डा केसीको उन्नाइसौं सत्याग्रह

0
19

– श्रीमन्नारायण
    डा गोविन्द केसी नेपाली जनताको निम्ति सर्वाधिक आदर, सम्मान एवं  विश्वासका पात्र बन्न गएका छन्। विगतमा आफूसित भएका सहमतिहरूको कार्यान्वयनमा सरकारले इमानदारिता नदेखाएको भन्दै १९औं पटक उनी सत्याग्रहमा बसेका छन्। विकट पहाडी–हिमाली जिल्ला जुम्लामा आमरण अनशन बसेका डा केसी आफ्नो स्वFस्थ्यको चिन्ता नगरी अनशनमा पनि गरीब एवं असहाय नेपालीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्। अहिंसात्मक आन्दोलनको अन्तिम अस्त्र आमरण अनशनलाई ‘आत्मपीडक’ आन्दोलनको अन्तिम चरण पनि मानिन्छ। लामो समयसम्म अथवा पटक–पटकको आमरण अनशनले व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै ज्यान पनि लिन सक्दछ। आफ्नो स्वास्थ्य अथवा ज्यानको वास्ता नगरी नेपाली जनताको हितलाई ध्यानमा राखी सत्याग्रहमा उत्रेका डा केसी नेपाली जनताको निम्ति एकमात्र आशा एवं विश्वासको केन्द्र साबित भएका छन्। नेपालको चिकित्सा शिक्षा तथा चिकित्सा सेवाको क्षेत्रमा देखिएको बेथिति अन्त्य गरी यसलाई जनमुखी बनाउन उनले जोड दिंदै आएका छन्। मेडिकल माफियाको चङ्गुलबाट चिकित्सा क्षेत्रलाई मुक्त गरी देश र जनताको हित हुने अवस्थामा पु–याउने उनले जुन भगीरथ प्रयत्न गरेका छन्, यसको अन्त्य लक्ष्य प्राप्तिपछि मात्रै टुङ्गिने निश्चित छ। उनलाई आधुनिक नेपालको ‘दधीचि’ भन्न सकिन्छ।
    डा गोविन्द केसी पनि अन्यहरूजस्तै चिकित्सा क्षेत्रसम्म सीमित रही यथास्थितिवादी बन्न सक्दथे। आफ्नो निजी हितको मात्रै उनले चिन्ता गरेको भए धेरै उपलब्धि हासिल गर्न सक्दथे। उनले थालेका अभियानका कारण मेडिकल माफियाहरूलाई ठूलो आर्थिक क्षति पुगेको र पुग्न सक्नेछ। उनलाई लोभ र लाभका प्रस्ताव दिनेहरू पनि अनगिनत नै होलान् तर उनले आफूलाई सम्झौतावादी बनाएनन्। उनले कमजोर चिकित्सा व्यवस्थाविरुद्ध लड्ने साहस गरे।
    देशमा अहिले कम्युनिस्ट पार्टीको सरकार छ, त्यस कारणले मात्र उनी अनशनमा बसेका हुन् भन्ने होइन। उनको यो १९औं सत्याग्रह हो। गएको पाँच–सात वर्षमा अस्तित्वमा आएका सबै दल तथा सबैखाले गठबन्धन सरकारको कामकाजको विरोधमा उनी सडकमा उत्रेका हुन्। तसर्थ उनीमाथि एउटा खास दलको समर्थक र कुनै खास दलको विरोधीको रूपमा परिभाषित गर्न सकिंदैन।


