अभावले अवसाद

108

    बितेको शनिवार मध्यपुर ठिमी, भक्तपुरमा एउटा परिवार नै सखाप भयो। चारतले घरधनी सुदीप अधिकारीले आफ्नो छोरा, पत्नी र पालेको कुकुरको समेत हत्या गरेर आफूले आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ। कारण थियो– लकडाउन, निषेधाज्ञा र रोजगारको अभाव। बन्दाबन्दीको कारण कम्पनीले काम दिएन, आफूले चलाएको किरानापसल बन्द गर्नुप–यो। घर बनाउँदा र पसलमा लगानी गरेको रकमको लागि साहुहरूबाट दिनहुँ ताकेता शुरू भयो भने पत्नी र छोराको आवश्यकता निषेधाज्ञामा झन् बढ्न थाल्यो। त्यसैले घर झगडाको बीजारोपण गर्दै मानसिक तनावमा पुगेका अधिकारीले आफूसहित परिवारै नाश गरे। वीरगंज महानगरपालिका–३१ निवासी सतन माझीले घरको चुलो निभेपछि आत्महत्या गरे। दिनहँु ज्याला मजदूरी गर्दै परिवारको भरणपोषण गरिरहेका माझी लकडाउनदेखि बेरोजगारी भई बस्नुपर्दा कैयौं दिन आफूसहित लालाबाला भोकै बस्नुपरेको थियो। त्यसैगरी, वीरगंज–१२ का ३५ वर्षीय मुस्तफा अन्सारी पासो लगाउँदै गरेको अवस्थामा ९ वर्षीया छोरीले देखेपछि छिमेकीले उद्धार गरी ज्यान बचाएका थिए। सिलाइकटाइ सीप, ट्याम्पो चलाउने काम जानेका र चियापसलसमेत सञ्चालन गरेका अन्सारीका परिवार कैयौं दिन भोकै सुतेको थियो। अबोध लालाबाला भोकै मर्नुभन्दा पहिले आफैं मर्ने उनले निर्णय गरेका थिए। लामो समयको लकडाउन र निषेधाज्ञाको कारण उनको सीप, जाँगर र पसल बन्द रहेपछि उनले कुनै विकल्प देखेनन्।
    “मानिस जब कुनै एउटा विषयमा लगातार दुई घण्टाभन्दा बढी सोच्न थाल्छ, तब ऊ अवसाद (डिप्रेशन)को शिकार बन्ने सम्भावना बढी हुन्छ,” मनोचिकित्सा विज्ञानले भनेको छ। त्यसैगरी, २४ घण्टामा २४ मिनेट पनि दिल खोलेर हाँस्न नसक्ने वा खुशी रहन नसक्ने व्यक्तिमा अवसाद निश्चित छ। अवसाद एउटा मनोरोग हो, यो रोग लागेपछि व्यक्तिले सारा संसारमा आफूलाई एक्लो, बेसहारा महसूस गर्छ र विनाशको बाटो मात्रै रोज्छ। माथि उल्लिखित घटनाहरू कोरोना महामारीको वर्तमान हाम्रो समाजका प्रतिनिधि पात्र मात्रै हुन्। सम्पन्न हुन् या विपन्न, घर भएका हुन् या बेघर हरेक परिवारमा अवसाद प्रवेश गर्दैछ। जो बेरोजगारी छ, बिहान–बेलुका चुलो बाल्न धौधौ छ, रोगले सताएको छ, साहुको ऋणको ब्याजले थिचेको छ, उनीहरू हाँस्न र रमाउन छाडेका छन्। दुई घण्टा होइन कि उनीहरू २४सैं घण्टा एउटै तनावमा छन्।
    यही अवस्था रहने हो भने आत्महत्याको क्रम घट्ने होइन बढ्ने देखिन्छ। तसर्थ यसको नियन्त्रण राज्य र समाजको पहिलो अभियान बन्नुपर्छ। तीनै तहका सरकारले महलदेखि झुपडीसम्म, सम्पन्नदेखि विपन्नसम्म एवं साक्षरदेखि निरक्षरसम्म पुग्ने गरी र सबैले बुझ्ने गरी ‘आत्महत्या निकास होइन’ भन्ने मनोपरामर्श दिने साथै अभावमा बाँच्ने कलाबारे सिकाउनुपर्छ। चुलो बल्न छाडेका परिवारलाई तुरुन्त गाँस र ऋणले थिचेका परिवारलाई ब्याजको त्रासबाट मुक्त गरिदिनु जरुरी छ। लकडाउन र निषेधाज्ञाभन्दा पनि स्वास्थ्य मापदण्डलाई कडाइ गरी जनजीवनलाई चलायमान हुन दिनुपर्छ। नागरिकलाई रोजगारविहीन बनाएर घरभित्रै बन्द गर्दा भोक त छँदैछ, भोको शरीरमा रोग पनि निश्चित छ। आधा पेट वा भोको शरीरमा कोरोना जित्ने प्रतिरक्षा प्रणाली विकास हुन सक्दैन। त्यसैले जहाँ अभाव छ, त्यहाँ कोरोना आउने नै भयो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्