एक विद्यालयमाथि दुई पालिकाको दाबी

0
32

प्रस, गरुडा, ९ असोज/
रौतहटको एउटा पुरानो विद्यालयमाथि दुई पालिकाको दाबी रहेको छ । स्थानीय तह गठन भएदेखि नै दुई पालिकाले आफ्नो विद्यालय रहेको भनी गरिरहेको दाबीको विवाद अझै सुल्झिएको छैन ।
मध्यरौतहटको श्री सरस्वती माध्यमिक विद्यालय मलाहीटोल चिलमिलिया नामको विद्यालयमाथि गरुडा नगरपालिका र गढीमाई नगरपालिकाले दाबी गर्दै आएका छन् । विद्यालयको स्वामित्वको विषयलाई लिएर दुवै नगरपालिकाको आफ्नै तथ्य र तर्क रहेका छन् ।
गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवले विद्यालय पूर्णतया गढीमाई नगरपालिकामा रहेको बताउँछन् । विद्यालय सञ्चालन रहेको भवन तथा विद्यालयको जग्गाजमीनसमेत गढीमाई नगरपालिकाको सीमाभित्र रहेको तर्क नगरप्रमुख यादवको छ । पहिले प्लान नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बरियारपुर गाविसमा कार्यरत रहेको र त्यस संस्थाले मलाही र वीरनगरामा पक्की भवन, विभिन्न शैक्षिक सामग्री तथा शिक्षकहरूको व्यवस्था गरेको सम्झँदै नगरप्रमुख यादवले तत्कालीन बरियारपुर गाविस समायोजन भएर गढीमाई नगरपालिकामा आएको स्पष्ट पार्छन् । गरुडा नगरपालिकाले पनि विद्यालयलाई दाबी गरे पनि तत्कालीन मलाही गाविसमा प्लान नेपाल लागू नरहेको नगरप्रमुख यादव स्मरण गर्छन् ।
आफ्नै परिवारका काका रामप्रसाद यादवले विद्यालयलाई सात बिघा जमीन दान दिएको र अर्को एक विद्यालयलाई नौ बिघा दान दिएको तथ्य प्रस्तुत गर्दै नगरप्रमुख यादवले अन्य गाउँको विद्यालय भएको भए किन दान गर्नुपथ्र्यो भनी प्रश्न पनि गर्छन् । नगरपालिका गठन हुँदा केही प्राविधिक गडबडीले शिक्षक कर्मचारीको तलब गरुडा नगरपालिकामा गएपछि विद्यालयको स्वामित्वको विषयलाई विवाद उठेको नगरप्रमुख यादवको भनाइ छ । एकै नाउँका दुई गाउँ सँगसँगै रहेको र दुवै गाउँ दुई पालिकामा परेकाले विवाद भइरहेको नगरप्रमुख यादवको तर्क छ ।
पहिले मलाही गाविस छुट्टै थियो र बरियारपुर गाविस अन्तर्गत मलाहीटोल छुट्टै थियो । विद्यालयको बोर्डमा श्री सरस्वती माध्यमिक विद्यालय मलाहीटोल चिलमिलिया लेखिएको छ । मलाहीटोल र मलाही भन्नु एउटै हो भन्ने तर्क तत्कालीन मलाही गाविसका बासिन्दाको तर्क रहेको छ भने मलाहीटोल भन्नु तत्कालीन बरियारपुर गाविसका बासिन्दाको तर्क रहेको छ ।
तत्कालीन मलाही गाविस अहिले गरुडा नगरपालिकाको वडा नं ३ भएको छ भने पहिलेको बरियारपुर गाविस अहिले गढीमाई नगरपालिकाको वडा नं ९ भएको छ । विद्यालय भवन गरुडा नगरपालिकाको सीमा क्षेत्रभन्दा पुग नपुग एक किलोमिटरभित्र गढीमाई नगरपालिकाको सीमामा रहेको नगरप्रमुख यादवको दाबी छ ।
