कोरोना सङ्क्रमित दुईजनाको मृत्यु

0
57

प्रस, वीरगंज, १३ असोज/
    गएराति वीरगंजमा थप एकजना वृद्धको कोरोना सङ्क्रमणले मृत्यु भएको छ।
    मृत्यु हुनेमा सर्लाही, बरहथवा–६ का ७० वर्षीय वृद्ध रहेका छन्। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा गएराति साढे १० बजे मृत्यु भएको अस्थायी कोभिड अस्पतालका प्रमुख डा असरफ हुसैनले जानकारी गराए।
    गत आइतवार राति नारायणी अस्पतालमा पिसिआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएपछि सोमवार बिहान ८ बजे कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
    उच्च रक्तचाप, मधुमेह, मिर्गौला र मुटुमा समस्या देखिएका वृद्धको अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएको डा हुसैनले बताए। यसैगरी, सर्लाहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ।
चितवन लैजाँदै गरिएको सङ्क्रमितको बाटौमैं मृत्यु
    पर्सामा थप एकजना वृद्धको कोरोना सङ्क्रमणले मृत्यु भएको छ। सोमवार बिहान १ बजे वीरगंजबाट चितवन लैजाने क्रममा सखुवाप्रसौनी गाउँँपालिका वडा नं १ औराहा रेन्जका ६५ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साले पुष्टि गरेको छ।
    कन्ट्याक्ट ट्रेसिङ शुरू गरिएपछि ढिलै गरी उनको मृत्युको खबर फैलिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए। वीरगंज, गण्डकस्थित वयोधा हस्पिटलबाट थप उपचारको लागि भरतपुर लैजाने क्रममा उनको मृत्यु भएको हो।
    मिर्गौला रोगी वृद्धको १८ पटक वयोधा र नेशनल मेडिकल कलेजमा डायलासिस भएको थियो।
    श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई असोज १० गते वयोधा अस्पतालमा भर्ना गरी उपचार शुरू गरिएकोमा असोज ११ गते स्वाब सङ्कलन गरी जाँच गराउँदा राति रिपोर्ट पोजेटिभ आएको थियो।
    योसँगै पर्सामा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्