ।
    राजनीतिशास्त्रका प्रसिद्ध विद्वान् प्लेटोले प्रजातान्त्रिक शासन पद्धतिलाई ‘मूर्खहरूको शासन’ पनि भनेका छन् । उनको के तर्क छ भने संसारमा मूर्खहरूको सङ्ख्या बढी र बुद्धिमान्हरूको कम हुन्छ । बहुमतमा सदैव मूर्खहरू रहन्छन् । यस कारण बहुमतको शासन भनेको मूर्खहरूको शासन हो । अशिक्षित जनतालाई न आफ्नो अधिकारबारे ज्ञान हुन्छ, न प्रजातान्त्रिक शासन पद्धतिको महत्व नै थाहा हुन्छ । राजनीतिक दलहरूको सहारा लिई मानिस चुनाव लड्छन् । मतदाताहरूले पनि उम्मेदवारको गुण–अवगुण नहेरेर राजनीतिक दलको आधारमा भोट दिन्छन् । यसले गर्दा अयोग्य र अभद्र व्यक्ति पनि माथि पुग्दछ । जुनबेला कुनै दल विजयी हुन्छ, उसले आफ्नो समर्थकको योग्यता नहेरी उसलाई खुशी पार्न ठूला–ठूला पद प्रदान गर्दछ । यतिमात्र कहाँ हो र ? उनीहरूलाई व्यक्तिगत लाभका लागि पनि अनेक किसिमले सहयोग गर्छ । यसरी जनतामाझ पक्षपातको उदय हुन्छ, जसले गर्दा योग्य मानिसलाई आफ्नो योग्यता प्रदर्शनको अवसर नै प्राप्त हुँदैन । जुनबेला एउटा दललाई पूर्ण बहुमत प्राप्त हुँदैन, त्यस बेला उसलाई सरकार बनाउनका लागि अन्य दलहरूको सहयोग लिनुपर्छ । यसरी गठबन्धन गर्नुपर्दा विरोधी दलहरूलाई अनेक किसिमको सुविधा दिनुपर्छ । यस अवस्थामा छिटोछिटो सरकार परिवर्तन भइरहन्छ ।
    प्रजातान्त्रिक शासन पद्धतिको सबैभन्दा ठूलो दोष विकासको गति मत्थर हुनु हो । यस व्यवस्थामा कुनै पनि कार्य सहज ढङ्गले र छिटो सम्पन्न हुँदैन । संसद्मा धेरै लामो समयसम्म कुनै एउटा एजेन्डामा बहस चलिरहन्छ । यस कारण देशमा विषम परिस्थिति उत्पन्न भएको बेला तुरुन्त कारबाही हुनुपर्नेमा यसो नहुँदा देशका लागि प्रजातान्त्रिक पद्धति हानिकारक साबित हुन्छ । अहिले नेपालमा भइरहेको त्यही हो । यसबाहेक अर्को कुरो के हो भने प्रजातान्त्रिक शासन पद्धति खर्चिलो शासन व्यवस्था हो । चुनावमा धेरै रुपियाँ शासनको तर्फबाट र उम्मेदवारको तर्फबाट व्यर्थमा खर्च हुने गर्दछ । सांसदहरूको तलब र सुख सुविधामा पनि देशको धेरै धन व्यय हुने गर्छ । यस धनलाई यदि देशको उत्थानमा खर्च गरियो भने कम समयमैं देश उन्नतिको शिखरमा पुग्न सक्छ ।
    प्रजातान्त्रिक शासन पद्धतिमा कुनै पनि काम छिटो नहुनु, एक प्रकारले प्रजातन्त्रका लागि वरदान पनि हो, किनभने हतारमा प्रायः काम बिग्रने सम्भावना बढी हुन्छ । जुन काम गर्दा विचार–विमर्श गरिन्न, त्यो काम बिग्रने सम्भावना बढी कम हुन्छ । प्रजातान्त्रिक शासन पद्धतिमा जहाँ केही दोष छ, त्यहीं बढी गुण पनि छ । हालसम्म प्रचलित शासन पद्धतिमध्ये यो सर्वश्रेष्ठ शासन पद्धति हो । जहाँ शासनको लगाम एक वा दुई मानिसको हातमा हुन्छ, त्यो शासन व्यवस्था स्वेच्छाचारी हुन्छ । त्यहाँ शोषण र अन्याय बढी हुन्छ । हामीले प्राप्त गरेको प्रजातन्त्र जोगाउन र सुखी समृद्ध नेपालको कल्पना साकार गर्न सबै दल राष्ट्रिय हितमा एकमत हुनु वर्तमानको खाँचो हो । आज विश्वका सबै राजनीतिज्ञ के कुरामा एकमत छन् भने प्रजातान्त्रिक शासन पद्धति विश्वकै सर्वश्रेष्ठ शासन पद्धति हो । यसमा मानिसको व्यक्तित्व विकासमा बढी ध्यान दिइन्छ ।
यसबाट देशमा परस्पर सहयोग र सहानुभूतिको भावनामा वृद्धि हुन्छ । प्रजातन्त्रको सुरक्षाका लागि जनताले आफ्नो अधिकारको दुरुपयोग होइन, सदुपयोग गर्नुपर्छ । यसको साथै जनताले आफ्नो कर्तव्यको पालन पनि इमानदारी साथ गर्नुपर्दछ । प्रत्येक नागरिक युग चेतनाप्रति सजग र सजीव हुनुपर्छ तर वर्तमान सन्दर्भमा प्लेटोको सिद्धान्तमा पनि केही सत्यता रहेको मान्नैपर्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्