घुमिफिरी रुम्जाटार

113

    अहिले समय नै कोरोनाको छ। कोरोनाको विभिन्न पक्ष्Fमा विश्वभरि एकपछि अर्को बहस उत्पन्न हुने गरेको छ। सर्वाधिक बहस–कोरोनाबाट मर्ने डर कि कोरोनाजन्य विषमतासँग मर्ने डरमध्ये एकको चुनाव गर्ने विषयमा हो। कोरोनाले सबै ढोका खुला राखेको छ। लापरवाह भएर भीडभाड बढाउँछौं भने म हावी हुन्छु। थला पार्छु, सके मार्छु। डराएर घरमा कति दिन लुक्छौ। काम छैन भने पैसा कमाउन पाउँदैनौ, भोक लाग्छ अनि के गर्छौ ? कि अरूलाई मार्छौ कि आफैं मर्छौ। परिस्थितिबाट हरेस खाएर धेरै मानिसले आफूलाई मारिसकेका छन्स आत्महत्या गरिसकेका छन्। जो मरेका छन्, तिनको परिवारको तत्काल बिजोग भएको छ, जो बाँचेका छन्, तिनको परिवार, समाज र राष्ट्रको भोलि बिजोग हुने निश्चित छ। किनकि लामो समय घरमैं लुक्दा उत्पादनका सबै साधन निष्क्रिय बनेका छन्। गरिखानेले काम पाएको छैन, हुनेखानेले जीवनरक्ष्Fक सामग्री पाएको छैन। दुवैथरी भोकले मर्ने अवस्था छ। कोरोनाजन्य मृत्युकै हाराहारीमा अन्य कारणले मानिस मरेका छन्, घटना–दुर्घटनाबाहेक पनि।
    यस्तै बेला राजधानी शहरमा एउटा बीभत्स घटना भएको छ। एकजनाले आफ्नी पत्नी र किशोर छोराको हत्या गरेर, केही दिनपछि आफूले पनि आत्महत्या गरेका छन्। कारण अहिले ज्ञात छैन, तर यस्तोमा घर थुनिनुको परिणामलाई निष्कर्ष मानिने भएकोले देशमा अहिलेसम्म कोरोनाबाट ३३६ जनाको मृत्युले मुटु जति पोलेको थिएन, यो तीनवटा मृत्युले पोलेको छ। कोरोनाबाट अहिलेसम्म मर्नेमा दीर्घरोगीहरूको बाहुल्य छ। पाका उमेरका असाध्य रोग लागेका मानिसलाई यस महामारीले ठहरै पार्ने गरेको छ। कुरा यस्तो पनि छैन कि जो यस महामारीबाट सङ्क्रमित भयो छ, ऊ मर्छ नै। नेपालमा सङ्क्रमित भएकामध्ये ०.६३ प्रतिशतको मात्र मृत्यु भएको छ। त्यसमा पनि धेरै व्यक्ति मुटुरोगी, मधुमेह, क्यान्सर, मिर्गौला रोगबाट ग्रस्त थिए। भनेपछि कोरोना त्यति भयावह छैन, जति यसको त्रासजन्य परिस्थिति भयावह देखिएको छ। यी सब तथ्याङ्कलाई मध्यनजर राख्दा यो बहस चर्को स्वरमा उठाउनुपर्ने भएको छ कि कोरोनाबाट मर्ने र कोरोनाजन्य सामाजिक विषमतासँग मर्ने डरमध्ये कसको चुनाव गर्ने ? निश्चय नै कोरोना त्यति भयावह छैन, जति यससँग डराउँदा उत्पन्न हुने परिस्थिति बनेको छ।
    तर घुमिफिरी रुम्जाटार भनेजस्तै नेपाल सरकार त उही ढिपीमा बसेको छ, लकडाउन–निषेधाज्ञा। सरकारको यो ढिपी अस्वाभाविक पनि लाग्दैन। किनकि आफूलाई जतिसुकै शक्तिशाली किन नठानोस् वर्तमान सरकारको हविगत महाभारत युद्धमा बर्बरिकजस्तै छ। एउटा अदम्य साहसी र अविजेय योद्धा–जसको टाउको काटेर डाँडाको टाकुरामा राखिदिइएको छ, जसले देख्न मात्र सक्छ, गर्न केही सक्दैन। मानिस आजसम्म जस्तोसुकै विपरीत परिस्थितिको सामना गर्दै आफ्नो अस्तित्व कायम राख्न सफल भएको छ। किनकि उसमा परिस्थिति अनुकूल आफूलाई परिवर्तन गर्ने विवेक विद्यमान छ। तर विवेक हुँदैमा परिस्थिति अनुकूल बन्दैन। अनुकूल बनाउन प्रयास गर्नुपर्छ। विपरीत परिस्थितिमा कुन हानि स्यानो छ, त्यसको चुनाव गर्दा आरोपको पात्र बनिंदैन। कोरोनाबाट मानिस नमरून् मात्र होइन, अन्य कारणले पनि नमरून् भन्ने सरकारले ध्येय राख्नुपर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्