    नेपालका प्रमुख एवं स्थापित राजनीतिक दलहरूले सशस्त्र सङ्घर्षमा बढी विश्वास गरेको इतिहास छ। नेपाली काङ्ग्रेसले २००७ सालको राणाविरोधी आन्दोलनमा मुक्ति सेनाको प्रयोग गरेको थियो। यस पार्टीले विसं २०१७ पुस १ गतेको घटनापछि पनि हतियार प्रयोग गरेको थियो। नेपाल कम्युनिस्ट पार्टीले पनि तराई–मधेसका जिल्लाहरूमा चलाएको जमीनदारविरोधी आन्दोलनमा सामान्य हिंसाको प्रयोग भएकै थियो। नेकपा मालेले भारतीय नक्सलाइट नेताहरू चारु मजुमदार, कानू सन्थाल र विनोद मिश्रहरूसित सम्पर्कमा रही झापा र मोरङ क्षेत्रमा कथित सामन्त किसानको घाँटी रेट्ने काम गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टी माओवादीले एक दशकसम्म चलाएको सशस्त्र सङ्घर्षका कारण नेपालमा १७ हजार जतिले ज्यान गुमाउनुपरेको इतिहास धेरै पुरानो भएको छैन। मधेसको राजनीतिमा आक्रामक रवैया अपनाएर प्रवेश गरेको मधेसी जनअधिकार फोरम तथा माओवादीका कार्यकर्ताहरूको दोहोरो भिडन्तमा दुई दर्जनभन्दा बढीले ज्यान गुमाउनुपरेको थियो। नेपालमा आजसम्म परपीडक अर्थात् अरूलाई भौतिक, मानसिक र आर्थिकरूपले क्षति पु–याउने आन्दोलन भइआएको छ।
    आत्मपीडक (स्वयम् आफू अथवा आफ्नो शरीरलाई नै हानि पु–याउने आन्दोलन)को अवधि लामो अवश्य पनि हुन्छ तर यो निर्णायक हुन्छ। सत्य र अहिंसाका महान् पुजारी महात्मा गाँधीको मार्ग अवलम्बन गर्नु सजिलो हुँदैन। अरूको ज्यान लिनु सहज हुन्छ तर आफ्नो ज्यान दिनु निकै कठिन हुन्छ। महात्मा गाँधीले सविनय अवज्ञा आन्दोलनमार्फत् भारतका विदेशी अङ्ग्रेज शासकहरूलाई घुँडा टेकाएका थिए। धर्ना, शान्तिपूर्ण विरोध प्रदर्शन, जुलूस, भोक हडताल र आमरण अनशनले स्वयम् आन्दोलनकारीलाई नै क्षति पु–याउँछ। नेपालमा पनि यसको प्रयोग नभएको होइन। पञ्चायतकालमा एकपटक भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र २७ वर्षअघि गजेन्द्रनारायण सिंह पनि यसैगरी आमरण अनशन बसेका थिए।
    पहिलोपटक गाँधीवादी आन्दोलनलाई निस्स्वार्थ भावले र देश एवं जनताको हितमा उपयोग गर्ने काम महान् चिकित्सक डा गोविन्द केसीले गरे। आफ्नो शरीरलाई कष्ट पु–याई जनताको हितमा काम गर्ने डा केसीमाथि नेपालीको औधी विश्वास छ। उनी नेपाली जनताका सच्चा महानायक साबित भएका छन्। १९औं पटक आमरण अनशनमा बस्नु सामान्य कुरा होइन। एक किसिमले उनी आफ्नो शरीरलाई नै गलाइसकेका छन्। भौतिकरूपले उनी कमजोर भएका हुन सक्दछन् तर उनको शरीरको हाड पनि महान् ऋषि दधीचिको हड्डी साबित भइरहेको छ। डा केसी अनशनमा बसेको नाम सुन्ने बित्तिकै चिकित्सा क्ष्Fेत्रका माफियाहरू सतर्क भइहाल्छन्। सरकार पनि चिन्तामा पर्न जान्छ।
    डा केसीले एउटा शिक्षित, जागरूक एवं राष्ट्रप्रति सच्चा भावले समर्पित नागरिकले गर्नुपर्ने कर्तव्य निर्वाह गरेका हुन्। यो काम हामी सबैले पनि गर्नुपर्दथ्यो, गर्न सक्दछौं र गर्नुपर्दछ तर हामीले आफूलाई पारिवारिक दायित्वमैं सीमित राख्यौं। राज्यविरुद्ध आवाज उठाउने साहस सबैले गर्न सक्दैन। यद्यपि देशको संविधानले हामी सबै नागरिकलाई यो अधिकार प्रदान गरेको छ। देशको संविधानले डा केसीलाई कुनै विशेष अधिकार दिएको छैन तर उनी सामान्य नागरिक भएर पनि विशेष काममा हात हालेका कारण हामीहरूभन्दा बढी मान, सम्मान र प्रतिष्ठा हासिल गरिरहेका छन्। चिकित्सा शिक्षा एवं चिकित्सा क्षेत्रका सैकडौं एवं हजारौं माफियालाई उनले शत्रु बनाएका होलान् तर त्यसको वास्ता उनलाई छैन। उनी नेपाल र नेपाली जनताको हितमा काम गरिरहेका छन्। यसमा उनलाई सन्तुष्टि प्राप्त भइरहेको छ।
    डा केसीको अभियान हामी सबैको निम्ति हो, तसर्थ यस अभियानप्रति सद्भाव, सहयोग र समर्थन जनाउनु हाम्रो कर्तव्य हो। उनले राजनीतिक व्यवस्थाको विरोध गरेका छैनन्। उनले सरकारको पनि विरोध गरेका छैनन्। सरकारका अन्य नीति र कार्यक्रमप्रति पनि उनले आफ्नो सरोकार जनाएका छैनन्। हुनत लोकतान्त्रिक शासन प्रणाली भएको देशमा जननिर्वाचित सरकारको निर्णय र क्रियाकलाप मन परेन भने शान्तिपूर्ण तरीकाले विरोध जनाउने अधिकार नागरिकलाई संविधानले नै प्रदान गरेको छ। नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमतको सरकारको आधाभन्दा बढी कार्यकाल सकिएको छ। तर यस अवधिमा देशमा विपक्षी दलहरूको उपस्थितिको अनुभूति नै भएन। एक्लो डा केसी नै विरोध प्रदर्शनमा उत्रेका देखिए। राजनीतिक दलहरूको विरोध गर्ने क्षेत्र र तरीका व्यापक हुन्छ, तर कुनै एक व्यक्तिको विरोध गर्ने तरीका र क्ष्Fेत्र सीमित नै हुन्छ। संस्था र व्यक्तिमा फरक हुन्छ। भोलिका दिनमा डा केसीको आन्दोलनको समर्थनमा हजारौं जनता सडकमा आउँछ भने यो विरोध जनान्दोलन पनि साबित हुन सक्दछ र डा केसी स्वयम् व्यक्ति नै रहनेछन् तर उनको विचाराधाराले राजनीतिको नयाँ दिशा प्रदान गर्न सक्दछ।
    डा केसीले उठाएका मागहरू जायज प्रवृत्तिका छन्। विगतका सरकारले डा केसीसित गरेका सहमतिहरूलाई कार्यान्वयनमा ल्याउनुपर्दछ। भन्नका लागि हाम्रो देशका राजनीतिक दलहरू समाजवादका समर्थक भएको दाबी गर्दछन् तर शिक्षा, स्वास्थ्य र बैंक निजी क्षेत्रमा दिने दलहरू समाजवादी कसरी हुन सक्दछन् ? पूँजीवाद र सामन्तवादको विरोध गर्नेहरू स्वयम् किन पूँजीवादी र सामन्त बन्न पुग्दछन् ? यसको कारण बुझ्न सकिएन ? डा केसीको आन्दोलन नेपाली जनताको आन्दोलन हो। सरकारले उनको माग सम्बोधन गर्नैपर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्