उन्नत समाज र समृद्ध राष्ट्रका लागि सामाजिक शिक्षा

0
15

– अनन्तकुमार लाल दास
    राष्ट्रियता भनेको राष्ट्रप्रति सम्मान देखाउनु र आफ्नो सम्पूर्ण क्रियाकलाप त्यसप्रति समर्पित गर्नु हो। यही राष्ट्रियता हामी सबै नेपालीका लागि गौरवको प्रतीक हो। विद्यालयहरूमा सामाजिक शिक्षाको प्रयोग र उपयोग यसै राष्ट्रिय गौरवको अभिवृद्धि, उन्नत समाज र राष्ट्रनिर्माणका लागि गरिएको हो र यसका लागि पाठ्य सामग्री तथा मूल्याङ्कन विधिलाई समय अनुसार र परिस्थिति अनुसार परिमार्जन गर्दै लगिएको हो। सामाजिक शिक्षाले समाज रूपान्तरणमा पनि महत्वपूर्ण योगदान गर्न सक्छ। यसले विद्यार्थीहरूलाई सिर्जनशील, नैतिकवान्, अनुशासित, स्वावलम्बी बनाउनुका साथै लोकतान्त्रिक संस्कारमा वृद्धि गर्न सक्छ। यसै कारणले होला सरकारले यसै शैक्षिक सत्रदेखि सामाजिक र जीवनोपयोगी शिक्षा विषयलाई कक्षा ११ र १२ मा समावेश गरेको छ।
    यदि सामाजिक शिक्षाको उपयोग कक्षा कोठामा सही ढङ्गले गरियो भने निश्चितरूपले समाज रूपान्तरण र राष्ट्रिय गौरवमा अभिवृद्धि हुने विश्वास गर्न सकिन्छ। यसका लागि सामाजिक शिक्षा पढाउने शिक्षकले पाठ्यपुस्तकमा दिइएको विषयवस्तु घोक्न नलगाई दिइएका जीवनमा प्रयोग गरेर असल नागरिक बन्न अभिप्रेरित गर्नुपर्दछ। पाठ्यपुस्तकको प्रत्येक एकाइको शीर्षकसँगै विषयवस्तुसँग सम्बन्धित चित्र तथा चित्रमुनि अमर वाक्य, गीत वा कविता राखिएका छन्। यसबाट विद्यार्थीहरूले सजिलै त्यस एकाइभित्र के कस्ता विषय समावेश गरिएको छ, सहजै अनुमान लगाउन सक्छन्। यसका साथै यसबाट विद्यार्थीहरूमा ज्ञान र बोध उदय भई राष्ट्रिय भावनाको अभिवृद्धिमा सहयोग पुग्छ।


    सामाजिक शिक्षा पाठ्यपुस्तकको प्रत्येक पाठमा दिइएको चित्र र विषयवस्तु र अर्कोतर्फ सम्पन्न गर्ने क्रियाकलापले विषयवस्तु र क्रियाकलापबीच समन्वय गर्न सजिलो विधि दिइएको छ। यसका लागि शिक्षकले विषयवस्तुको अर्थ बताउने, व्याख्या गर्ने काममा समय खेर फाल्नुहुँदैन किनभने यसले विद्यार्थी निष्क्रिय श्रोता मात्र बन्छन्। शिक्षकले बोलेका लामा–लामा व्याख्यान सुन्ने धैर्य आजकलका विद्यार्थीमा हुँदैन। यस कारण सामाजिक शिक्षाको उद्देश्य विद्यार्थीहरूलाई निष्क्रिय श्रोता बनाउनु होइन, यस्तो भयो भने विद्यार्थीको भावी जीवनमा पनि शिक्षक सधैं साथ भइदिनुपर्छ। विद्यार्थीले आफ्नो जीवनका अप्ठ्यारा दिनहरूको सामना आफैं गर्नुपर्छ। यस कारण सामाजिक शिक्षाका शिक्षकले विद्यार्थीहरूको क्षमता र सीप विकासमा बढी जोड दिनुपर्छ।
