डेढ महीनापछि वीरगंज पूर्ण खुला

139

प्रस, वीरगंज, २६ भदौ/
    निषेधाज्ञाको डेढ महीनापछि शुक्रवारदेखि वीरगंज बजार पूर्णरूपमा खुलेको छ।
    निषेधाज्ञाको पचासौं दिन भदौ १९ गतेदेखि मात्र प्रशासनले वीरगंजमा आलोपालो पसल सञ्चालनको इजाजत दिएको थियो। बिहान ११ देखि ४ बजेसम्म आलोपालो पसल सञ्चालन हुँदै आएकोमा आजदेखि निषेध गरिएका पसल, व्यवसायबाहेक सबै पसल, व्यवसाय सञ्चालनमा आएका छन्। सैलुन, ब्युटिपार्लर, होटल, जिमखाना, सिनेमाघरलगायतका व्यवसाय सञ्चालनमा रोक लगाइएको छ।
    तरकारी तथा फलफूल वीरगंज महानगरभरिका लागि बिहान ५ देखि ८ बजेसम्म घण्टाघरनजीक रेलवे सडकमा मात्र सञ्चालन गर्न दिइएको छ। जसले गर्दा तरकारी तथा फलफूलको अवैध बिक्री वितरण बढेको छ। दिनभरिजसो वीरगंजका टोलटोलमा तरकारी, फलफूल बिक्री भइरहेका छन्। 
    यसैगरी, सवारीसाधनको प्रयोगमा पनि निषेध गरिएकोमा पसल, व्यवसाय खुलेसँगै भदौ १९ गतेदेखि नै मोटरसाइकल, जीप, कार, भ्यान, ईरिक्शा, टेम्पो, मिनी ट्रक सञ्चालनमा आएका छन्। घण्टाघर क्षेत्रमा प्रहरी, ट्राफिकले सवारीसाधनको प्रयोगमा नियन्त्रण गरेको छ। शुक्रवारदेखि सबैखाले पसल, व्यवसाय सञ्चालनमा आएपछि सवारीसाधनको चाप झनै बढेको छ। यसअघि थोरै सङ्ख्यामा सञ्चालित सवारीसाधनहरू आजदेखि ठूलो सङ्ख्यामा सञ्चालनमा आएका छन्। घण्टाघरमा प्रहरीले ईरिक्शा, टेम्पो, भाडाका जीप, कार, भ्यानलाई नियन्त्रणमा लिएको छ।
 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्