नदीजन्य पदार्थको अवैध उत्खनन तीव्र

160


प्रस, पंचगावाँ, १७ असोज/
    असोज १ गतेदेखि स्थानीय पालिकाले ठेक्कापट्टाबाट सञ्चालन गर्नुपर्ने नदीजन्य पदार्थको ठेक्का हुन नसक्दा अहिले अवैध उत्खननले तीव्रता पाएको छ।
    असार १ गतेदेखि बन्द गरिएको नदीजन्य पदार्थको उत्खनन असोज १ गतेदेखि सुचारु हुनुपर्नेमा ठेक्का हुन नसक्दा पर्सा जिल्लाका विभिन्न नदीबाट नदीजन्य पदार्थ अवैध उत्खनन भइरहेका छन्। जमुनिया, भलुवाही, गादी, ओरिया, कर्जनिया, सिंघाही, भेडाहा र राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्ष्Fेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा, ढुङ्गाको तस्करी भइरहेको छ। स्थानीय प्रयोगका साथै पालिकाबाहिर र भारतसम्म गिट्टी, बालुवा, ढुङ्गा पठाउने काम भइरहेको छ। तस्करीलाई नरोक्न स्थानीय प्रहरी, प्रशासन लाचार छन्। कतिपय तस्करले सुरक्षाकर्मीहरूलाई प्रभावमा पारेर तस्करी गर्दै आएका छन्।
    जिल्ला समन्वय समिति, पर्साका सभापति नेकमहम्मद अन्सारीले भेडाहा खोलाको टेन्डर भइसकेको र कात्तिक ९ गतेदेखि खोला सञ्चालनमा आउने बताए। उनले जमुनिया, भलुवाहीलगायतका खोलाहरू प्रदेश सरकारबाट रोक्का रहेकाले सञ्चालनमा आउन नसकेको बताए। प्रारम्भिक वातावरणीय प्रतिवेदन प्रदेश २ वन मन्त्रालयबाट स्वीकृत नभएकोले खोल्न नसकेको उनको भनाइ छ। सभापति अन्सारीले विभिन्न खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको स्वीकारे। उनले यसबारेमा अनुगमन गरेर बालुवासहित ट्याक्टर नियन्त्रणमा लिएको दाबी पनि गरे। सभापति अन्सारीले अवैध उत्खनन रोक्न हरसम्भव प्रयास भइरहेको बताए। तर पर्साको ग्रामीण क्षेत्रमा रहेका नदीहरूबाट उत्खनन रोकिएको छैन। एकाबिहानैदेखि अबेर रातिसम्म उत्खनन भइरहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्