नेपालमा कृषि मल सङ्कटः समाधानका उपाय

161

-विश्वराज अधिकारी

नेपालमा हरेक वर्ष बाली लगाउने र हुक्र्याउने बेलामा कृषि मलको ठूलो अभाव हुन्छ । मल प्राप्त गर्न कृषकहरूले अनेक समस्याको सामना गर्नुपर्दछ । एक किसिमको युद्ध नै गर्नुपर्छ । यो नौलो कुरा होइन । यसमा आश्चर्य मान्नुपर्ने कारण पनि देखिंदैन । तर आश्चर्य के कुरामा मान्नुपर्दछ छ भने दशकौं बितिसक्ता पनि हामी आपैंmले कृषि मल उत्पादन गर्न सकेका छैनौं । नेपालमा ठूलो परिणाममा मल खपत हुने गरे तापनि आवश्यक मल विदेशबाट आयात गरिरहेका छौं । मल खरीदमा प्रत्येक वर्ष ठूलो रकम बाहिर पठाइरहेका छौं । विदेशमा पसिना बगाएर कमाएको पैसाको ठूलो भाग मल खरीदमा अर्को देश पठाइरहेका छौं । मल विक्रेता देशलाई राम्रो आम्दानी गराइरहेका छौं । यो एक किसिमको बृहत् राष्ट्रिय चुहावट त हो नै, हाम्रो ठूलो गैरजिम्मेवारीपन हो, लज्जाबोध हुनुपर्ने विषय हो ।
कृषि मल अर्ध वा पूर्ण विलासी वस्तु होइन । यो अत्यावश्यक वस्तु हो । कृषिमा आश्रित नेपालको लागि मल अत्यावश्यक वस्तुहरूमध्ये एउटा हो । मलको अभावमा कृषकहरू आफ्नो लगानी (बाली)को उचित प्रतिफल पाउन सक्तैनन् भने राष्ट्रले ठूलो आर्थिक क्षति बेहोर्नुपर्दछ । अर्कोतिर राष्ट्रलाई आवश्यक पर्ने परिमाणमा खाद्यान्न उत्पादन गर्न सकिन्न । किनकि हाम्रो खाद्य पदार्थ दालभात, तरकारी यही कृषि मलको आपूर्तिसँग जोडिएको छ ।
कृषि मल राष्ट्रको लागि यति अत्यावश्यक वस्तु हुँदाहुँदै पनि यसको उत्पादन स्वदेशमा हुन नसक्नु आपैंmमा अनौठो कुरा हो । हाम्रो लाछीपन हो । नेपालमा प्रजातन्त्रको पुनस्र्थापना २०४७ सालमा भएपछि धेरै व्यक्ति अर्थ र कृषि मन्त्री भए । कुनै पनि अर्थ वा कृषि मन्त्रीले नेपालमा नै कृषि मल उत्पादन गर्ने पहल नगर्नु अर्को ठूलो अनौठो कुरा हो । यस्तो हुनुको मुख्य कारण नेताहरूको ध्यान शक्ति र सत्तामा मात्र केन्द्रित हुनु हो । दलगत स्वार्थमा लीन हुनु हो । नेताहरूलाई विकासको लागि जिम्मेवार बनाउन नसक्नु जनताको पनि कमजोरी हो । यस आरोपबाट जनता पनि उन्मुक्ति पाउन सक्दैन ।

पञ्चायतकालमा स्वदेशमा नै कृषि मल उत्पादन गर्ने विषयलाई महत्व नदिइए तापनि कृषकहरूले सहजै आयातित मल प्राप्त गर्न सकून् भनेर ‘कृषि सामग्री संस्थान’को स्थापना गरिएको थियो । नेपालका अनेक भागमा छरिएर रहेका कृषि सामग्री संस्थानका शाखा कार्यालयहरूले कृषकहरूको माग अनुसार मल आपूर्ति गर्ने कार्य गरेका थिए । खासगरी तराईका जिल्लाहरूमा यो संस्थानले प्रभावकारी किसिमले कृषकहरूलाई कृषि मल उपलब्ध गराएको थियो । अति निर्धन कृषकहरूलाई सस्तो र सहज किसिमले यो संस्थानले मल उपलब्ध गराउन नसके तापनि मध्यम र उच्च आय भएका कृषकहरूलाई भने सरल किसिमले कृषि मल उपलब्ध गराउन सकेको थियो । र परिणामस्वरूप नेपालका कृषकहरू प्रभावकारी किसिमले खाद्यान्न उत्पादन गर्न सफल भएका थिए । यो कालमा नेपाल चामलका लागि आत्मनिर्भर हुन पुगेको थियो भने तराईका कृषकहरूले ठूलो परिमाणमा धान उत्पादन गर्न सकेकाले भारत, बङ्गलादेश, मरिससजस्ता मुलुकहरूमा चामल निर्यात हुन सकेको थियो । यही कालमा धानको उत्पादन ठूलो परिमाणमा भएकोले नेपालमा पहिलोपटक ‘धान चामल निर्यात कम्पनी’ स्थापना भएको थियो । यो काललाई नेपालको कृषिजगत्मा ‘स्वर्णकाल’को रूपमा लिन सकिन्छ ।
नेपालमैं मल किन उत्पादन गर्ने ?

