छोडौं पिसिआरको पिरलो

0
38

     विश्वव्यापी कोरोना महामारी चलिरहेको वर्तमान अवस्थामा  कसो गर्दा सङ्क्रमणबाट बच्न सकिन्छ भन्ने चिन्ता सर्वत्र छ। यसरी सङ्क्रमणबाट बच्ने प्रयासमा मानिसले अनेक हैरानी र झन्झट बेहोरिरहेका छन्। यसरी सावधानी अपनाउने क्रममा जसले जे भन्यो त्यही सही होला भनेर अन्ध अनुसरण गर्ने क्रम पनि चलेको छ। व्यक्ति वा संस्थाको कुरा होइन, कोरोना नियन्त्रण गर्ने उपायका बारेमा विकसित मुलुकका सरकार तथा सरकार प्रमुखहरू नै द्विविधामा छन्। वास्तविकता नबुझी आधी उपाय अनुसरण गर्दा सङ्क्रमण नियन्त्रण हुने होइन, झन् थपिएका घटनाहरू प्रशस्तै छन्। कोरोना सङ्क्रमितको सङ्ख्या घट्ला भन्दा बढ्नुले पनि हामीले अवलम्बन गरिरहेका सङ्क्रमण नियन्त्रणका उपायहरू सही साबित भइरहेका छैनन् भन्ने ठोकुवा गर्न सकिन्छ। यसर्थ ‘हामीले कहाँ कमीकमजोरी गरिहेका छौं, समीक्षा जरुरी छ।
    शुरूमा क्वारेन्टाइनलाई प्राथमिकता दिइयो, भारतलगायत विदेशबाट आउनेहरूलाई १४ दिन क्वारेन्टाइनमा राखियो। गाउँटोलमा सार्वजनिक क्वारेन्टाइन निर्माण गरियो। विभिन्न स्थानबाट आएकाहरूलाई एउटै क्वारेन्टाइनमा राखियो। त्यति मात्रै होइन। फरक–फरक मितिमा आएकाहरूलाई पनि एउटै क्वारेन्टाइनमा राखियो। एउटा टोली क्वारेन्टाइनबाट बिदा हुन लाग्दा अर्को टोली चाहिं भर्खर आइपुगेका हुन्थे। अन्ततः सार्वजनिक क्वारेन्टाइन सङ्क्रमण नियन्त्रण केन्द्रभन्दा पनि रोग प्रसारण केन्द्रको रूपमा परिणत भयो। पर्सा जिल्लाकै एउटा क्वारेन्टाइनमा एकजना सङ्क्रमितबाट १४ जनासम्म फैलिएको अनुमान छ। सार्वजनिक क्वारेन्टाइनमा राख्दा शौचालय, धारा सुरक्षित हुन सकेन, सामाजिक दूरी अपनाइएन। अर्कोतर्फ ‘क्वारेन्टाइनमा बस्नु नै कोरोनाविरुद्धको औषधि हो’ भन्ठानेर  सर्वसाधारण ढुक्क भए। यसले सङ्क्रमणलाई बल पुग्यो। पछिल्लोपटक होम क्वारेन्टाइन भरपर्दो देखिएको छ। यसैबीच मास्कबाट सङ्क्रमण फैलिएको आशङ्का भएपछि सर्भे गरियो। करीब ८ प्रतिशतले मात्रै मास्क सही किसिमले लगाएको अध्ययन प्रतिवेदनले देखाएको छ। चिउँडोमा मास्क लगाएर ढुक्क भई भीडभाडमा जाने, एउटै मास्क धेरै दिन लगाउने, गुणस्तर नभएको मास्क लगाउने र नधोएको हातले पटक–पटक मास्क छुने गर्नाले कोरोना सङ्क्रमण फैलिएको देखियो।
    अहिले पिसिआर परीक्षणले हामीलाई झुक्याउँदै छ र यसले पनि सङ्क्रमण वृद्धि गर्ने निश्चित छ। पिसिआर परीक्षण रिपोर्ट हातमा भएपछि सरकारले समेत विश्वास गर्छ। त्यसैले ठूला शहरका घरभेटीहरूले बहालवालालाई पिसिआर रिपोर्ट भए मात्रै प्रवेश गर्न दिइरहेका छन्। पिसिआर रिपोर्ट भनेको स्वाब दिने बेलासम्मको मात्रै परीक्षण हो। स्वाब दिएलगत्तै वा लामो यात्रा गरी डेरासम्म पुग्दा उसलाई कोरोना सङ्क्रमण भइसकेको पनि हुन सक्छ। तर हातमा पिसिआर रिपोर्ट देखेपछि सबै विश्वास गर्ने र लसपस हुने अर्थात् भौतिक दूरी साथै स्वास्थ्य मापदण्ड ख्याल नगर्ने भयो। अब त नक्कली पिसिआर रिपोर्ट बनाएर पनि काम चलाउन थालेको कुरा प्रकाशमा आइसकेको छ। यसर्थ पिसिआरमा भर पर्दा सङ्क्रमण रोकिनेभन्दा पनि बढ्ने भएकोले पिसिआरलाई प्राथमिकता दिने कार्य सरकारीस्तरबाटै बन्द गरिनुपर्छ। लक्षण देखिएको अवस्थाबाहेक होम क्वारेन्टाइन, भौतिक दूरी र स्वास्थ्य मापदण्ड अपनाउनु नै सबैभन्दा उत्तम उपाय हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्