धेरै भ्रम छाँटिंदै छ

157

    कोरोनाबारे जति चर्चा–परिचर्चा भयो, एउटा कालखण्डमा शायद नै कुनै विषयले यस्तो अवसर पाएको होला। एक त यो जीवन–मरणसँग सम्बन्धित रहेकोले यसको चर्चा हुनु स्वाभाविक हो, दोस्रो यस रोगबारे शुरूदेखि आजसम्म जानकारीको अभाव एकातिर र हिजो तथ्य भनिएको कुरा आज गलत हुनु दोस्रो समस्या बनेको छ। गत वर्ष दिसम्बरमा चीनबाट शुरू भएको कोरोनाबारे जाडोको मौसम रहेको र गर्मी आउनेबित्तिकै यसको भाइरस मर्छ भन्ने गरियो। ठ्याक्क तापक्रम नै तोकेर २६ डिग्रीभन्दा बढीमा भाइरस बाँच्न सक्दैन भनियो, तर कोरोना चीनबाट अमेरिका र युरोप हुँदै एशिया आइपुग्दा तापक्रम बढेर ३६ नाघिसकेको थियो र आजसम्म भारतलगायत नेपालमा कोरोनाको सक्रियतामा कमी आएको छैन, अपितु यसले ज्यान लिने गति झन् तीव्र बनाएको छ। कोरोनालाई अति संवेदनशील भनेर लकडाउन र निषेधाज्ञा नै जारी गरियो, अहिले भने कोरोनासँग ‘लिभिङ टुगेदर’को अवधारणा अगाडि सारिएको छ। निरन्तर तातो पानी खाएर, साबुनपानीले निरन्तर हात धोएर, मास्क लगाएर कोरोनाबाट असङ्क्रमित रहिन्छ पनि भनियो, तर त्यो पनि होइन रहेछ।
    समय बित्दै गयो, सुरक्षाको समस्त उपाय गरेर उपचार गर्ने चिकित्सकहरू नै यसको चपेटमा पर्न थाले। युरोपेली मुलुकमा देखिएको कोरोनाको रूप परिवर्तन भएकोले गर्मीमा पनि यसको प्रकोप यथावत् रहेको निष्कर्ष निकालियो। अर्थात् कोरोनाको परिभाषा मानिसले होइन, कोरोनाले नै तय गर्न थाल्यो। शुरूमा कोरोनाको लक्षण रुघाखोकी, उच्च ज्वरो भनियो, पछि लक्षणविना पनि कोरोना सरेको पुष्टि भयो। शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि एन्टिबडी तयार हुन्छ र एन्टिबडी तयार भएपछि पुनः कोरोना लाग्दैन भन्ने दाबी पनि गलत साबित भयो। एकपटक कोरोना लागेर शरीरले परास्त गरेको कोरोना भाइरस, फेरि त्यसै शरीरमा देखा प–यो। कोरोनाले केटाकेटी र वृद्धहरूलाई बढी असर पु–याउँछ भनियो, सय नाघेका वृद्ध पनि जोगिएको खबर आयो भने नेपाल–भारततिर त युवाको नै अत्यधिक मृत्यु भयो। सरसर्ती हेर्दा जुन मानिसमा दीर्घ रोग छ, उसले यसको प्रहार सहन नसक्ने देखियो। कोरोना भारतमा प्रवेश गर्दा लामो समयसम्म नेपाल अछूतो रह्यो, भनियो नेपालीहरूको इम्युन पावर बलियो छ, तर जब समुदायमा फैलियो नेपाली इम्युन पावरले हार स्वीकार ग–यो। हो केही पूर्वीय परम्पराले भने कोरोनाको साङ्गलो सजिलै बन्न दिएन। हात मिलाउने, जथाभावी आलिङ्गन गर्ने पूर्वीय परम्परा नरहेकोले।
    अब प्रश्न उठ्छ, यस हठी रोगको के उपाय ? मानिस कति दिन भयग्रस्त बाँच्नुपर्ने ? रोगको डरले भोक बढाउन थालिसक्यो। रोगले नभए भोकले मर्ने अवस्था छरपस्ट भएको छ। रोग र भोकमा के छान्ने कुरा पश्चिम नेपालका विपन्नहरूले तय गरिसके। बरु रोगले मर्ने भोकले नमर्ने भन्दै विदेशिन थाले। अहिले समाजशास्त्रीलगायत विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोनासँग लिभिङ टुगेदर (सँगै बस्ने) अवधारणा ल्याउन थाले। सरकारले आफ्नो नागरिकको मृत्यु कोरोनाबाट नहोस् भन्ने चाहेको छ भने सबैभन्दा पहिले देशमा पाका उमेरका दीर्घरोगी (क्यान्सर, मधुमेह, मिर्गौला, उच्च रक्तचाप) को पहिचान गरी, जुन निकै सजिलो छ, तिनलाई पूर्ण सुरक्षा प्रदान गर्ने हो भने यसै कारणले हुने मृत्युदर कम पार्न सकिन्छ। नागरिकको हकमा भने सचेतना जगाउने र हठ गर्नेहरूलाई उनकै निर्णयमा छाडिदिनुपर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्