वीरगंजका सरकारी कार्यालयहरू खुले

0
25


प्रस, वीरगंज, ४ असोज/
    वीरगंज महानगरपालिकामा रहेका सरकारी कार्यालयहरू आइतवारदेखि सञ्चालनमा आएका छन्।
    साउन १० गतेदेखि निषेधाज्ञा जारी भएपछि बन्द भएका सरकारी कार्यालयहरू असोज १५ गतेसम्म निषेधाज्ञा जारी भएको अवधिमा आजदेखि सञ्चालनमा आएका हुन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको भदौ ३० गते बसेको बैठकले असोज १ गतेदेखि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सरकारी कार्यालय सञ्चालनमा ल्याउन निर्देशन गरेको थियो। असोज १ गते विश्वकर्मा पूजा परेको र त्यसपछि शुक्रवार, शनिवार भएकोले आवश्यक तयारीसहित आजदेखि सरकारी कार्यालयहरू सञ्चालनमा आएका हुन्।
    जिल्ला प्रशासन कार्यालय, पर्साबाट पनि आज प्रदान गरिने सेवाहरू आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर प्रदान गरियो। यसैगरी, भूमिसुधार तथा मालपोत कार्यालय, नापी, यातायात, कोलेनिकालगायतका सरकारी कार्यालयहरू सञ्चालनमा आएका छन्।
    वीरगंज महानगरपालिकाले पनि आजदेखि कार्यालय सञ्चालनमा ल्याएको छ। महानगरका ७० जना कर्मचारी निषेधाज्ञा अवधिमा सङ्क्रमित भएका थिए। सङ्क्रमित भएकै कारण सबैभन्दा बढी स्वास्थ्य सुरक्षामा महानगरपालिकाले ध्यान दिएको छ। सेवाग्राहीहरूलाई कर्मचारीहरूको सम्पर्कमा नआउने गरी बाँसको छेकबार लगाएर सेवा प्रदान गरिरहेको छ। महानगरमा राजस्व तिर्नको लागि आज नगरवासीको भीड लागेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्