मापदण्ड भित्र रहेर खोलामा जान अनुमति

0
57

प्रस, निजगढ, १४ असोज/
    निजगढ लालबकैया खोलामा आश्रित परिवारलाई निर्धारित मापदण्डभित्र रही खोलामा जान अनुमति पाएको छ।
    वर्षाको समय सकेर पनि नदीजन्य पदार्थ उत्खनन गर्न रोक लागिरहँदा खोलामा आश्रित परिवारलाई बिहान र बेलुकी छाक टार्न समस्या भएको भन्दै सडक अवरुद्ध आन्दोलन शुरू भएको थियो।
    निजगढ नगरपालिकाले मङ्गलवार बोलाएको स्थानीय श्रमिक, मजदूर, ट्याक्टर ढुवानी व्यवसायी, क्रसर उद्योगी, ठेकदारसहितको छलफलमा तत्कालका लागि सो समस्या समाधान भएको निजगढ नगरपालिकाले जनाएको छ। आइइई रिपोर्टमा उल्लेख भएको मापदण्ड अनुसार नगरपालिकाले तोकेको क्षेत्रबाट स्थानीय मजदूरहरूद्वारा हाते औजार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन, सङ्कलन गर्न पाउने सहमति भएको हो। यसरी सङ्कलन गरिएका नदीजन्य पदार्थ नगरपालिकामा कर तिरी स्थानीय ट्याक्टर प्रयोग गरेर खरीद तथा ढुवानी पैठारी गर्न दिन सहमति भएको छ।
    सो सहमतिलाई निजगढ कार्यपालिकाको बैठकबाट अनुमोदन भएपछि तोकिएको क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन गर्न दिइने निर्णय भएको जनाइएको छ। कानूनी अड्चनलाई समेत मध्यनजर गर्दै सर्वपक्षीय सरोकारवालासँग छलफल गरी तत्कालीन समस्याको निकास निकाल्दै सहमतिमा पुगिएको निजगढका प्रमुख सुरेशकुमार खनालले बताए।
    राजस्व चुहावटलाई नियन्त्रण गरी समुन्नत निजगढको विकासको गतिलाई क्रियाशील बनाउन, खोलामा आश्रित श्रमिक मजदूरहरूको रोजीरFेटी, ट्याक्टर ढुवानी व्यवसायी, उद्योगीलगायत सर्वपक्षीय हितमा तत्कालीन समस्या निराकरण गर्ने गरी सहमति भएको नगर उपप्रमुख लीलादेवी लामिछानेले बताइन्।
    खोलामा उत्खनन रोक्का राख्दा आफूहरूको रोजीरोटी गुमेको भन्दै बकैया खोलामा आश्रित दुई सयभन्दा बढी श्रमिक मजदूरले समस्या समाधानका लागि निजगढ नगरपालिकालाई आग्रह गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्