रौतहटमा पिसिआर परीक्षण शुरू

0
29

प्रस, गरुडा, ३ असोज/
प्रदेश सरकारको सहयोगमा रौतहटको जिल्ला अस्पताल गौरमा स्थापना गरिएको पिसिआर परीक्षण ल्याबको नमूना परीक्षणमा एकजनामा कोरोना सङ्क्रमण पाइएको छ ।
बिहीवार दशजनाको स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी गराएको छ । शनिवार एक स्थानीय तहमा परीक्षणको लागि स्वाब नमूना सङ्कलन हुने र अब नियमित परीक्षण हुने अस्पताल स्रोतको दाबी छ ।
६ घण्टामा ७२ वटा स्वाब परीक्षण गर्ने क्षमता भएको पिसिआर परीक्षण मेशिन जडान भएपछि शुक्रवार प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले उद्घाटन गरी सञ्चालनमा आएको बताएका थिए ।
जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्ला अस्पताल गौरमा पिसिआर ल्याब स्थापना तथा व्यवस्थित आइसोलेशन निर्माणका लागि स्थानीय तहहरूले पाँच/ पाँच लाख रुपैयाँ सहयोग गरेका थिए ।
जिल्ला अस्पतालमा ल्याब सञ्चालनमा आएपछि पिसिआर परीक्षणको नतीजा चाँडै आउने डा कृष्णा साहले विश्वास व्यक्त गरे ।
रौतहटमा पिसिआर परीक्षण ल्याब नहुँदा जनकपुर, वीरगंज, हेटौंडा र काठमाडौंसम्म स्वाब नमूना परीक्षणका लागि पठाइने गरिएको थियो । स्वाब सङ्कलन गरिएको दुई हप्तासम्म पनि परीक्षणको नतीजा नआउँदा स्वाब दिनेहरूले तनाव बेहोर्नुपरिरहेको थियो ।
रौतहटमा नै पिसिआर परीक्षणको लागि ल्याब सञ्चालनमा आएपछि जिल्लावासीले खुशी व्यक्त गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्