देहात: राजनीतिक रोटी सेक्ने उपक्रम मात्र

117

– राजेश मिश्र
    “रामचन्द्रजी कह गए सिया से ऐसा कलयुग आएगा, हंस चुगेगा दाना–तुनका, कौवा मोती खाएगा।” देहातमा सर्वाधिक लोकप्रिय यो भजनगीत सन् १९७० को दशकमा हिन्दी फिल्म ‘गोपी’को माध्यमबाट बजारमा आएसँगै जति सान्दर्भिक थियो, आज पनि उत्तिकै छ। देहातमा आफ्नो झुपडीको अगाडि रहेको झमडामुनि खटियामा बसेर उपरोक्त कथन पुरनियाहरूले गफिइरहँदा यस्तो लाग्छ कि वरपर खुट्टामा बाँधिएका चौपायाहरू र झमडामा फैलिएको लहराहरूले समाजभित्रका भ्रष्ट पात्रहरूलाई गिज्याइरहेका छन् भने असल मानिसहरूलाई सलाम ठोकिरहेका छन्।
    पाँच दशकअघि बनेको उपरोक्त गीतको आशय यस्तो छ, ‘पुण्यमाथि पाप हावी हुँदै जानेछ, इमानदारहरूको जीवन कष्टप्रद हुनेछ र बेइमानहरू सदाबहार जीवन बिताउने छन्।’ यद्यपि बेइमानी भनेको बैंकको चल्ती खाता जस्तै हो ‘आयाराम–गयाराम’। तर सत्यकर्म भनेको बचत खाता हो र त्यो आफूलाई मात्र होइन पुस्तौंसम्म काम लाग्छ। देहातमा भनिन्छ, “पुवारा के आगी जेतने जल्दी धँधोर करेला ओतने जल्दी बुताला, मगर गोइँठी मे आग धिरे–धिरे पकडेला आ बहुत देर तक रहेला” अर्थात् भ्रष्टाचार गर्नेहरू जति तीव्रताका साथ उकालो चढ्छन्, त्यति नै तीव्र गतिमा ओरालो लाग्छन्। इमानदार मानिसको प्रगति बिस्तारै हुन्छ र समान गतिमा जीवन निरन्तर चलिरहन्छ।
    आजका पुरनिया (वृद्धवृद्धा) जो पाँच दशकअघि युवा थिए, उनीहरूलाई पनि ‘गोपी’को गीतभन्दा ‘गोरकी पतरकी रे, मारे गुलेलवा, जीयारा उडी उडी जाय’ लगायतका भोजपुरी गीतहरू मन पथ्र्योे तर संस्कार र नैतिकताको सीमा नाघिंदैन थियो। अपवादबाहेक धर्मकर्म र सत्कर्ममा देहात अब्बल थियो। ज्ञानगुनको कुरा हुन्थ्यो। उमेर बढ्दै जाँदा युवा शरीर वृद्ध मात्र हुँदैन, त्यसभित्र विचार र अनुभवको भण्डारण क्षमता पनि बढ्दै जान्छ। विगत र वर्तमानको परिस्थितिलाई मन्थन गरेर व्यक्त गरिने पुरनियाहरूको विचार नवपुस्ताको लागि पे्ररणा हो र सकारात्मकरूपमा ग्रहण गर्नुपर्छ।


    आजका युवापुस्ता ‘ओ, मुझे छोडकर जो तुम जाओगे, बडा पछताओगे, बडा पछताओगे’ मात्र होइन आफ्ना पुरनियाहरूको विगतको भोगाइप्रति पनि चासो हुनुपर्दछ। प्रकृतिको नियम अनुसार आजका युवा पनि भोलि पुरनियामा परिणत हुनेछन् र त्यो समय पनि आउँछ, जब भक्ति, भजन, योग र ध्यानसहित नवपुस्तालाई आफ्नो भोगाइ बताउनुपर्ने जिम्मेवारी महसूस हुन्छ। वृद्धवृद्धाहरूको भोगाइ र अनुभवलाई नजरअन्दाज गर्नु भनेको भविष्यप्रति बेखबर हुनु हो।
