पालुङमा हुर्किंदै गरेको थाहा ?

0
52

– शीतल गिरी
    थाहाका प्रणेता रूदाने यानी रूपचन्द्र विष्ट नियमवादी होइनन्, व्यवहारवादी थिए, हुन पनि हो जो नियमवादी बन्न खोज्छ, त्यस्ताको धेरै काम खराब लाग्दछ, र राम्रो काम नगन्य मात्र देखा पर्छ। व्यवहारवादी रूदाने खोजी–खोजी खराबको पछि नलाग्दा तत्कालीन व्यवस्था र तिनका मतियारको लागि उनको कतिपय काम हरेक अवस्थामा खराब लाग्ने गथ्र्यो किनभने उनको व्यवहार– व्यवहारवादी रूदाने पाप र पुण्य कर्मद्वारा पहिचान गर्न मन पराउँथे यानी कुनै पनि कुराको तहमा पुग्न सबैभन्दा पहिले “थाहा” पाउनुपर्छ।  
    रूपचन्द्र विष्ट पढ्नुपर्ने किताब थिए, तर समकालीन समयमा पढिएन–उनका केही जनमुखी काम र व्यवहार केहीले देखे भोगे, आज पालुङ क्षेत्र तरकारी उत्पादनमा अग्रणी छ, हो यहाँको हावा, पानी र माटो रूदानेले थाहा पाएका थिए र तरकारीखेती गर्न लगाएका थिए– एउटा कुरा भन्नै पर्छ त्यो के भने आज रूदाने हुन्थे भने यस क्षेत्रका किसान तरकारीखेतीमा निम्त्याइएको “गाँठे रोग” (जरामा गाँठो देखा पर्ने)बाट पीडित बन्नुपर्ने थिएन, यो रोग असमझदारीको कारणबाट देखा परेको न हो। कहिलेकाहीं झुत्रे, झाम्रे, लुरे, त्यान्द्रे भोकाहरूमाथि पनि क्रोध देखाउँथे–जसरी आमाको क्रोध आफ्ना सन्तानलाई सुमार्गमा लगाउनका लागि देखाएको हुन्छ, कुमार्गमा धकेल्न होइन, हो त्यस्तै थियो उनको क्रोध। त्यसैले त मकवानपुरका योग्य जनताले जनमुखीको व्यवहारको कदर गरेर नै रूदाने इमानदार थिए, सो नगरपालिकाको नाम “थाहा” राखेको छ।
    रूदाने “थाहा” पाउनुपर्छ भन्थे, सूत्रमा बोल्थे–नजीकको तीर्थ हेला, यस कारण आफ्नै नजीकको रूदानेको जीवन अध्ययन गरिएन, सम्मान भएन, छुट्यो र अहिले “महान् दार्शनिक” प्रमाणित गर्न बालुवा निचोरेर तेल निकाल्दै गरेको देखेको छु केहीलाई। चन्द्र धरातलमा पुग्नु यन्त्र विज्ञानको अद्भुत विजय हो, मानव मस्तिष्कको सही परिचालन हो तर नेपालका हामीले बाँच्न सक्ने ससाना आधारभूत कुराहरूसम्म आफ्नो बलबूतामा बनाउन सकेका छैनौं। रूदाने जे थिए त्यो नबुझी, के चाहन्थे, त्यो नखोजी लहडको भरमा दार्शनिक बनाउन खोजियो भने “थाहा” पाउन नचाहेको पनि हुन सक्छ, रूदाने यथार्थ पहिल्याउन अहङ्कारलाई त्याग गर्नुपर्छ, अनिमात्र “थाहा” चिन्न सकिन्छ।  
    यस कारण यथार्थको धरातलमा रहेर बुझ्न सक्नुपर्छ–रूदाने इमानदार थिए, समझदार थिए, नीतिवान् थिए, अन्धकार हटाउन साधनारत थिए, जनताको जीवन सुगम बनाउनुपर्छ, कामचोर अथवा अल्छीतिघ्रे बनाउनुहुँदैन भन्थे। आफैं उदाहरण बनेर देखाउन असुखकर जीवन पद्धति अपनाए– जनमुखी जीवन सुगम र सरल बनाउन। जहाँ राम्रो हुँदैन, त्यहाँ राम्रोको चाहना राख्नु व्यर्थ हो, रूदाने राम्रो होस् भन्ने चाहन्थे र त आज चर्चा चल्दैछ।


    रूदाने आफ्नो स्वभाव अनुकूलको संसार होस् भन्ने चाहना राख्थे–उनलाई थाहा थियो, सजिलै उपलब्ध हुने सरल, सत्य नसोचेको जटिल बन्न पुग्छ। सोझो र सरल कुरा बुझ्नका लागि कुनै ठूलो पण्डितको आवश्यकता पर्दैन।  
    रूदानेको सम्मानको नाममा नगरपालिका “थाहा” राख्दैमा या केही कार्यक्रम गर्दैमा सम्मानयोग्य काम भइरहेको हुँदैन, कतिपय ठाउँमा त सम्मान गरिनुपर्ने व्यक्तिको नाम भजाएर कुपात्रहरूले आफ्नो झोली भरिरहेका छन्। मलाई थाहा छ, पालुङ्गवासीले ढिलै भएपनि रूदानेको सम्मान गरेका छन् र बुझेका छन्– “थाहा”का प्रणेता सामान्य मानिसभन्दा भिन्न होइन र उनको विचार र व्यवहार जनमुखी सेवामा अर्पित गरेको हुँदा सम्मान दिंदैछन्।   
    रूदानेले “थाहा” पाएको प्रमुख कुरा हो परिश्रम, शोषणबाट छुटकारा दिलाउँछ परिश्रमले, परिश्रमीहरू भएमा मात्र नेपाल– नेदरल्यान्ड, जापान, चीन, इजरायल जस्तो बन्न सक्छ, राम्रो कामको थालनी दश/पचास मानिसबाट गरे पनि हुन्छ, कुनै अप्ठ्यारो पर्दैन– यसैले उनी पार्टी निर्माण गर्नतर्फ लागेनन्, आफ्नो जनमुखी व्यवहारले आवश्यक परेको ठाउँमा सेवा गरे।   
    थाहा पाएर गरिएको थोरै परिश्रमले पनि नेपालीहरूको पेट भरिनेछ, भरिएको पेटले राम्रो कुरा सोच्न सक्छ, विदेशीको कमारो बन्नुपर्ने छैन–कति राम्रो सोचाइ, रूपचन्द्र विष्टको। राम्रो सोचे, सोचाइ अनुसार कार्य पनि गरे आज उनका विचार र व्यवहार समय अनुकूल, नेपालको आफ्नोपन भएको हुँदा प्रतिष्ठा पाउँदैछ।  
    जनमुखी सेवामा जुन आत्मीयतारूपी मेवा “थाहा”का प्रणेताले पाएका थिए, त्यो अहिले गन्थनको विषय नबनाएर आज त उनले कोरेको जनमुखीपथमा “थाहा” पाएर साधना गर्दै जाने हो, प्रसन्न बन्ने हो–यसको लागि सबैभन्दा पहिले “थाहा” भने पाउनै पर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्