बिहान १०ः१९ बजे दशैंको टीकाको उत्तम साइत

118

काठमाडौं, १५ असोज/रासस
    नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैंका विभिन्न साइत सार्वजनिक गरेको छ। विसं २०७७ कात्तिक १ गते शनिवारदेखि नेपालीको महान् चाड बडादशैं शुरू हुँदैछ।
    दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन्। घटस्थापनाको साइत कात्तिक १ गते शनिवार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए।
    यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ। नवरात्र शुरू हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ।
    घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवी भागवत, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ। देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भएपनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ।
    कात्तिक २ गते आइतवार बिहान १०ः५३ बजे पश्चिम फर्केर झन्डा फेर्ने साइत दिइएको छ। विशेषगरी नेपाली सेनाले झन्डा फेर्ने गरेको जनाइएको छ। कात्तिक ७ गते शुक्रवार फूलपाती छ। फूलपाती भित्र्याउन साइत आवश्यक पर्दैन। विशेषगरी बेलुकी नवदुर्गा स्थापना गरी घटस्थापना गरिएको पूजा कोठा अथवा दशैं घरमा फूलपाती भित्र्याइन्छ।
    कात्तिक ८ गते शनिवार महाअष्टमी पर्व मनाइन्छ। यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन्। बेलुकी कालरात्रि मनाइन्छ। कात्तिक ९ गते आइतवार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ। यस दिन वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ।
    दशैंको मुख्य दिन कात्तिक १० गते सोमवार विजयादशमी पर्व परेको छ। यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष गौतमले सुनाए। विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ।
    “आर्यावर्त क्षेत्रका राज्य सञ्चालकले अनिवार्यरूपमा शुभ साइतमा देवीको प्रसाद लगाउनुपर्ने शास्त्रीय वचन छ, आर्यावर्त क्षेत्रमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भूटान, बर्मालगायत देश पर्छन्। यी देशका शासकले देवीको आशीर्वाद लिएर राज्य सञ्चालन गरे शान्ति र सुशासन दिन सक्ने शास्त्रीय मान्यता छ,” उनले भने।
    चान्द्रमास अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण कात्तिक १ गतेदेखि शुरू हुँदैछ। मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुन्छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्