वाङ्मय संरक्षणमा पालिकाहरू उदासीन

0
44

प्रस, गरुडा, ३० भदौ/
    वाङ्मय संरक्षण, संवद्र्धन तथा विकासमा पालिकाहरू उदासीन रहेको देखिएको छ। स्थानीयताको पहिचानको आधारको रूपमा रहेको स्थानीय वाङ्मयको संरक्षण, संवद्र्धन तथा विकासमा पहिचानवादीहरू पनि उदासीन रहेको देखिएको छ।
    भाषा र संस्कृतिलाई पहिचानको आधार मानेर वाङ्मयको क्षेत्रमा पहिचान खोजेका दलको नेतृत्व रहेका पालिकाहरूमा पनि वाङ्मय संरक्षणको पक्ष कमजोर रहेको पाइएको छ।
    स्थानीय भाषा, साहित्य र संस्कृतिको संरक्षणको लागि कतिपय पालिकाले पालिकासभाबाट ऐन पारित गरे पनि कार्यान्वयनमा ल्याउन सकेका छैनन्। प्रदेश २ का कुनै पनि पालिकामा वाङ्मय संरक्षणको लागि प्रतिष्ठान गठन हुन नसकेबाट वाङ्मयप्रति स्थानीय तहहरू उदासीन रहेको प्रमाणित भएको हो।
    गत वर्ष पर्साको वीरगंज महानगरपालिकाले भोजपुरी प्रतिष्ठान ऐन पारित गरेको थियो तर प्रतिष्ठान गठन हुन सकेको छैन। प्रतिष्ठान गठनतर्फ खासै पहल हुन नसकेको अवस्थामा कोरोनाको कारणले अझ पछाडि धकेलिएको छ।
    बाराको महागढीमाई नगरपालिकाले भोजपुरी बौद्धिक समाजलाई बर्सेनि दुई लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ तर प्रतिष्ठान गठनतर्फ खासै चासो देखाएको छैन। भोजपुरी बौद्धिक समाजले भने बर्सेनि भोजपुरी स्रष्टालाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ।
    रौतहटको गरुडा नगरपालिकाले बज्जिका भाषाको विकासमा थोरै लगानी गर्दै आएको छ तर वाङ्मय प्रतिष्ठानको लागि कुनै पहल गरेको पाइँदैन। बज्जिका साहित्य सङ्गम रौतहटमार्फत् भाषा र साहित्यको क्षेत्रमा अलिकति लगानी गरेको सङ्गमका अध्यक्ष श्याम सहनी चन्द्रांशुले बताएका छन्।
    सर्लाहीको लालबन्दी नगरपालिकाले केही महीना पहिले लालबन्दी वाङ्मय परिषद् गठन गर्ने ऐन नगरसभाबाट पारित गरेको छ। निरन्तरको निषेधाज्ञा र लकडाउनले गर्दा प्राज्ञसभा र परिषद् गठनको प्रक्रिया अवरुद्ध भएको ऐन निर्माणमा सक्रिय साहित्यकार सुमन घिमिरे अग्रिमले जानकारी गराएका छन्।
    नगर उपप्रमुख शान्ति लामा आफैं पनि साहित्यकार भएका हुनाले वाङ्मय परिषद् ऐन पारित गराउन सजिलो भएको गोलसिमल साहित्यिक मासिक पत्रिका लालबन्दीका प्रकाशक तथा सम्पादक अच्युत अधिकारीको भनाइ छ। परिषद् गठन गर्न वर्तमान कोरोनाबाहेक अन्य कुनै समस्या नभएको र केही दिनमैं परिषद् गठनका साथै केही पुरस्कार स्थापनाको घोषणा पनि हुने अधिकारीको भनाइ छ।
    आधाभन्दा बढी कार्यकाल सकिए पनि प्रदेशमा पालिकास्तरीय वाङ्मयको छुट्टै संस्था एउटा पनि गठन नहुनु समग्र वाङ्मयप्रतिको उदासीनता भएको भाषासेवी तथा साहित्यकार सञ्जय सुदामाको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्