वर्षा र किसानको पीडा

0
45

– सञ्जय साह मित्र
    नेपालको वर्तमान कृषि प्रणाली आकाशे पानीमाथि निर्भर छ। नेपालले मध्य असारमा धान दिवस मनाउँछ तर नहरमा पानी भने साउनदेखि आउँछ। यसको अर्थ भरपर्दो सिंचाइ प्रणाली नै छैन। अन्तिम समयमा काम गर्ने प्रवृत्तिले गर्दा रोपाइँको समयमा नहरमा पानी हुँदैन तर वर्षा भयो भने समयमैं रोपाइँ गर्न सजिलो हुन्छ। यस वर्ष करीब देशभरका किसानले समयमा धान रोप्न पाए। लकडाउनको अवस्था रहेको, बीउ र मल समयमा नपाए पनि समय–समयमा पानी परेको र खेतीहर मजदूर पनि पर्याप्त पाइएकाले समयमैं धान खेती शुरू र सम्पन्न पनि भयो। रोपाइँको समयमा मलबाहेक किसानको धानखेती सुखद रह्यो।
    धानखेतीको सुरुआतदेखि नै किसान सन्तुष्ट थिए। सबै कुरा यथावत् रहे यसपटक धानको उब्जनी राम्रो हुने विश्वास किसानमा थियो। किसानले खेतमा पानी खोजेको समयमा पानी परिदिन्थ्यो। एकपटक अलि ठूलो बाढी आयो र केही धानखेतमा असर पा–यो। गैरी खेतमा लगाइएको बालीलाई त त्यति बेला गम्भीर असर नै पु–यायो। त्यसपछि खासै ठूलो पानी आएन। खडेरी पनि परेन। यसपालि धानखेतीमा किसानले बोरिड्ढो पानी प्रयोग गर्नु परेन। वर्षाको पानीले साथ दिइरह्यो। असोजको पहिलो हप्तासम्म वर्षाले किसानलाई सन्तुष्ट पार्दै रह्यो तर गत हप्ताको वर्षाले कतिपय किसानलाई भने निकै ठूलो क्षति पु–याएको देखिएको छ।