    सामाजिक शिक्षा पाठ्यपुस्तकको प्रत्येक पाठका विषयवस्तुलाई कविता, कथा, संवाद, नक्शा, तालिका, चित्र, कुराकानी, सामूहिक क्रियाकलाप आदि माध्यमबाट प्रस्तुत गर्ने अवसर दिनुपर्छ। सबै विद्यार्थीलाई सबै कुरा थाहा हुँदैन। यस्तो अवस्थामा जान्ने विद्यार्थीले नजान्नेलाई सिकाउने र आआफ्नो रुचि अनुसार विषयवस्तु प्रस्तुत गर्ने वातावरण प्रदान गर्नुपर्छ। यसरी विषयवस्तुको प्रस्तुति पछि विद्यार्थीलाई समुदाय अन्तर्गत गरिएका काम प्रस्तुत गर्ने समय दिनुपर्छ। पाठ्यपुस्तकको प्रत्येक खण्डमा ‘तपाईंको समुदायमा’ भन्ने खण्ड राखिनुको उद्देश्य विद्यार्थीलाई पाठ्यपुस्तकमा पढेका कुरा वास्तविक जीवनमा पनि हुँदो रहेछ भन्ने बोध गराउनुका साथै खुला किताबरूपी प्रकृतिको अध्ययन गर्ने सीप विकास गराउनु हो। यस अन्तर्गत विद्यार्थीहरू जुन परिवेश वा समुदायमा हुर्केका हुन्छन्, त्यसैको अध्ययन गराएर सिर्जनात्मक प्रतिभा विकास हुने काममा संलग्न गराइन्छ।
    यस क्रियाकलापबाट विद्यार्थीको लोकसंस्कृति, सभ्यता, भाषा, कला आदिलाई जीवन्त बनाउन सहयोग पुग्छ। यस अन्तर्गत वीरगंजका विद्यार्थी गहवामाई, गढीमाई, विन्ध्यवासिनीमाईको अध्ययन गर्छन् भने जनकपुरका विद्यार्थी रामजानकी मन्दिर र कठमाडौंका विद्यार्थीले पशुपतिनाथ मन्दिरको अध्ययन गर्छन् र पाठमा भएका विषयवस्तुसँग तुलनासमेत गर्छन्। यसैगरी, हिमाली क्षेत्रका विद्यार्थीले ल्होसार, उपत्यकाले दशैं र तराईका विद्यार्थीहरूले छठ, होली, ईद आदि पर्वको अध्ययन गर्छन्। यस्ता क्रियाकलापबाट राष्ट्रका विभिन्न क्षेत्रको प्रतिनिधित्व भई राष्ट्रिय गौरवको विकासमा ठूलो सहयोग पुग्छ।
    सामाजिक शिक्षाको विषयवस्तु व्यापक छ। यस्तो अवस्थामा समयभित्र पाठ्यक्रम कसरी सक्ने, म त इतिहासको, भूगोलको, अर्थशास्त्रको शिक्षक हुँ र कसरी सबै विषय पढाउन सक्छु भन्ने गुनासा पनि नउठेका होइनन्, तर यदि हामीले पढ्ने, सिक्ने, खोजी गर्ने, लाज नमानी सोध्ने बानी बसाल्यौं र राम्ररी शैक्षिक योजना बनायौं भने समयभित्र सजिलै पाठ्यक्रम पूरा गर्न सकिन्छ। के मात्र ध्यान राख्नुपर्छ भने सामाजिक शिक्षा विद्यार्थी केन्द्रित विषय हो। यस कारण सामाजिक शिक्षा पढाउने शिक्षकले जेसुकै काम गर्दा विद्यार्थीलाई समावेश गराउनैपर्छ। यसका लागि विद्यालयको पात्रो अगाडि राखेर पाठ्यपुस्तकका पाठ अनुसार वार्षिक कार्य योजना बनाउनुपर्छ। वार्षिक योजनाको सफल कार्यान्वयनमा विद्यार्थीको भूमिका नै ठूलो हुने भएकोले उनीहरूले कुन दिन के भूमिका खेल्ने हो त्यसबारे पनि छलफल गरेर कामको बाँडफाँड गर्नु उचित हुन्छ। प्रत्येक विद्यार्थीलाई प्रत्येक दिनको शैक्षिक क्रियाकलापमा संलग्न गराउनुपर्छ। यदि कुनै दिन कुनै विद्यार्थीले २०६२–०६३ को जनान्दोलनबारे बयान गर्छ भने अन्य बाँकी विद्यार्थीलाई बोलेका कुरा पाठ अनुसार समाचार, संवाद, कविता, अभिनय, कथा वा पत्रलेखनमार्फत् प्रस्तुत गर्न लगाउनुपर्छ।
