टोलमा विद्यार्थीको भीड लगाएर पढाउने होइन, सहजीकरण मात्र गर्नू –प्रजिअ तामाङ

0
526


प्रस, परवानीपुर, असोज १७ /
    पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले केही सरकारी तथा निजी विद्यालय सञ्चालनमा आएको खबरप्रति ध्यानाकर्षण भएकोले गलती नगर्न विद्यालय सञ्चालक तथा प्रशासनलाई चेतावनी दिएका छन्। उनले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालको अवस्थामा विद्यालय खोलेर कक्षा कोठा सञ्चालन गर्न रोक लगाएकोले पर्सा जिल्लामा त्यस्तो नगर्न निर्देशन दिएका छन्। “निजी वा सरकारी विद्यालय केही ठाउँमा खोलेर पठनपाठन भइरहेको वा गर्ने तयारी रहेको खबर प्राप्त भएको छ,” उनले भने, “त्यसरी गर्न पाइँदैन, यदि कुनै विद्यालय खोलेर विद्यार्थी कक्षा कोठामा राखेर पठनपाठन गराइएको पाइयो भने कानून बमोजिम कारबाही हुन्छ। वीरगंज महानगरका केही विद्यालयले कक्षा कोठा तथा टोलटोलमा शिक्षक पठाएर पठनपाठन गराइरहेको सामाजिक सञ्जालमा फोटो छ्याप्छ्याप्ती देखिएपछि प्रजिअ तामाङले यस्तो निर्देशन दिएका हुन्।
    पर्साको जीराभवानी गाउँपालिकाको सेढवा बजार आसपासमा पनि टोलमा गएर शिक्षकशिक्षिका पढाइरहेको देखिएको छ। ठोरीमा पनि चाँडै कक्षा कोठामा विद्यार्थी राखेर पठनपाठन गर्ने गाउँपालिकाको तयारी छ।
    यहाँसम्मकी टोलमा गएर भीडभाड गरेर विद्यार्थीलाई समूहमा ट्यूशन पठाए जस्तो पनि नपढाउन प्रजिअ तामाङले आग्रह गरे। त्यसरी एउटै ठाउँमा १०–१५ जना राखेर पठनपाठन गराइयो भने कोरोना सङ्क्रमण फैलिने जोखिम छ। विद्यार्थी, शिक्षक, अभिभावक सबै यसको चपेटामा पर्न सक्छन्। यस विषयमा शिक्षा विकास समन्वय एकाइ कार्यालय पर्साले विद्यालय बन्द रहेको अवस्थामा असोज १ गतेदेखि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यार्थीको ध्यान पठनपाठनतर्फ आकृष्ट गर्न विद्यालय बन्द गरेर टोलमा गएर बालबालिकालाई सहजीकरण गर्ने वा विद्युतीय माध्यमको सहाराले पठनपाठनमा सहजीकरण मात्र गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भनेको छ। तर त्यही निर्देशनको हवाला दिंदै कतिपय शैक्षिक संस्थाले मोबाइल, टिभी, रेडियोको माध्यमले पठनपाठन गराउन तत्परता देखाएका छन्। तर सबै विद्यार्थीको पहुँचमा मोबाइल, ल्यापटप, टिभी, रेडियो, इन्टरनेट नभएको कारण पनि पठनपाठन कक्षाकोठा जस्तो वैधानिक, विश्वसनीय भइरहेको छैन। शिक्षा विकास समन्वय एकाइ कार्यालय पर्साका एक अधिकारीले भने– विद्यार्थीको पुस्तक र पढाइसँग सम्बन्ध बनाउन टाढैबाट सहजीकरण गर्न मात्र भनिएको छ। यस विषयमा नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादवले सरकारले विद्यालय खोल्न र टोलमा पढाउनमा रोक लगाएको छ। यस विषयमा स्थानीय सरकार र अभिभावक अगुवासँग समन्वय गरी प्रशासनबाट आएको निर्देशनलाई पालना गराउन समस्या पनि भइरहेको बताए। “एउटा प्रावि विद्यालयमा ५ सय विद्यार्थी छन्, १० जना शिक्षकले सबै विद्यार्थीलाई टोलमा गएर अलग–अलग राखेर कसरी पढाउँछन्,” उनले प्रश्न सोध्दै भने, “यो विधिबाट पनि सबै विद्यार्थीलाई समेटन सकिंदैन, कुनै कुनै टोलमा ठाउँको अभाव पनि छ, शिक्षकलाई टोलमा गएर पढाउनमा जोखिम पनि छ।”

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्