बाँदरका लागि वनमैं फलफूल रोपण

0
89

महोत्तरी, १३ असोज/रासस
    बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमैं सघन फलफूल रोपण शुरू गरेको छ। जिल्लाको बर्दिवास नगरपालिका–१ को चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले बाँदरलाई वनमैं रमाउने बनाउन आफ्नो वन क्षेत्रमा सघन फलफूल रोपण शुरू गरेको हो।
    यस अभियान अन्तर्गत यसपालि वर्षामा एक हजार ५०० फलफूलका बिरुवा रोपिएको समितिका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए। “वनमा खानेकुरा नभएपछि बाँदर बस्ती पस्ने हुन्,” अध्यक्ष न्यौपानेले भने, “हामीले बाँदरका मन पर्ने फल वनमा भेटिऊन् भनेर यसपालिदेखि सघन फलफूल रोपण शुरू गरेका हौं।” यस क्रममा यसपालि गएको वर्षामा अम्बा, अमला, जामुन, फडिर र महुवा गरी एक हजार ५०० बिरुवा रोपिएको न्यौपानेको भनाइ छ।
    अबको दुई वर्षपछि वनमैं फल लटरम्म फल्न थालेपछि बाँदर, अन्य शाकाहारी वन्यजन्तु र चराचुरुङ्गी वनमैं रमाउने समितिको ठम्याइ छ। नयाँ फलफूल र अन्य वनस्पति रोपिएसँगै वन क्षेत्र घना हुँदै जाने र वन्यजन्तु त्यहीं रमाउने अध्यक्ष न्यौपाने बताउँछन्।
    बर्दिवास–१ को अति व्यस्त बर्दिवास चोकबाट ५०० मिटर मात्र उत्तरमा पर्ने यो वन क्षेत्र ४४ हेक्टरमा फैलिएको छ। यसपालि वर्षामा लगाइएका फलका बिरुवा र गल्छी पहिरो रोकथामका लागि रोपिएका ७५० झ्याङ बाँस सबै सरेर हलक्क बढेको न्यौपाने बताउँछन्। वन क्षेत्र हराभरा भएपछि मुख्य चोकको सौन्दर्य अङ्ग बढेको बर्दिवासवासी बताउँछन्।
    समितिले वन सुरक्षाका लागि एकजना वन हेरालु नै नियुक्त गरेको छ। जिल्लाका अन्य भेगका वन क्षेत्र जताततै अतिक्रमणको चपेटामा परे पनि आफ्नो वन भने सुरक्षित रहेको न्यौपानेको जिकीर छ। “हामीले वनलाई मानव प्रवेश निषेध बनाएका छौं,” न्यौपाने भन्छन्, “प्रत्येक वर्ष हिउँदमा बाँस भने उपभोक्तालाई उपलब्ध गराउँछौं।” बाँसको झ्याङ निकै बढेपछि नयाँ तामा नफस्टाउने र अन्य वनस्पति पनि बाँसको छायामा नबढ्ने भएको हुँदा बर्सेनि केही बाँस छासेर उपभोक्तालाई दिने गरिएको समितिले स्पष्ट पारेको छ।
    सुरक्षा प्रबन्ध राम्रो भएपछि वन क्षेत्र सघन र मनोरम बन्दै गएको नगरवासी बताउँछन्। एक दशकअघि नाङ्गो डाँडा भनेर चिनिने यो वन क्षेत्रमा अहिले मयूर र अन्य चराचुरुङ्गी ह्वात्तै बढेका छन्। “घरनजीकैको पाखामा मयूरका जोडी नाचेको देखिन्छ, थरीथरीका रङ्गीचङ्गी चरा फुरफुर गर्दै उडेका देखिन्छन,” वननजीकैको बस्तीकी गृहिणी राधा गौतम भन्छिन्, “पछिल्ला केही वर्षयता वन सुरक्षाका सकारात्मक प्रयत्नले वन क्षेत्र फेरि हराभरा देखिन थालेको छ।”
    समितिको सकारात्मक प्रयत्नले प्रदेश–२ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पनि साथ पाएको छ। मन्त्रालयले गल्छी र पहिरो नियन्त्रणका उपाय अवलम्बन गर्न उपलब्ध गराएको रु २४ लाख ९५ हजारले वन क्षेत्रका तीनवटा खोल्सीमा चेकड्याम (छहरा बाँध) र एउटा पोखरी निर्माण भएको वन समितिकै उपभोक्ता रहेका बर्दिवास–१ का अध्यक्ष चूडामणि पोखरेल बताउँछन्।
    “यो वन क्षेत्रभित्र पानी खोल्सी, साँपमारा र पाटा (बलवनी)समेत तीनवटा मुख्य खोल्सी छन्,” वडाध्यक्ष पोखरेलले भने, “यी खोल्सीमा सघन बाँस रोपण, मानव प्रवेश निषेध र चेकड्याम बनेपछि पहिरो लडेर गेगर्यान बस्ती पस्न कम भएको छ।” यसपालि धेरै पानी परेको वर्षामा विगत वर्षजस्तो गेगर्यान पसेर घर नलडाएको पोखरेल बताउँछन्। बरु यसपालि त सबै खोल्सीमा एक दशकपछि कञ्चन पानी बगिरहेको देख्दा मन प्रफुल्ल हुने गरेको पोखरेलसहित बर्दिवास–१ का बासिन्दा बताउँछन्।
    चिहानडाँडा वन उपभोक्ता समितिले वन क्षेत्रको सुरक्षा र संवद्र्धनमा नमूना काम गरिरहेको डिभिजन वन कार्यालय महोत्तरीको पनि मूल्याङ्कन छ। “चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षण र संवद्र्धनमा राम्रो चासो बढाएको छ,” डिभिजन प्रमुख हेमन्तप्रसाद साहले भने, “हामीले यी सकारात्मक चासोमा सहयोग बढाएका छौं।” समितिले सुरक्षाको प्रत्याभूति दिन थालेपछि कार्यालयले नयाँ बिरुवा रोपणका लागि माग अनुसार दिंदै आएको साह बताउँछन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्