    यसैगरी, पाठ अनुसार कुनै दिन कक्षा कोठामा स्रोत व्यक्तिको रूपमा कलाकार, चित्रकार, वकील, डाक्टर, समाजसेवी, सङ्घसंस्थाका अध्यक्ष, किसान आदिलाई निम्त्याउनुपर्छ। यो त्यस बखत मात्र सम्भव हुन्छ, जब वार्षिक कार्ययोजनामैं कसलाई, कुन दिन, कसरी, कुन प्रयोजनका लागि उपस्थित गराउने निधो गरिन्छ। स्रोत व्यक्तिले बोलेका कुरालाई सकारात्मकरूपमा लिएर त्यस सम्बन्धमा समाचार वा अन्य कुनै किसिमको सिर्जनात्मक प्रस्तुति गर्न लगाउनुपर्दछ। वार्षिक कार्ययोजनामा यदि विद्यार्थीलाई संलग्न गराइन्छ भने शिक्षकको अनुपस्थितिमा पनि कक्षा सञ्चालन हुन सक्छ। यस कारण जुन शैक्षिक योजनामा विद्यार्थीलाई संलग्न गराइँदैन, त्यो व्यावहारिक कार्ययोजना हुन सक्दैन।
    त्यस्तो शिक्षण विधिलाई राम्रो मानिन्छ, जसमा विद्यार्थी स्वयम् कुनै कुराका निम्ति अगाडि सर्छ। यस कारण शिक्षकले आफ्नो कुरा मात्र राखेर विद्यार्थीलाई बोल्ने वा कुनै काम गर्न वञ्चित गराउनु सामाजिक शिक्षा शिक्षणविपरीत हुन्छ। सामाजिक शिक्षामा शिक्षकको भूमिका सहजकर्ता र विद्यार्थीको भूमिका अनुसन्धानकर्ताको रूपमा हुन्छ। प्रभावकारी शिक्षण विधि अन्तर्गत पाठ्यपुस्तकको उद्देश्य अनुसार समाजको अध्ययन गर्ने अवसर प्रदान गरिन्छ। उदाहरणस्वरूप कक्षा ९ को एकाइ १ अन्तर्गत विद्यार्थीहरूले ‘हामी, हाम्रो समुदाय र राष्ट्र’को अध्ययन गर्दा पहिले एकाइमा दिइएको चित्रको अध्ययन र ती चित्रहरूमध्ये आफ्नो समुदायसँग सम्बन्धित चित्र पहिचान गरी आफ्नो परिवार तथा समुदायसँग त्यसको तुलना गर्नुपर्छ। चित्र वा चित्रमुनि लेखिएका कुराको आधारमा आआफ्ना परिवेशसँग सम्बन्धित कुराबारे विद्यार्थीहरूलाई बोल्न लगाउनुपर्छ। शिक्षकले  विद्यार्थीहरूलाई पाठमा ती कुरा कहाँ छन्, खोज्न अभिप्रेरित गर्नुपर्छ। विद्यार्थीहरूले कक्षा वा कक्षा बाहिर पनि खोजी गर्न सक्छन् र शिक्षकको सहायताबेगर स्वयम् त्यसलाई आआफ्ना समुदाय अनुरूप प्रस्तुत गर्न सक्छन्।
    यसैगरी, ‘विकास’ पाठ अन्तर्गत विद्यार्थीहरूले विभिन्न प्रकारका चारवटा क्रियाकलाप गर्नेछन्। पहिलो क्रियाकलाप अन्तर्गत समाचारपत्र, शब्दकोष वा अन्य कुनै स्रोतमार्फत् विकाससम्बन्धी आफ्नो स्वतन्त्र अभिव्यक्ति प्रस्तुत गर्नेछन्। दोस्रो क्रियाकलाप अन्तर्गत दिइएको आयात–निर्यात देखाइएको नेपालको नक्शा, नेपाल र अमेरिकी मुलुकमा गरिएका सेवाको प्रतिशतको अध्ययन तथा विभिन्न देशका प्रतिव्यक्ति आयसम्बन्धी तथ्याङ्क विभिन्न किसिमबाट प्रयोग गर्नेछन्। तेस्रो क्रियाकलाप