    सबैभन्दा ठूलो क्षति तरकारी खेतीलाई पुगेको छ। पूर्वदेखि पश्चिमसम्म तराईका जिल्लाहरूमा तरकारीखेतीलाई गम्भीर क्षति पु–याएको छ, वर्षाले। तरकारी खेतमा पानी जमेर आलु, मूला, काउली, रायो, भन्टा, खुर्सानीजस्ता तरकारी बाली गलेको पाइयो। साग र सागको बेर्ना सखाप भयो। दशैं र तिहारमा उत्पादन हुनुपर्ने तरकारीखेती सखाप भएको छ। धानबाली नलगाई अलिक पानी नजम्ने खेतमा चाडपर्वको समयमा  महँगोमा बिक्री गर्न लगाइएको तरकारीखेतीको लागत पनि बढी नै हुन्छ। बढी लागतबाट चाडपर्व लक्षित व्यावसायिक तरकारीखेती करीब सखाप भइदिंदा तरकारी किसानलाई कहिल्यै नभएको क्षति पुगेको देखिएको छ।
    तरकारीमा मात्र नभएर धानखेतीमा पनि ठूलो क्षति पुगेको छ। मुख्यगरी भदैया धानलाई वर्षाले ठूलो क्षति पु–याएको हो। भदैया धान प्रायः असोजको दोस्रोदेखि चौथो हप्ताभित्र काटेर लगत्तै तरकारी वा अन्य खेती गर्न सजिलो हुन्छ। धान पनि छिटो हुने र अन्य बाली पनि लगाउन पाउने हुनाले अधिकांश परिश्रमी किसानले सामथ्र्यले भ्याएजति खेतमा भदैया धानखेती गर्दै आएका छन्। धान पाक्ने वा पाकिसकेर काट्ने बेलामा बताससँगै आएको करीब पाँच दिने झरीले धानलाई खेतमैं सुताइदिएको र पानीमा धानको बाला परेपछि धेरै किसानको खेतमैं भदैया धानको बाला उम्रेर खेती नै बर्बाद भएको पाइएको छ। वास्तवमा किसानलाई अपूरणीय क्षति पुगेको देखिएको छ। पछिल्लो वर्षाले कात्तिके र मङ्सिरे धानलाई केही फाइदा पुगेको छ।
    यस वर्ष शुरूदेखि नै पानी पर्न छोडेको छैन। प्रायः हरेक महीनामा पानी परेको छ। निरन्तरको पानीले यस वर्षको उखुखेतीलाई पनि प्रभावित तुल्याएको छ। उखुखेतीको लागि यस वर्षको जस्तो पानी आवश्यक पर्दैन। सामान्य वर्षा भए पुग्छ। बेलाबेलामा किसानले बोरिङले सिंचाइ गरेर राम्रो उखु उत्पादन गर्न सक्छन् तर यस वर्ष निरन्तर पानी परिरह्यो। यसले गर्दा उखुको जरामा निरन्तर पानी जमिरह्यो। उखु मोटाउन पाएन, उखुको नयाँ झार पलाउने अवसर कम भयो। अझ केही होचो र पानी जम्ने खेतमा लगाइएको उखुखेती त झन् कमजोर हुन पुग्यो। गत वर्षको तुलनामा निकै कमजोर भएको उखुखेतीले उत्पादनमा पर्याप्त –हास ल्याउने सम्भावना देखाइरहेको छ। उखु किसान यस वर्ष उखुखेतीबाट त्यति उत्साहित देखिएका छैनन्।
    व्यावसायिक तथा निजी तरकारीखेतीदेखि उखुखेतीसम्म र भदैया धानखेतीमा वर्षाले प्रभाव पारेको देखिए पनि समग्रमा धानखेतीबाट भने किसान सन्तुष्ट छन्। वर्षाले धानखेतीमा मल नपुगेको क्ष्Fति पूर्ति गरिदिएको छ। मल त किसानहरूले दोब्बरदेखि तेब्बर मूल्य तिरेर लुकीछिपी खेतमा छर्न भ्याएका थिए। रोपाइँकै समयमा हाल्नुपर्ने मल केही ढिलो हालेका थिए। वास्तवमा यस वर्षको मौसम धानखेतीको लागि प्रारम्भदेखि नै अनुकूल भएकोले वा समय–समयमा पानी परेर धानखेतमा पानी सुक्न नदिएकोले धानको अनुहार सधैं हरियो रहिरह्यो। निरन्तरको वर्षाले गर्दा धानखेतीमा यस वर्ष अन्य वर्षको तुलनामा खासै रोग लागेको देखिएको छैन। अन्य वर्षको तुलनामा कीटनाशक औषधि, मल तथा पानीमा खर्च पनि ज्यादै न्यून भएको छ। कम लागतमा यस वर्ष धानको उत्पादन बढ्ने आशामा रहेका किसानहरूले सबै पीडा बिर्सेर धानको हरियो बालाले आफ्नो मनमा खुशी भरिरहेका छन्।
    फस्टाएको धान देखेर खुशी भइरहँदा किसानको मनमा एउटा नजानिंदो डर पनि भित्रिइरहेको छ। केही गरी सबै कुरो अनुकूल रह्यो र पूर्वानुमानझैं धानको उब्जनी राम्रो भयो भने धानले मूल्य पाउँदैन। पहिलेका वर्षहरूमा किसानले यो पीडा भोगिसकेका छन्। त्यही चिन्ता र पीडाको निरन्तरता हुने डरले अहिलेदेखि नै किसानलाई सताउन थालेको छ। कोरोनाको कठिन समयमा देशलाई राम्रो उत्पादन दिने तर्खरमा रहेका धान किसानलाई आफ्नो उत्पादनको मूल्य नपाउने हो कि भन्ने डर पनि लाग्न थालेको छ। यस वर्ष बाहिर जाने काम पनि नहुने र नगद आर्जनको अन्य उपाय नरहेको बेला धानले मूल्य नपाउला भन्ने चिन्ता यस अर्थमा पनि लाग्न थालेको छ कि यदि धानले उचित मूल्य पाउँदैन
भने अरू काम चलाउन निकै मुश्किल हुन्छ।
    अलिकति खेती भएको र मौका पाउनासाथ गाउँ छाडेर पञ्जाब, हरियाणा तथा बुटवल र चितवनसम्म पुगेर नगद कमाउने गरेका खेतीहर मजदूरहरूले यस वर्ष बाहिर गएर रोजगार पाउने अवसर गुमाएका छन्। अर्थात् साधारण किसानको हातमा नगद छैन। नगद नभए पनि नगद पैसाले गर्नुपर्ने काम उनीहरूका अगाडि अवश्य छ। र अबको दिनमा जब धान भित्रिन्छ, गरीब किसानले आफ्नो तत्कालीन आवश्यकता धान्न उत्ति नै बेला धान बेच्नुपर्ने हुन्छ। धान बेच्दा उचित मूल्य पाएनन् भने थप पीडा हुन्छ। धेरै धान बेच्नुपर्छ। कुनै वैकल्पिक रोजगार पाइएला वा नपाइएला तर खेतमा अलिकति धान राम्ररी फलेको देखेर खुशी भएका साधारण किसानले गर्जो टार्न सामान्यभन्दा बढी धान बेच्नुपर्दा निश्चय नै दुःखी हुनु स्वाभाविक हो। यस प्रकारको चिन्ता किसानमा अहिले नै देखिएको छ। सरकारले धानको समर्थन मूल्य नतोकेको होइन, तर आवश्यक पर्दा जब कतै लगेर बेच्न खोजिन्छ, किन्नेको ‘समर्थन मूल्य’ले काम गर्न थाल्छ। यसमा सरकार नै सबै हिसाबले दोषी हो भन्ने होइन। किन्नेले पनि इमानदार भइदिनुपर्ने, समाज पनि सजग भइदिने र किसानले पनि आफ्नो समस्या सजिलै सुनाउन पाउने अवस्था भयो भने किसानको समस्या सही किसिमले समाधान हुन पाउँछ।
    धानको हरेक दानामा किसानको श्रम परेको हुन्छ। धान किसानले कुनै किसिमको सहुलियत पाउने गरेको छैन। यस वर्ष त झन् लकडाउनको समयमा खेती भएको छ। सरकारले किसानलाई मल पनि उपलब्ध गराउन नसकेको यथार्थ सबैले सामु छर्लङ्ग छ। निकै कष्ट गरेर घाम र पानी सहेर किसानले उब्जाएको धानको उचित मूल्य पाउने वातावरण बन्यो भने किसान खुशी हुन्छ। किसान खुशी भए देश अन्नमा आत्मनिर्भर बन्ने बाटोमा अग्रसर हुन सजिलो हुन्छ। किसानको पीडा र समस्यालाई धान उत्पादनपछि सरकार र सम्बन्धित पक्ष तथा निकायले बुझ्नु आवश्यक भइसकेको छ। किसानका पीडाहरूको समयमैं सम्बन्धित निकायहरूबाट सम्बोधन होओस्। ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना किसानको खुशीसित पनि जोडिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्