राजमार्गमा टेन्ट गाडेर उखु किसानको प्रदर्शन

0
38

प्रस, गरुडा, ११ असोज/
    उखु किसानहरूले भुक्तानी माग गर्दै राजमार्ग नै अवरुद्ध पारेर दुई दिनदेखि सडकमा प्रदर्शन गर्दै आएका छन्। रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले गत आर्थिक वर्षसम्म किसानसित किनेको उखुको मूल्य भुक्तानीको माग गर्दै तीन दिने चक्काजाम घोषणा गरी उखु उत्पादक सङ्घ रौतहटले आन्दोलन गरिरहेको छ।
    शनिवार एक घण्टा चक्काजाम गरेका उखु किसानहरूले आइतवार दुई घण्टा सडक अवरुद्ध पारेका थिए।
    उखु किसानहरूले जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ज्ञापनपत्र बुझाउँदै तीन सूत्रीय माग तीन दिनभित्र पूरा गराउन सकारात्मक पहल गर्न आग्रह गरेका थिए। तीन दिनभित्र माग पूरा गराउने पक्षमा सकारात्मक पहल नभए चक्काजाम गर्ने आन्दोलनको घोषणा गरेका थिए।
    गत आर्थिक वर्षसम्मको सम्पूर्ण रकम गरी किसानहरूले उद्योगसित लिनुपर्ने करीब ४१ करोड रुपैयाँ तत्काल भुक्तानी पाउनुपर्ने, उद्योगका श्रमिक–मजदूरहरूको उपदान, क्षतिपूर्ति तथा बीमा रकमको भुक्तानी दिनुपर्ने र उद्योग सञ्चालन गर्नुपर्ने माग राखी किसानहरूले आन्दोलन गरिरहेका छन्।
    किसानहरूको आन्दोलनमा उद्योगका मजदूरहरूको पनि समर्थन रहेको छ। यसैगरी, स्थानीय प्रमुख राजनीतिक दलको पनि किसानहरूको आन्दोलनप्रति समर्थन रहेको छ।
    किसानहरूले माग पूरा गराउन पूर्व–पश्चिम राजमार्गसित सदरमुकाम गौरलाई जोड्ने सहायक राजमार्गको गरुडास्थित श्रीराम सुगर मिल्सअगाडि मूल सडकमैं टेन्ट गाडेर चक्काजाम गर्दै आएका छन्।
    गत साउन ११ गते उद्योग प्रशासनले श्रीराम सुगर मिल्स बन्द भएको सूचना प्रकाशन गरेको थियो।
    गत वर्ष उद्योग सञ्चालनमा आउनुभन्दा पहिले उद्योग र उखु किसानबीच सबै किसिमको भुक्तानी किसानलाई २०७६ चैतभित्र दिइसक्नुपर्ने सहमति भएको उखु उत्पादक सङ्घ रौतहटका सफिन्द्रप्रसाद यादवले बताएका छन्। उद्योगले सहमति अनुसार भुक्तानी नदिएकोले आन्दोलन गर्न बाध्य भएको र सोमवारसम्म कुनै ठोस उपलब्धि नभए पूर्व घोषणा अनुसार आन्दोलनका थप कार्यक्रम घोषणा गरिने यादवले बताएका छन्।
    किसानहरूको माग सम्बोधनको लागि जिल्लादेखि केन्द्रसम्म पहल भइरहेको तर आइतवार दिउँसोसम्म ठोस उपलब्धि कतैबाट नभएको यादवको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्