अन्तर्गत आफ्नो देशमा हुने आयात–निर्यातको विश्लेषण र आयात घटाउन र निर्यात बढाउन वर्तमान समयमा कसरी संलग्न हुन सकिन्छ भन्ने मौलिक विचार प्रस्तुत गर्न सकिन्छ। चौथो क्रियाकलाप अन्तर्गत आफ्नो समुदाय वा गाउँको नक्शा देखाई त्यहाँबाट आयात–निर्यात हुने वस्तु देखाउन र सो कुरा ग्राफ वा वृतचित्रमा देखाउन सकिन्छ। यसैगरी, विद्यार्थीहरूले आफ्नो परिवारको प्रतिव्यक्ति आय निकाल्न सक्छन् र अरू देशको प्रतिव्यक्ति आयसँग तुलना र प्रतिव्यक्ति आय बढाउन विद्यार्थीहरूले के गर्न सक्छन् भन्नेबारे आफ्नो विचार प्रस्तुत गर्न सक्छन् वा के कारणले हाम्रो देशको प्रतिव्यक्ति आय न्यून छ भन्ने कुरा सजिलै बुझ्न सक्छन्। यसैगरी, विद्यार्थीहरूले विभिन्न पाठ अन्तर्गत विभिन्न क्रियाकलाप गर्न सक्छन्। सामाजिक शिक्षामा विषयवस्तुभन्दा सीपमा बढी जोड दिइने हुनाले शिक्षकहरूले ध्यान के राख्नुपर्छ भने एकै किसिमको क्रियाकलाप नदोहोरियोस्। यस्तो भयो भने निर्धारित समयमा पाठ सकिने सम्भावना रहँदैन। शिक्षकहरूले सधैं के स्मरण गरिरहनुपर्छ भने सामाजिक शिक्षाले घोकन्ते र अल्छी विद्यार्थी होइन, सिर्जनात्मक, प्रतिभावान्, राष्ट्रभक्त र जागरूक विद्यार्थी उत्पादन गर्ने उद्देश्य लिएको छ। हालको परिवर्तित मूल्याङ्कन प्रक्रिया अनुसार विद्यालय तथा शिक्षकले विद्यार्थीहरूको सिकाइ सुनिश्चित गर्न निरन्तर मिहिनेत गर्नुपर्छ।
    वर्तमान शिक्षा प्रणालीबाट विद्यार्थीहरूले ज्ञान त प्राप्त गरे तर सिकाइ केही भएन। तसर्थ अब हामी लब्धाङ्कपत्रमा अङ्क खोज्ने कि अङ्कमा व्यवहार खोज्ने ? अङ्क उत्तरपुस्तिकामा मात्र खोज्ने वा विद्यार्थीको दैनिक जीवनमा खोज्ने ? विद्यार्थीलाई रिजल्टको दिन मात्र खुशी देख्न चाहने वा जीवनभरि खुशी देख्न चाहने ? यस प्रश्नको जवाफले हामीलाई परम्रागत शिक्षण शैली परित्याग गरी एक्काइसौं शताब्दीको शिक्षण शैली अँगाल्न प्रेरित गर्दछ। अन्त्यमा सामाजिक शिक्षाले राष्ट्रिय विकास अभियानमा प्रत्येक नागरिकलाई संलग्न गराई व्यावहारिक, रोजगारमूलक र सीपमूलक शिक्षाको विकासमा जोड दिएको छ। सामाजिक शिक्षाको सही प्रयोग र उपयोगबाट प्रत्येक व्यक्तिलाई सामुदायिक समस्या समाधान गरेर समुन्नत राष्ट्रनिर्माणका साथै सहयोगी भावनाको विकास गर्न सहयोग पु–याउन सक्छ। सामाजिक शिक्षाले गणित, विज्ञान, वातावरण शिक्षाका साथै अङ्ग्रेजी, नेपाली तथा अन्य भाषाको प्रयोग उन्नत समाज, राष्ट्र र समृद्ध विश्व निर्माणका लागि होस् भन्ने चाहना राखेको हुनाले यसले सम्पूर्ण शिक्षा प्रणालीलाई मानव हित अनुकूल प्रयोग गर्न प्रेरित गर्दछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्