    समाजभित्रको मानव संवेदनहीनतालाई चित्रण गर्ने ‘गोपी’ फिल्मको उपरोक्त गीत देहातमा मात्र होइन शहरमा पनि प्रसिद्ध छ तर यसको मौलिकता तब महसूस हुन्छ, जब पुरनियाहरूको स्वरमा देहातको माटोमा सुनिन्छ। पुरनियाहरूको भोगाइ अनुसार गाउँदेहातमा एक्कादुक्का धनाढ्यहरूको हुकुमत चल्थ्यो। विभिन्न तरीकाले गरीबलाई दमन, शोषण गरेर धनी बनेका ती कथित धनवान्हरूलाई स्वार्थको अगाडि गरीबको मर्मसँग कुनै वास्ता हुँदैन थियो। २०औं शताब्दीताका बनेका प्रायः फिल्म र गीतहरू धनीबाट गरीबहरूको शोषणयुक्त प्रवृत्तिलाई उजागर गर्ने आशयमा आधारित नेपाली,  भोजपुरी र हिन्दी भाषाका अनेकौं फिल्म/गीतहरू छन्।
    गाउँहरूमा एक/दुई वटा पक्की घर भएका धनीहरूबाहेक सबैको घर फुस वा खपडाको थियो। गरीब र मजदूरहरूले जो धनाढ्यहरूको हलो–कोदालोको काम गर्दथे, उनीहरू साहुसँग अन्नपात डेढीमा ऋण लिनलाई पनि साहुको जीहजुरी गर्नुपथ्र्यो। देहातका गरीबहरूको केही कट्ठा खेतले वर्षभरि खानलाई अनाज पुग्दैन थियो। विगतमा देहातका धेरैजसो मानिस मडुआ र कोदो आदि खाद्यान्न एक छाक खाएर जीवन जोगाएको कुरा पुरनियाहरू सुनाउँछन्। कात्तिकमा हुने धानबाट साहुको ऋण खलियानबाटै चुक्ता गर्नुपथ्र्यो। आगामी कृषि कार्यको लागि आवश्यक पर्ने बीउ, मल, खेत जोताइलगायतका लागि आवश्यक पर्ने खर्च जोगाउनुपथ्र्यो। अन्ततः बचेको अन्न उपभोग गरिन्थ्यो अर्थात् घरसारदेखि कृषि कार्यको लागि आवश्यक खर्च अन्नपातमा निर्भर थियो। चैतमा हुने गहँुबाली काटिनुअगावै अर्थात् माघ महीनामा खाद्यान्न सकिन्थ्यो। पुरनियाहरूका अनुसार असारदेखि असोजसम्मको अवधिलाई जीवन गुजाराको मामिलामा धेरै कठिन मानिन्थ्यो। अन्य समयभन्दा वर्षको दुईपटक मन खुशी हुन्थ्यो–कात्तिक र चैतमा जतिखेर थोरै भएपनि घरमा अन्नपात उपलब्ध रहन्थ्योे।
    विगतमा धनाढ्यहरूबाट अति नै शोषित भएको कुरा पुरनियाहरू पीडाको रूपमा पोख्छन्। साहुले दश पसेरी (एक पसेरीको पाँच किलो) ऋण दिएर बीस पसेरी लेखेर कागजमा औंठाछाप गराउँथे रे। ऋण तिर्ने बेला दश पसेरीको डेढी दिंदा होइन बीस पसेरी दिएको हो भन्थे र सोको डेढी तिर्नुपर्छ भन्दै खाता पल्टाएर देखाउँथे। साहुको कुरा काट्यो भने उनीहरूका लठैतहरू हिर्काउन बेर लगाउँदैन थिए। बाध्य भएर साहुले भने जति नै तिर्नुपथ्र्यो। यसरी साहुबाट आम नागरिक ठगिन्थे र यसको प्रमुख कारण थियो–गरीबी र अशिक्षा। विगतका धनाढ्यका पुस्ताहरूको दबङ्ग प्रवृत्ति आजको परिपे्रक्ष्यमा कम भएपनि नयाँ–नयाँ स्वरूपमा आज पनि विद्यमान छ।
