जलेश्वरका प्रमुखविरुद्ध जिल्ला प्रशासनमा ज्ञापन

80

प्रस, महोत्तरी, २८ भदौ/
    महोत्तरीको जलेश्वर नगरपालिकामा भ्रष्टाचार भएको र सूचना नदिएको भन्दै नगरका बासिन्दाहरूको एक समूहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। स्थानीय मोहन भगतलगायतका समूहले नगरप्रमुख रामाशङ्कर मिश्रको नामै किटानी गरेर उनीविरुद्ध आइतवार प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई ज्ञापनपत्र बुझाएको हो।
    सङ्घीय सरकार, प्रदेश सरकार र अन्य दातृ निकायको अनुदान सहयोगको हिसाबकिताब पारदर्शी नभएको, स्थानीय कर तथा नगरको आन्तरिक स्रोतको व्यापक दुरुपयोग गरेको आरोप लगाउँदै ज्ञापनपत्रमा पारदर्शिता र कारबाईको माग गरिएको छ।
    विभिन्न १७ वटा माग उल्लेख गरी बुझाइएको ज्ञापनपत्रमा कोरोना महामारीको राहत वितरण, बाढी एवं दैवी प्रकोप पीडितहरूलाई प्रदान गरिएको राहत वितरण कार्यमा अनियमितता भएको, नगरले कर्मचारी भर्ना गर्दा विधिविधान मिचेको,  योजना सञ्चालन तथा विनियोजनमा पक्षपात भएको आरोप लगाइएका छन्।
    नगरप्रमुख मिश्रमाथि विद्युतीय टावर जडानमा कमसल सामान प्रयोग गरी व्यापक अनियमितता गरेको पनि आरोप लगाइएको छ। एक महीनाभित्र आफूहरूको माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने असन्तुष्ट नगरवासीले चेतावनी दिएका छन्।
    यस सम्बन्धमा नगरप्रमुख मिश्रले नगरपालिकासँग सम्बन्धित हिसाबकिताब, तथ्याङ्क र जानकारी जिल्ला प्रशासन कार्यालयमा गएर मागिएको भन्दै आपत्ति जनाएका छन्।
    नगरवासीको तर्फबाट दिइएको ज्ञापनपत्रको प्रक्रिया नै गलत भएको उनको जिकिर छ। नगरप्रमुख मिश्रले नगरवासीलाई चाहिने तथ्याङ्क माग गर्न आए पालिकाले सहजरूपमा उपलब्ध गराउने बताए। नागरिकले सूचनाको हक प्रयोग गरी जानकारी दिन सक्ने भन्दै उनले आफ्नोतर्फबाट कुनै पनि अनियमितता वा भ्रष्टाचार नभएको जिकिर गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्