ब्रह्माकुमारीद्वारा त्रिदिवसीय मौन साधना शुरू

0
25

प्रस, वीरगंज, ३ असोज/
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजको आयोजनामा कोभिड–१९ को महामारी तथा विविध कारणले आक्रान्त र अशान्त देशवासीमा शान्ति, सकारात्मक र नवीन आशाको शुभ तरङ्ग प्रवाह होस् भन्ने उद्देश्यले त्रिदिवसीय गहन मौन साधना शुरू भएको छ ।
वीरगंज क्षेत्रका विभिन्न शाखा, उपशाखामा रही आध्यात्मिक सेवामा जीवन समर्पण गरेका ब्रह्माकुमारीहरूको सहभागितामा त्रिदिवसीय गहन राजयोग मौन साधना शुभारम्भ भएको हो ।
ब्रह्माकुमारी रविना दिदीको अध्यक्षतामा ब्रह्ममुहूर्तदेखि पूर्णतः मौन योगाभ्यासबाट शुभारम्भ भएको कार्यक्रममा बारा, पर्सा तथा विभिन्न स्थानबाट आमन्त्रित संस्थामा आजीवन समर्पित २५ जना ब्रह्माकुमारीहरूको आध्यात्मिक प्रशिक्षण र गहन योग साधना आयोजना गरिएको हो । योग साधनामा सामाजिक दूरी कायम गरिएको छ ।
सो अवसरमा सहभागीहरूले मोमबत्ती धारण गरी कोरोना महासङ्कटबाट मर्माहतप्रति शान्तिको कामना गरेका थिए । यसैगरी, सङ्क्रमण रोकथाममा ज्यान जोखिममा राखेर नागरिकको जीवनरक्षाका लागि अहोरात्र खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सामाजिक अभियन्ताप्रति सम्मान व्यक्त गरिएको थियो ।
कार्यक्रममा विश्वदर्शन भवन, छपकैयाकी सञ्चालिका ब्रह्माकुमारी बेली दिदी, रेणु, सबिता, तिलक माता, ब्रह्माकुमार गोवद्र्धन, छोटेलाललगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण ब्रह्माकुमार गोकुल गुभाजूले गरेका थिए । राजयोग मौन साधना सोमवारसम्म सञ्चालन हुनेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्