सूर्य नेपाल प्रालिद्वारा नपालाई एम्बुलेन्स हस्तान्तरण

111

दमौली, १४ असोज/रासस
    बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ। बाराको सिमरामा मुख्य कारखाना रहेको प्रालिको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले मङ्गलवार नगरप्रमुख किसान गुरुङलाई महिन्द्रा कम्पनीको एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्।
    भन्सार छुटमा ल्याइएको एम्बुलेन्सलाई रु १० लाख ५० हजार परेको कार्कीले जानकारी दिए। सामाजिक उत्तरदायित्व बहन गर्दै यस क्षेत्रका ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन नगरपालिकालाई एम्बुलेन्स सहयोग गरिएको कार्कीले बताए।
    नगर क्षेत्रभित्र समयमैं अस्पताल पु–याउनुपर्ने बिरामीलाई एम्बुलेन्स अति उपयोगी हुने नगरप्रमुख गुरुङले बताए। हाल नगरपालिकाले खैरेनीटार स्वास्थ्यचौकीमा सञ्चालनमा ल्याउन लागेको पाँच शय्याको अस्थायी कोभिड अस्पतालमा उक्त एम्बुलेन्स प्रयोग गरिने गुरुङले जानकारी दिए।
    शुक्लागण्डकी नगरपालिकाले खडा गरेको कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा गत जेठ महीनामा सूर्य नेपालले रु १० लाख सहयोग गरेको थियो। सूर्य नेपालले विसं २०४३ देखि सिमरामा चुरोट उत्पादन गर्दै आएको छ। तराईमा असुरक्षा महसूस गर्दै कम्पनीले विगत ६ वर्षअगाडि तनहुँको शुक्लागण्डकी नगरपालिकामा उद्योग स्थापना गरेको थियो।
    १४५ रोपनी क्षेत्रफलमा फैलिएको तनहुँ प्लान्टबाट वार्षिक ६ अर्ब खिल्ली चुरोट उत्पादन गर्ने लक्ष्य लिइएको छ। सूर्य नेपालमा भारतीय कम्पनी आइटिसीको ५९ प्रतिशत लगानी छ। प्रभाकर शम्शेर राणाको सूर्य इन्टरप्राइजेजसँगै अन्य १० वटा समूहको ३९ प्रतिशत हिस्सा छ भने दुर्ई प्रतिशत ब्रिटिश–अमेरिकन टोबाकोको शेयर छ। कम्पनीले सूर्य, शिखर, बिजुलीलगायतका चुरोट उत्पादन गर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्