अब अलमल नगरौं

0
17

    कोभिड–१९ महामारीको कारण मुलुकको शैक्षिक क्षेत्र अवरुद्ध छ। अवरुद्ध विद्यालय तथा शैक्षिक क्षेत्रको पठनपाठन सुचारु गर्न ढिलै भएपनि सरकारले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ ल्याएको छ। शैक्षिक क्षेत्रलाई लयमा ल्याउनका लागि आधार तयार गर्ने क्रममा यसलाई महत्वपूर्ण काम मान्न सकिन्छ। तर कुनै पनि कामको महत्व तबमात्र सार्थक हुन्छ, जब त्यसलाई समयमैं प्रभावकारीरूपले कार्यान्वयन गरिन्छ। कोरोनाले चालू शैक्षिक सत्रको ५० प्रतिशत समय खाइदिएको छ। सरकार र शिक्षाका नीति निर्माताहरूमा दूरदर्शिता भइदिएको भए अघिल्लो शैक्षिक सत्रको एक चौमासिक खेर गए पनि चालू शैक्षिक सत्रको एक दिन पनि खेर जाने थिएन। ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ले निर्देशित गरेका कुराहरू यो शैक्षिक सत्रको प्रारम्भमा पनि पूरा गर्न सकिने थियो। तर निर्देशिका नै ढिलो आयो। कोरोना तत्काल नियन्त्रण हुँदैन भन्ने कुरा सुरुआतमैं सबैले बुझेको हो। खोप तयार हुनलाई कम्तीमा पनि दुई वर्ष लाग्ने बितेको जनवरीमा विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरिसकेको थियो। तर त्यसलाई बेवास्ता गरियो।
      जसोतसो निर्देशिका बन्यो तर कार्यान्वयनमा फेरि कति महीना बित्ने हो ठेगान छैन। केही स्थानीय तहमा भर्खर विद्यालयको अनुगमन शुरू भएको छ। विद्यालयको भौतिक अवस्थाबारे बुझ्ने, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं शिक्षकहरूको रायसुझाव लिने, रेडियो, टेलिभिजन, इन्टरनेटमा पहुँच भएका वा नभएका विद्यार्थीहरूको यकीन गर्न अनुगमन गरिएको पालिकाका शिक्षा शाखाहरूले जनाउ दिएका छन्। अब यसको प्रतिवेदन तयार गर्र्न, पालिकामा बुझाउन र पालिकाले निर्णय गर्न फेरि निकै समय बित्नेछ। यो मुलुकमा कामभन्दा पनि औपचारिक प्रक्रिया नै झन्झटिलो र विलम्ब हुने गरेको छ। कुनै पनि कामको लागि जहाँ धेरै प्रक्रिया अपनाइन्छ, त्यही गलत गर्ने मार्ग पनि प्रशस्त हुन्छन्। ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ आफैं पनि लामो प्रक्रिया तथा औपचारिकताहरू पार गर्दै आएको हो। यसले नेपालका विद्यFर्थीहरूको वैकल्पिक पहुँचबारे स्पष्ट पारिसकेको छ। निर्देशिका अनुसार मुलुकमा ‘रेडियो/एफएममा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, मोबाइल, कम्प्युटर भएका तर अनलाइन कनेक्टिभिटी नभएका, सूचना प्रविधिमा पहुँच भएका र सबै किसिमका प्रविधिको पहुँचभन्दा बाहिर रहेका गरी पाँच किसिमका विद्यार्थी समूह छन्।
    यो कुनै एउटा क्षेत्रविशेष वा समूहविशेष होइन। मुलुकका शहरदेखि अधिकांश गाउँसम्म यी पाँचै किसिमका विद्यार्थीहरू छन्। शहरमा बस्ने विद्यार्थीसँग पनि मोबाइल, कम्प्युटर नभएका धेरै छन्। उसो हो भने अब फेरि सर्भे गरेर समय, श्रम र पूँजी बर्बाद गरिरहन जरुरी किन प–यो ? पाँचै समूहका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम चलाए भइगयो नि। टेलिभिजनका लागि जुन सामग्री उत्पादन गरिन्छ, त्यही सामग्रीले रेडियो/एफएम र अफलाइन शेयर तथा सिडी वितरणको लागि पनि काम गर्छ। साथै एकपटकको उत्पादनले पाठ्यक्रम परिवर्तन नभएसम्मलाई काम दिन्छ। यसर्थ अब अलमलिनेभन्दा पनि सबै किसिमका सञ्चारमाध्यमका साथै अफलाइन शेयरलाई समेत प्रयोग गरी सीधैं शिक्षण प्रक्रियामा जान जरुरी छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्