विचरा वामदेव

0
44

– कुमार रुपाखेती
   कामसूत्रमा कामदेव, योगासनमा रामदेव र नेपालमा वामदेवको अप्ठेरो बेलामा चर्चा चलिरहन्छ। अहिले नेपालमा एकपटक पुनः जोडसोडले वामदेवको नाम गर्माएको छ। अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएपछि उनको उत्तराधिकारीको रूपमा वामदेवको नामले उछलकूद मचाएको छ। आफ्नैहरू पराइ भइदिनाले बिचरा वामदेव गौतमले २०७४ को चुनाव हारे। नेकपाको राजनीतिमा आन्तरिक उथलपुथल हुँदा यिनको नाम उचालिन्छ र कलह मत्थर हुनासाथ यिनी मच्चियो–मच्चियो थच्चियो साबित हुन्छन्। एमाले हुँदादेखि नै यिनलाई उत्तराधिकारी मात्र बनाइयो। यस्तै क्रियाकलापले आजित वामदेवले विगतमा एमाले टुक्र्याएर माले बनाए। अनि त्यतिखेर संसदीय निर्वाचनमा माले शून्य भयो। कुर्सीभक्त वामदेव पुनः एमालेमैं मिसिए। यिनी पटक–पटक गृहमन्त्रीसमेत बने। प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल र धु्रवबहादुर प्रधानबीच हानाथाप र विवाद गराउने नायक पनि वामदेव नै बने। पछिल्लो समय यिनी गृहमन्त्री हुँदा काठमाडौं उपत्यकाका प्रहरी वरिष्ठ उपरीक्षक रमेश खरेल सलामी ठोक्न नगएकोमा यिनी नाखुस थिए। गृहमन्त्री हुँदा सुन व्यापारीसँग यिनको राम्रो साइनो र हिमचिमसमेत गाँसिएको थियो रे। पदमा हुँदा कसैको नसुन्ने यिनलाई पदच्युत भएपछि कसैले टेरपुच्छर लाउँदैन रे।


