नेकपा पर्साको बैठक बोलाउन माग

0
73

प्रस, वीरगंज, २ असोज/
    नेकपा पर्साको बैठक बोलाउन माग गर्दै शुक्रवार पार्टीका ५१ जनाले हस्ताक्षर गरी अध्यक्ष प्रभु हजरालाई बुझाएका छन्। नेकपा पर्सामा १६५ जना सदस्य रहेको र त्यसमध्ये ५५ जनाले जिल्ला कमिटीको अध्यक्ष भएको एक वर्ष बित्दा पनि बैठक नबसेको भन्दै बैठक बोलाउन माग गरेका हुन्।
    ५१ जनाको हस्ताक्षरसहितको पत्र बुझ्दै अध्यक्ष हजराले सचिवको राजीनामाको कारण सात महीना बैठक बस्न नसकेको र अहिले कोरोनाको कारण ५ महीनादेखि समस्या भएको बताएका थिए। उनले बैठक बसाउनको लागि कोरोना सङ्क्रमणअघि आफूले दुईपटक प्रयास गरेको तर दुई नं. प्रदेशको जिम्मेवारी वहन गरेका सङ्गठन विभाग प्रमुख वामदेव गौतमले प्रदेशको समस्या समाधान नभएसम्म बैठक नगर्न सुझाव दिएपछि बैठक नबसेको बताए। उनले असोज ४ गते बैठक सम्बन्धमा सचिवसँग छलफल गर्ने र अनुकूल समयमा बैठक बोलाउने बताए। अहिले सङ्क्रमणको बेलामा १६५ जना सदस्य, प्रदेश सदस्य र केन्द्रीय सदस्य सहभागी गराएर बैठक गर्नु जोखिमपूर्ण हुने अध्यक्ष हजराले बताए।
    तत्कालीन एमाले र माओवादी एकतापछि बनेको नेकपा पर्सामा अहिलेसम्म बैठक नभएको भन्दै ५१ जनाले बैठक बोलाउन लिखित माग गरेका हुन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्