जानकी मन्दिर सर्वसाधारणको लागि खुल्यो

0
13

प्रस, जनकपुरधाम, ६ असोज/           

   लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिर सन्त, महन्तहरूले खुला गरिदिएका छन्। दर्शनार्थीको आस्था तथा भावना एवं वर्तमान अवस्थामा आध्यात्मिक शक्ति अपरिहार्य रहेको मध्यनजर गर्दै आफूहरूले नै मन्दिर खुला गरेको मन्दिरका सन्त, महन्तहरूले बताएका छन्।
    बितेको आइतवार बिहानदेखि  मन्दिर खुला गरिएकोमा मङ्गलवारसम्म आइपुग्दा श्रद्धालु भक्तजनहरूको सङ्ख्या निकै वृद्धि भएको मन्दिरका उत्तराधिकारी रामरोशन दासले बताए। मन्दिर खुलेकोबारे धेरैलाई जानकारी नभएकोले बिस्तारै सङ्ख्या वृद्धि हुन सक्ने भन्दै भौतिक दूरी कायम गर्नुका साथै स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनहरूले पूजा आराधना गरिरहेको दासको भनाइ छ।
    मन्दिर सर्वसाधारणको लागि खुला गर्न उपमहानगरपालिका, प्रदेश सरकार र केन्द्रीय सरकारले समेत हालसम्म कुनै निर्णय नगरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
    जनकपुर र सो आसपास क्षेत्रका हिन्दू सङ्घ/संस्थाहरूले यसअघिदेखि नै मन्दिर सर्वसाधारणको लागि खुला गर्न माग गर्दै आएका थिए।
    मन्दिर खुला गरिएसँगै चहलपहल बढेको छ। अहिले बाहिरका श्रद्धालु एवं दर्शनार्थी नआए पनि जनकपुरधाम र नजीकका आउन थालेका छन्। मङ्गलवारकरीब ४ सयजना दर्शनार्थी मन्दिरमा आएको दासले बताए। हाल ३ सयदेखि ४ सयजनासम्म दर्शनार्थीहरू दिनहुँ मन्दिरमा आउने गरेको उनको भनाइ छ।        
    मन्दिर खुलेसँगै पूजा सामग्री बेच्ने पसल, मिठाइ, फूल तथा अन्य सामग्रीका पसल सञ्चालनमा आएका छन्। मन्दिर बाहिर रहेका पूजा सामग्री र मिठाइ पसलेहरू अधिकांशले भने मास्क नलगाउने गरेको मन्दिरमा नियमित दर्शन गर्न आउने गरेका धनुषाधाम निवासी युवक रामप्रीत यादवले बताए।
 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्