पाँचजना ज्येष्ठ नागरिक सम्मानित, ज्येष्ठ नागरिकलाई सहयोग गर्ने नगरप्रमुखको प्रतिबद्धता

106


प्रस, वीरगंज, १५ असोज/
    अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस वीरगंजमा मनाइएको छ। वीरगंज महानगरपालिकाको आयोजना तथा ज्येष्ठ नागरिक सङ्घ, पर्साको सहकार्यमा नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्षमा दिवस मनाइएको थियो।
    दिवसको अवसरमा नगरप्रमुख विजयकुमार सरावगी र उपप्रमुख शान्ति कार्कीले तीनजना महिला र दुईजना पुरुष गरी पाँचजना ज्येष्ठ नागरिकलाई प्रमाणपत्र, दोसल्ला, छाता र नगदबाट सम्मानित गरे। विष्णुकुमारी कँडेल, पद्माकुमारी शर्मा, तेतरी कनुइन, गोपाल साह कानू, इस्माइल मियाँ धोबी सम्मानित भएका हुन्।
    ज्येष्ठ नागरिकहरूलाई छाताको व्यवस्थापन रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले गरेको थियो।
    सो अवसरमा नगरप्रमुख सरावगीले ज्येष्ठ नागरिकका लागि महानगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले ज्येष्ठ नागरिकहरूको हकमा महानगरपालिकाले थुप्रै काम गर्दै आएको र गर्ने आश्वासन पनि दिए।
    नगरप्रमुख सरावगीले ज्येष्ठ नागरिकहरूको लागि जग्गा उपलब्ध गराउने काम अन्तिम चरणमा रहेको बताए। उनले कोरोनाको समयमा ज्येष्ठ नागरिकहरूलाई झन् बढी ख्याल गर्नुपर्ने सुझाव दिए। यसैगरी, ज्येष्ठ नागरिकहरूलाई कोरोनाबाट जोगिनको लागि बाहिर नघुम्न र घरमैं सुरक्षित बस्न सुझाव दिए।
    फरक प्रसङ्गमा नगरप्रमुख सरावगीले आफू महानगरमा पैसा कमाउन, व्यापार गर्नका लागि नआएको प्रस्ट्याए। उनले महानगरको विकासको लागि आफू आएको र त्यसैमा लागेको दाबी गरे। भ्रष्टाचारको कुरा फैलाएर बदनाम गराउनेहरू सक्रिय रहेको भन्दै उनले तथ्यपरकरूपमा भ्रष्टाचार उजागर भएको खण्डमा दोषीलाई कारबाई गर्ने प्रतिबद्धता जाहेर गरे। उनले महानगरका कर्मचारीहरूको सहकार्यमा विकास निर्माण कार्य भइरहेको बताए।
    कार्यक्रममा मनोचिकित्सक डा भरत गोइतले ज्येष्ठ नागरिकहरूलाई बढी ख्याल गर्नुपर्ने बताए। बढ्दो उमेरका ज्येष्ठ नागरिकहरू घरपरिवारलाई लिएर बढी चिन्तित हुने गरेको र उनीहरूको शारीरिक शक्ति पनि कमजोर हुने हुनाले कोरोनाको कहरमा विशेष ध्यान दिनुपर्ने बताए। ज्येष्ठ नागरिकहरूको हकमा घरपरिवारले बढी ख्याल गर्नुपर्ने उनले सुझाव दिए।
    डा नीरज सिंहले कोरोना सङ्क्रमणको बेला विश्वमा देखिएभन्दा नेपालमा फरक परिणाम देखिएको बताए। उनले अन्यत्र बढी उमेरका मानिसहरू सङ्क्रमित भएर मृत्युवरण गर्ने गरेकोमा नेपालमा विपरीत अवस्था देखिएको बताए। चालीसदेखि पचास वर्ष उमेरका सङ्क्रमितहरूको मृत्युदर बढी रहेको उनको भनाइ थियो। डा सिंहले तथ्याङ्क जेजस्तो भएपनि ज्येष्ठ नागरिकहरूलाई स्वस्थ रहनको लागि घरपरिवारले विशेष ध्यान दिनुपर्ने बताए।
    ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज कलेजका प्रिन्सिपल विनोद गुप्ताले ज्येष्ठ नागरिकबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
    गुप्ताले कार्यपत्र प्रस्तुत गर्दै बदलिंदो परिवेशमा नेपालीको औसत आयु ७५–७७ वर्ष पुग्ने अनुमान गरिएकोले आगामी दिनमा युवा पुस्ता र ज्येष्ठ नागरिकबीचको जीवनशैलीमा परिवर्तन हुन सक्ने बताए। यसको व्यवस्थापनको लागि सरकारले सामाजिक कानून निर्माण गरी सुरक्षित जीवन प्रदान गर्नुपर्ने बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्