खोलाबाट ढुङ्गा चोरी नियन्त्रण गर्न स्थानीय तह मौन

0
37


जीतलाल श्रेष्ठ, निजगढ, २९ भदौ/
    निजगढ नगरपालिका भएर बग्ने बकैया, धन्सर खोलाबाट हुने नदीजन्य पदार्थ उत्खनन नियन्त्रण गर्न स्थानीय तहले कुनै चासो देखाएको छैन।
    कुनै पनि बहानामा खोलामा पस्न निषेध गरिएको असार, साउन र भदौ महीनामा स्थानीय ढुङ्गा चोर तस्कर
गिरोहले दिउँसो र राति ट्याक्टर प्रयोग गर्दै खोलाबाट ढुङ्गा चोरी–तस्करी गरिरहँदासम्म स्थानीय तह निजगढ नगरपालिकाका वडाहरू १, ४ र ९ लगायत निजगढ नगरपालिकासमेत मौन बस्ने गरेका छन्। स्थानीय तहलाई नियन्त्रणसहित कारबाही गर्ने कानूनी आधार प्रशस्त भएपनि कारबाही हुने गरेको छैन। बेलैमा ढुङ्गा जफत गरी दोषीलाई कानूनी दायरामा ल्याउन चासो नराख्दा उनीहरूकै संरक्षणमा ढुङ्गा चोरी तस्करी भइरहेको देखिन्छ।
    वडा नं १ मा धन्सर खोला र वडा नं ४ मा बकैया खोला पर्छ। खोला खुल्न तीन दिन बाँकी रहँदासम्म नदी दोहन हुन छोडेको छैन। स्थानीय ट्याक्टरहरू खोलामा ढुङ्गा चोर्न तँछाडमछाड गरिरहेका छन्। हामी त्यस स्थानमा पुग्दा र ती दृश्य क्यामेरामा कैद गर्न थालेसँगै कतिपय ट्याक्टर भगाउँदै झाडीमा लुकाउने र घर फर्काउन भागाभाग गरेका थिए।
    केही तस्कर नाइकेहरू ट्याक्टर भगाउन सूचना प्रवाह गर्न व्यस्त थिए। स्थानीय तहको बेवास्तासँगै प्रहरी, प्रशासनको निरीहताका कारण पनि ढुङ्गा तस्करहरूको मनोबल बढेको देखिन्छ। यस्ता अवैध कार्य रोक्न पछिल्लोपटक नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत चासो राखेका छैनन्। कहिलेकाहीं प्रहरीले  नियन्त्रणमा लिई जरिवाना गर्न स्थानीय तह निजगढ नगरपालिकामा बुझाए पनि न्यून जरिवाना तिराइ छाडिने गरिएको छ।
    यसरी चोरी–तस्करी गरी ल्याइएका ढुङ्गा निजगढकै क्रसर उद्योगलगायत सिमरा, जीतपुर, कलैया, वीरगंज लग्ने गरिएको छ। लामो समयदेखि अवैध सञ्चालन हुँदै आएका निजगढका क्रसर उद्योगका कारण पनि ढुङ्गा चोरी–तस्करी बढेको हो। अन्य समयमा प्रतिट्याक्टर १२/१५ सयमा बिक्री हुने ढुङ्गा बन्दको समयमा २५ सयदेखि ३५ सयसम्ममा बिक्री हुने गरेको छ। यसरी चोरी गरी अवैधरूपमा सङ्कलन गरिएको ढुङ्गा निजगढ नगरपालिकाले जफत गर्नुपर्ने देखिन्छ। तर स्थानीय तह यस विषयमा मौन बस्नुले यस्ता अवैध कार्यलाई प्रोत्साहन गरेको प्रस्ट हुन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्