    वामदेव कसैको रामभक्त हनुमान होइनन्। समय अनुसार यिनी ओली, प्रचण्ड र माधवको खेमामा चहारिरहन्छन्। आफूलाई ‘किङ्गमेकर’ भन्न रुचाउने वामदेवलाई धेरैले ‘जोकर’को संज्ञा दिने गर्दछन्। ओली, झलनाथ र माधव नेपाललाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउने श्रेय पनि यिनी आफैं लिन्छन्। आवश्यकता अनुसार ओली, प्रचण्ड र माधवहरूले यिनलाई ललिपप देखाएर उपयोग गर्छन् र रछानमा मिल्काइदिन्छन्। ओलीले त कहिले पार्टी उपाध्यक्ष त कहिले राष्ट्रियसभा त कहिले उपनिर्वाचनको चारा हालेर यिनलाई लाचार बनाएको देखिन्छ। खेमा परिवर्तन गर्दै भिक्षाम देही भन्दा समेत यिनको झोलीमा कसैले भिक्षादान गरेनन्। माओवादी एमालेमा मिसिएपछि केही समय वामदेवको नाम सेलायो। आफ्नो नाम सेलाउन थालेपछि यिनी खेमा परिवर्तन गर्दै प्रचण्ड, माधवको पिठ्यूँ बने। तर खेमा परिवर्तनले कुनै लछारपाटो नलागेपछि यिनी ओलीभक्त बने। अहिले युवराज खतिवडाको उत्तराधिकारीमा गणना हुन थालेपछि यिनी उत्साहित भएर पूरक बजेटको तयारीमा व्यस्त छन् रे। तर भनिन्छ, ‘न नौ मन तेल होई न राधा नाची।’ २०५४ सालको स्थानीय निर्वाचनमा यिनी गृहमन्त्री थिए र निर्वाचनमा मनोमानी गरेको आरोप पनि थियो। स्मरणीय छ, २०५४ को स्थानीय निर्वाचनमा एमालेले सबैभन्दा बढी नगरपालिकामा जितेको थियो। त्यतिखेर नै यिनले साम, दाम, दण्ड, भेद प्रयोग गरेर बल्खुमा निश्शुल्क एमालेको भव्य केन्द्रीय कार्यालय भवन ठड्याइदिए। अस्ति एउटा कार्यक्रममा यिनले आफूलाई जोकर साबित गर्दै आफू प्रधानमन्त्री बन्न पाए देशको कायापलट गरिदिने घोषणासमेत गरे। तर प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति प्रधानमन्त्री बन्न कानूनी छेकबार छ भनी यिनलाई कसले बताउने ? एकपकट त ओलीले यिनलाई प्रयोग गर्न पार्टी अध्यक्ष बनाउनेसमेत लोभ देखाए। पद देखायो कि लोभिने वामदेवको ठूलो कमजोरी हो रे। कुनै बेला उपनिर्वाचन गराएर यिनलाई संसद्मा हुल्नेसमेत चर्चा चल्यो।
    वामदेवका लागि सिट खाली गर्न तयार ललितपुरका सांसद राम मानन्धरलाई ओलीले राज्यमन्त्रीको बिल्ला भिराएर यो किस्सा यही समाप्त पारिदिए। भनिन्छ, नेकपामा पराजित भएर पनि मन्त्री बन्न चाहने वामदेव गौतम र नारायणकाजी श्रेष्ठहरू हुन् रे। वामदेवलाई त केहीले हरफनमौला नेता पनि भन्छन्। कुनै बखत पार्टी अध्यक्ष निर्वाचनमा ओलीसँग पराजित माधव नेपालको ओलीविरुद्धको सबै दाउपेंच असफल हुनुमा पहिले वामदेव र अहिले प्रचण्ड खलनायक बनेको पनि चर्चा छ। भनिन्छ, वामदेवमा धैर्यता छैन रे। त्यसैले त यिनी कहिले पार्टी फोर्छन्, घरीघरी खेमा परिवर्तन गर्छन् र पराजित भएर पनि मन्त्री पद ताक्छन्। झर्ला र खाउँला भन्ने आसैआसमा बिचराले आफ्नो निर्वाचन क्षेत्रमा पाइला टेक्नै छाडिसके।
    भनिन्छ, पछिल्लोपटक ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पद जोगाउन वामदेवको रणनीतिले कमाल गरेको थियो रे। अनि यै वफादारीबाट प्रभावित ओलीले वामदेवलाई अर्थमन्त्रीको कुर्सीमा मुख मिठ्याएर बस्न आश्वासन दिएका छन् रे। आश्वासन तोड्न खपिस ओलीसँग उनले उपप्रधानसहितको अर्थमन्त्री पाउन अपीलसमेत गर्न भ्याइसकेका छन् रे।
    ओलीझैं वामदेव पनि शिक्षादीक्षामा कमजोर नेता मानिन्छन्। कामको सिलसिलामा धेरै वर्ष भारतमा भौंतारिएर नेपाल छिरेर नेता बन्ने सौभाग्य पाउनेमा वामदेव पनि एक हुन्। बाबुराम जस्ता गिनाचुना नामबाहेक नेपालका अधिकांश नेता ‘लिख लोरा पढ पत्थर’ नै छन्। काङ्ग्रेस र एमालेमा अधिकांश सांसद बल्लतल्ल कलेज, क्याम्पसको दर्शन पाएका र मधेसवादी दलमा अधिकांश विद्यालय तहकाहरू नेता बनेका देखिन्छन्। यसमध्ये पनि थुप्रैका शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट प्राप्त भएको बुझिन्छ। तर जेसुकै होस्, पद र कुर्सीका लागि पैतरा बाँध्न खपिस वामदेवको तालुमा (ऐसा वैसा कुनै विघ्न बाधा नआए) यसपालि आलु फल्ने पक्कापक्की छ। तर ओली एक्लैले गरेर वामदेवले पार नपाउनेसमेत प्रस्ट देखिन थालेकोले कतै भोलि बिचरा वामदेव भन्ने अवस्था नआओस्। अब बिचरा भनेको गदाहा नबुझ्नु होला। धोबीको कुकुर पो घरको न घाटको हुन्छ, बिचरा वामदेव त नेकपामा नाम कहलिएका हस्ती हुन् भाइ। अस्तु।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्