बजारमा भीडभाड बढेपछि प्रहरीद्वारा कडाइ

0
79

प्रस, वीरगंज, १४ असोज/
    वीरगंज महानगरपालिकामा साउन १० गतेदेखि निषेधाज्ञा जारी छ। सो निषेधाज्ञा असोज १५ गतेसम्म बढाइएको छ। गत भदौ १९ गतेदेखि पसल, व्यवसाय सञ्चालन क्रमिकरूपमा खुकुलो पारिएको छ।
    अहिले बिहान ११ देखि अपराह्न ४ बजेसम्म पसल, व्यवसाय सञ्चालनको समय लागि तोकिएको छ। सैलुन, ब्युटिपार्लर, सिनेमाघर, विद्यालय, मठमन्दिर, मस्जिद आदि अहिलेसम्म खुला गरिएको छैन। तरकारी बजार घण्टाघरदेखि पूर्व रेलवे सडकमा तोकिएको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको आदेशमा वीरगंजमा निषेधाज्ञा लागेको हो। तर निषेधाज्ञा लागेको अवधिमा अहिले बिस्तारै सिनेमाघरबाहेक सबैथोक खुल्ने क्रम जारी छ।
    आधिकारिकरूपमा विद्यालय सञ्चालनमा नआए पनि केही सामुदायिक विद्यालयले टोल शिक्षाको नाममा विद्यालयमा कक्षाकोठाभित्र अध्ययन गराउँदै आएको शिक्षकहरूले बताएका छन्। यसैगरी, सैलुन, ब्युटिपार्लर, मठमन्दिर, मस्जिद पनि अघोषितरूपमा सञ्चालनमा छन्। पछिल्लो समयमा वीरगंजमा सबैखाले पसल, व्यवसाय सञ्चालनमा आएर भीडभाड बढेपछि प्रहरीले साँझ ५ बजेपछि बन्द गराउन थालेको छ। मङ्गलवार प्रहरीले वीरगंज महानगरका सबैजसो वडामा प्रहरी परिचालन गरेर साँझ ५ बजेपछि पसल सञ्चालन गर्नेलाई कारबाई गर्ने चेतावनी दिएको छ।
    तोकिएको समयभन्दा एक घण्टा बढीसम्म पसल, व्यवसाय सञ्चालन गर्दै आएकाहरूले आफूखुशी शहरको मुख्य सडकमा अबेरसम्म पसल सञ्चालन गरेपछि प्रहरीले कडाइ गरेको हो।
    यसैगरी, तोकिएको स्थानभन्दा अन्यत्र पनि तरकारी बजार लाग्न शुरू भएको छ। मीनाबजार, मुर्ली, जेलरोड, नगवा, रानीघाट आदिमा भीडभाड गरेको,  मास्क नलगाएको, शारीरिक दूरी कायम नगरेको हुनाले प्रहरीले कडाइ गरेको हो।  

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्