विद्यालयको पुराना कागजपत्रमा मलाही वडा नं ५ लेखिएको पाइएको विद्यालयका प्रधानाध्यापक रामसागर साहको भनाइ छ । पहिले सबै प्रशासनिक काम मलाही गाविस वडा नं ५ भनेर नै हुने गरेको आफूले पाएको प्रअ साहको भनाइ छ । जबकि विद्यालय रहेको भवन त्यत्ति बेलै बरियारपुर गाविसमा पर्दथ्यो । बरियारपुर नलेखेर किन मलाही लेखियो ? आफूलाई केही थाहा नभएको प्रअ साहको भनाइ छ ।
विद्यालयको स्थापना २००७ सालमा भएको हो । यो विद्यालय कुन स्थानीय तहको हो भन्ने विवाद यता आएर केही वर्षदेखि हुन थालेको स्थानीयको भनाइ छ । मलाही र बरियारपुर दुवै गाविसका अभिभावकको साझा विद्यालयको रूपमा रहँदै आएको र दुवै गाविसका बालबालिका यस विद्यालयमा पढ्ने गरेको इतिहास आजसम्म रहिआएको छ ।
विद्यालयको नाममा मलाहीटोलपछि चिलमिलिया रहेको छ । अहिले चिलमिलिया गाउँ पनि गढीमाई नगरपालिकामैं अवस्थित छ ।
गरुडा नगरपालिकाको शिक्षा शाखा संयोजक मौजेलालराय यादव नक्शाङ्कनको हिसाबले मलाही स्कूल गढीमाई नगरपालिकाको सीमा क्षेत्रमा रहेको स्पष्ट पार्दै विद्यालयको रेखदेख तथा व्यवस्थापनमा तत्कालीन बरियारपुर र मलाही दुुवै गाविसको सहयोग हुने गरेको स्वीकार गर्दछन् । बरियारपुरका स्थानीयवासीको चाहना विद्यालय गढीमाई नगरपालिकामा हुनुपर्ने र मलाहीवासीको चाहना विद्यालय गरुडा नगरपालिकामा हुनुपर्ने भन्ने विवाद नै वर्तमानको अवस्था रहेको संयोजक यादवको भनाइ छ ।
केही वर्ष पहिले जिल्ला प्रशासन कार्यालय रौतहटले विद्यालयको स्वामित्वको विषयमा व्यापक सक्रियता देखाएको तर समाधान निस्कन नसकेको संयोजक यादवको दाबी छ । नगरपालिका गठन भएको समयदेखि नै विद्यालयको रेखदेख, सञ्चालन, व्यवस्थापन र अन्य सम्पूर्ण काम गरुडा नगरपालिकाबाट नै भइरहेको संयोजक यादव तथा विद्यालयका प्रअ साहको भनाइ छ । वर्तमान अवस्थासम्म विद्यालयको अभिभावक गरुडा नगरपालिका नै रहेको तर माथिल्लो निकायले गरेको निर्णय आफूहरूलाई स्वीकार हुने संयोजक यादवले बताएका छन् ।
विद्यालय भवन रहेको जग्गादाता स्थानीय बीरा सहनी बरियारपुर गाविसका भएको प्रअ साहको भनाइ छ । विद्यालयमा जग्गादाता सहनीको प्रतिमा स्थापना गरिएको छ ।
विद्यालय कुन नगरपालिकामा हो भन्ने विषयले अहिलेसम्म खासै कुनै प्रशासनिक समस्या नआएको बताउँदै सबै प्रशासनिक काम गरुडा नगरपालिकाबाट हुने गरेको साहको भनाइ छ ।
शिक्षा विकास तथा समन्वय एकाइ रौतहटका एकाइ प्रमुख रामविनयकुमार सिंह मलाही विद्यालयमाथि दुई नगरपालिकाको दाबी रहेको आफूले सुनेको तर विद्यालय कुन पालिकाको हो भन्ने निर्णय गर्ने अधिकार आफूमा नरहेको बताएका छन् । विद्यालयको स्वामित्वको विवाद निकट भविष्यमैं समाधान हुने विश्वास आफूले लिएको एकाइ प्रमुख सिंहको भनाइ छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्