    देश र दुनियाँको प्रगतिसँगै विगतका ठगीधन्दा न्यून हुँदै परिवर्तितरूपमा नयाँ प्रकृतिको धन्दा उदीयमान छन्। एक दशकअघिसम्म कपाली कागज गरेर ऋण दिने प्रचलन थियो भने सोको ठाउँमा कानूनीरूपमा जग्गा नै पास गरी ऋण दिने/लिने प्रचलन हाल चलनचल्तीमा छ। यस प्रकृतिको धन्दामा पनि गरीब र अशिक्षितहरूलाई ठग्ने प्रवृत्ति पाइन्छ। ऋण लिनेले आफ्नो आवश्यकताको पूर्ति गर्ने सवालमा ऋण चुक्ता गर्नुपर्ने समयावधिलाई महत्व दिंदैनन्।
    समयसँगै विभिन्न कालखण्डमा शासकीय व्यवस्था परिवर्तन हुँदै पछिल्लोे परिवर्तनपश्चात् देश गणतान्त्रिक शासन व्यवस्थाको तीन तहको प्रणालीमा छ। देहातका अशिक्षित/निरक्षर अभिभावकमा बालबालिकालाई शिक्षित बनाउनुपर्छ भन्ने जागरूकताले शिक्षित युवाको सङ्ख्या देहातमा बढ्दो क्रममा छ। दुई/तीन दशकअघिसम्म देहातमा शिक्षित र जागीर गर्नेको सङ्ख्या न्यून थियो। तर वर्तमान समयमा सामान्य साक्षर अभिभावकका सन्तानहरूले लोकसेवामार्फत् नाम निकालेर सरकारी सेवामा गई देहातलाई गौरवान्वित बनाइरहेका युवाहरूको सङ्ख्या बढ्दो छ। स्वदेशमा अवसर नपाएको युवा जमात विदेशमा श्रम गर्न र पसिना बगाउन बाध्य छन्। समयसँगै देहातीजनको जीवनमा देखा परिरहेको सुधार र परिवर्तनमा राज्य पक्षको योगदान सन्तोषप्रद छैन। विगतको पञ्चायती व्यवस्था होस् वा प्रजातान्त्रिक व्यवस्था वा हालको शिशुकालीन गणतान्त्रिक व्यवस्था सामान्यजनको जीवन परिवर्तनमा आफ्नो पसिनाबाहेक शासकीय तन्त्रहरूको निगाहमा मतदाता र करदाताको हैसियतभन्दा माथि नरहेको देहातीजनको टीकाटिप्पणीलाई नकार्न सकिंदैन।
    प्राकृतिक आपदाको समयमा अन्नपातको जोहोमा सरकारतर्फ आशान्वित रहेको देहातीजनको हक मार्ने जस्ता ठगीयुक्त प्रवृत्ति भुइँचालो, हुण्डरी र कोरोनाकालमा छर्लङ्ग भइसकेको छ। गरीबको भोक र हकमाथि विगतमा पनि अत्याचार भएको थियो र आज परिवर्तितरूपमा पनि विद्यमान छ भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। अपवादबाहेक विगतको सत्ता होस् वा परिवर्तनपछिको सत्ता देहातलाई राजनीतिक रोटी सेक्ने उपक्रमभन्दा फरक आँखाले हेरेको पाइँदैन। देहातलाई लुट्ने कार्यमा विगतका ठगहरूको वंशानुगत निरन्तरता र नयाँ भ्रष्टहरूको उत्पत्तिले देहातको उन्नति ओरालोलाग्दो छ। जनतामा ललिपप बाँड्ने र सत्तामा वा सत्ताको सन्निकट रहेर राज्यको ढुकुटीमा रमाउने प्रवृत्ति समाप्त नहुन्जेलसम्म देहातको सुगन्ध अन्यत्र फैलिन सक्दैन। जनताको सबैभन्दा निकटको स्थानीय सरकार जनतामुखी नभएसम्म देहातीजन वेदनामुक्त हुनेछैनन्। देहात उर्वरभूमि हो र यसलाई जोगाउनुपर्छ भन्ने कुरा स्थानीय सरकारले बुझ्नुपर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्