अहिले पनि नेपालको कृषि क्षेत्रले बहुसङ्ख्यक व्यक्तिलाई रोजगार दिएको छ । बहुसङ्ख्यक व्यक्तिले बाँच्ने अत्यावश्यक खाद्यान्न यसै क्षेत्रबाट प्राप्त गर्छ । राष्ट्रिय उद्योगको स्थिति लाभदायी नभएकोले कृषिमाथिको राष्ट्रिय निर्भरता झनै बढेर गएको छ । यस्तो विषम परिस्थितिमा कृषि क्षेत्रको बेवास्ता गर्न मिल्दैन । कृषि मल नेपालमैं उत्पादन गर्ने विषयमा गम्भीर बन्नुपर्छ । यो केवल सरकारको चासोको विषय नभएको हुनाले जनसामान्यले पनि यसलाई विशेष महŒवका साथ लिनुपर्दछ ।
नेपालमा ठूलो परिमाणमा कृषि मलको खपत हुने भएकोले नेपाललाई कृषि मलको अति लाभदायक, भरपर्दो र सङ्गठित बजारको रूपमा लिनुपर्दछ । बर्सेनि ठूलो परिमाणमा अनेक मुलुकबाट मल आयात गर्नुको साटो स्वदेशमैं उत्पादन गर्नुपर्छ । हामी आफैंले मल उत्पादन नगर्नु व्यापारको ठूलो अवसर गुमाउनु हो । ठूलो लाभ प्राप्त गर्न नसक्नु हो । राष्ट्रिय व्यापारबाट राम्रो आम्दानी गर्न नसक्नु हो । देशभित्रै व्यापारका अनेक अवसर हुँदाहुँदै पनि व्यापार नगर्नु हो । देशभित्र रोजगार सृजना नगरेर रोजगारका लागि विदेशतिर धाउनु हो ।
हामीकहाँ व्यापारका अनेक अवसर छन् । तर हामीमा अवसर पहिचान गर्ने क्षमताको अभाव, बौद्धिक क्षमताको कमी, अल्छीपन वा परनिर्भरताजस्ता कमजोरी छन् । जसले हामीलाई देशभित्र उपलब्ध अवसरहरूको लाभदायक र प्रभावकारी ढङ्गले उपयोग गर्न दिइरहेका छैनन् । देशभित्र प्राप्त अवसरहरूको बेवास्ता गरेर अवसर खोज्न हामी विदेश धाइरहेका छौं । यो हाम्रो ठूलो कमजोरी हो । राष्ट्रको आर्थिक विकासको प्रमुख बाधक तत्व हो । उदाहरणका लागि हामी प्रत्येक वर्ष लाखौंको सङ्ख्यामा भारतबाट बस, ट्रक, कार, जीप, ट्याक्टर, पावर टिलर, मोटरसाइल खरीद गर्छौं तर ती वस्तु देशभित्र उत्पादन गर्दैनौं । ती सामान खरीद गर्न राष्ट्रिय ढुकुटीबाट ठूलो धनराशि खर्च गरेर भारतीय व्यापारीहरूलाई धनी तुल्याउँछौं । स्वदेशलाई गरीबीकै अवस्थामा राख्छौं । यसरी कहीं देशको आर्थिक विकास हुन्छ ?
नेपालमा निम्न तीन किसिमबाट कृषि मल उत्पादन गर्न सकिन्छ । यस्तो गरेर कृषकहरूलाई सहज मल आपूर्ति गर्न त सकिन्छ नै, ठूलो परिमाणमा आयात नगरेर राष्ट्रिय व्यापार घाटा पनि कम पार्न सकिन्छ ।
पहिलो तरीका
