टाटासुमो र बसले यात्री ठगेको गुनासो

0
106

प्रस, वीरगंज, १२ असोज/
    असोज १ गतेदेखि सञ्चालनमा आएको सार्वजनिक यातायात अन्तर्गत वीरगंजबाट सञ्चालित बस, टाटासुमोका सञ्चालकहरूले यात्रीहरूलाई ठगिरहेका छन्।
    सरकारले तोकिएको भाडादरमा पचास प्रतिशत थपेर सिट सङ्ख्याको आधा मात्र यात्री ओसार्न अनुमति दिएकोमा अहिले दोब्बर–तेब्बर भाडा लिने र सिट सङ्ख्या अनुसार यात्री राख्ने गरिएको पाइएको छ। शुरूका दिनमा बस र टाटासुमोले सरकारले तोके अनुसारको सिटमा बढी भाडा लिएर यात्रीहरूलाई ठगेको थियो। असोज ५ गतेदेखि आन्तरिक उडान शुरू भएपछि विमानमा सिट अनुसारको यात्री राखिएको कारण बस र टाटासुमोले पनि सिट अनुसार यात्रुहरू राख्न शुरू गरेका छन्।
    वीरगंजबाट काठमाडौं सञ्चालन हुने टाटासुमोले चर्को भाडा लिने गरेको यात्रीहरूले गुनासो गरेका छन्। रु ५३० भाडा रहेकोमा सरकारले पचास प्रतिशत वृद्धि गरेर सिट सङ्ख्याको आधा यात्रु राखी सञ्चालनको अनुमति दिएको हो। सो अनुसार अहिले टाटासुमोको भाडा रु ८ सय हुनुपर्नेमा १५ सयदेखि २ हजार रुपैयाँसम्म लिने गरेको यात्रीहरूले गुनासो गरेका छन्।
    यसैगरी, बसले पनि तोकेकोभन्दा बढी भाडा लिने र सिट सङ्ख्या अनुसार यात्री ओसारिरहेको छ। विभिन्न स्थानमा प्रहरी, ट्राफिकले चेकजाँच गरे पनि उनीहरूलाई प्रभावित पारेर सेवा सञ्चालन भएको यात्रीहरूले गुनासो गरे। वीरगंजबाट काठमाडौं, पोखरा, नारायणगढ, जनकपुरसम्म सबैभन्दा बढी बससेवा सञ्चालनमा छ भने देशभरिका विभिन्न स्थानमा पनि यहाँबाट बससेवा सञ्चालन हुने गरेको छ।
    यात्रीहरूले चर्को भाडा र तोकिएको मापदण्ड पूरा नगरेकोमा स्थानीय प्रशासनलाई अनुगमन गरेर दण्डित गर्न आग्रह गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्