नेपालमा सहकारी अवधारणा अनुरूप कृषि मल उत्पादन गर्ने कारखाना स्थापना देशभित्रै गर्न सकिन्छ । मल कारखानाको स्वामी सामान्य कृषकलाई बनाएर, उनीहरूकै लगानी, व्यवस्थापन एवं नियन्त्रणमा नेपालमैं ठूलो परिमाणमा कृषि मल उत्पादन गर्न सकिन्छ । यसैगरी देशका विभिन्न गाउँपालिकाहरूमा पनि सानो स्तरमा प्रभावकारी किसिमले मल उत्पादन गर्न सकिन्छ । यस किसिमका उत्पादन क्रियाकलापमा साना कृषकहरूलाई सहभागी गराउनु लाभदायक पनि हुन्छ । सरकारले बर्सेनि कृषकहरूलाई मल खरीदमा दिने अनुदान रकम यस किसिमको मल कारखानाको स्थापनामा खर्च गर्न सक्छ । यस किसमको मल कारखानाको स्थापनामा जिल्ला स्तरीय नेताहरूले पहल गर्नु उपयुक्त हुन्छ ।
दोस्रो तरीका
नेपालका ठूल्ठूला व्यापार गृह–चौधरी ग्रुप, दुग्गड, गोल्छा, खेतान, ज्योति समूह, कान्तिपुर प्रकाशन आदिले ठूलो लगानीमा नेपालमा कृषि मल उत्पादन गर्न सक्ने पर्याप्त अवसर छ । यी व्यापार गृहहरूले स्वदेशमा मल उत्पादन गरेमा उनीहरूको लगानी खेर जाँदैन । उनीहरूले ठूलो मात्रामा प्रत्यक्ष लाभ प्राप्त गर्नेछन् । साथै नेपालमा कृषि उत्पादन बढेर अप्रत्यक्ष फाइदा पनि हुनेछ । यसरी प्रत्यक्ष र परोक्ष दुई किसिमबाट लाभ प्राप्त हुनेछ ।
ठूला–ठूला यी व्यापार गृहहरूले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ । देशको आर्थिक विकास गर्नु उनीहरूको पनि जिम्मेवारी हो । अर्को किसिमले हेर्ने हो भने राष्ट्र गरीब भएमा यी व्यापार गृह पनि गरीब हुन्छन् वा इच्छा गरे अनुरूप धन आर्जन गर्न सक्तैनन् । त्यस कारण यी व्यापार गृहहरू आफैं धनी हुनका लागि पनि राष्ट्र र राष्ट्रको गरीब जनतालाई पनि धनी बनाउन आवश्यक छ । तर दुःखको कुरो भने हाम्रा ठूला व्यापार गृहका मालिकहरूमा यो चिन्तनको सर्वथा अभाव छ ।
तेस्रो तरीका
सार्वजनिक संस्थानको अवधारणा अनुरूप सरकारले आप्mनै लगानी, व्यवस्थापन एवं नियन्त्रणमा नेपालमा कृषि मल कारखाना स्थापना गरेर देशभित्र हुने मलको माग र आपूर्ति सहज र सरल पार्न सक्छ । कृषकहरूलाई भरपर्दो किसिमले मलको आपूर्ति गर्न सक्छ । यस किसिमबाट स्थापना हुने कारखानामा आप्mना कार्यकर्तालाई जागीर दिने उद्देश्य नराखेर पदमा भएका नेताहरूले निष्पक्षताका साथ स्वतन्त्र किसिमले सञ्चालन हुन दिनुपर्छ । यस्तो गर्न आवश्यक पनि भइसकेको छ ।
उपरोक्त तरीकाहरूमध्ये सर्वाधिक प्रभावकारी चाहिं सहकारी अवधारणा अनुरूप नेपालमा कृषि मल कारखाना स्थापना गरेर मल उत्पादन गर्नु हो । यसरी कृषकहरूलाई नै मल उत्पादनमा सहभागी गराएर मल उत्पादन र वितरण गर्ने हो भने नेपालका तराई, पहाड एवं हिमाली क्षेत्रमा पनि मलको आपूर्ति भरपर्दो पारेर कृषि उत्पादन अभिवृद्धि गर्न सकिन्छ । नेपालको कृषि क्षेत्रलाई उन्नत पार्न सकिन्छ । मल आपूर्तिको समस्या समाधन गर्न सकिन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्