‘जिउतिया’ पर्वको महात्म्य अपरम्पार

0
65

– राजेश मिश्र
    ‘तहर माई खरजिउतिया कइले रहलिह जे बँच गइल बबुआ’ दुर्घटनामा ज्यान जोगिएकाहरूप्रति देहातमा यो वाक्य प्रायः प्रयोग गरिन्छ। आज बिहीवार यो पर्व मनाइँदै छ। जिउतिया (जितिया) पर्व मधेसको ठूलो लोकपर्वमध्ये एक हो। आमाहरूले सन्तानको दीर्घायुको लागि व्रत बस्ने यो पर्वको बिछट्ट महत्व छ। निर्जला (पानी पनि नखाई) गरिने यो व्रतलाई जिउतिया भनिन्छ भने खर–जिउतिया गर्ने महिलाहरू साँझपख आकाशमा ताराको दर्शन गरी कुश तोडेर दही–चिउरा खान्छन्। यो पर्व मधेसी र थारू महिलाबाहेक तराईमा बसोवास गर्ने पहाडी महिलाहरूले पनि गर्छन्। यस संस्कृतिसँग जोडिएका महिला संसारको जुनसुकै देशमा भएपनि पर्वलाई श्रद्धFपूर्वक मनाउँछन्।
    पर्सा, पोखरिया नगरपालिका–९ सेमरबारीकी शारदादेवी पति र दुई सन्तानसहित शिकागो अमेरिकामा बस्छिन्। उनी प्रत्येक वर्ष आफ्ना सन्तानको दीर्घायुका लागि जिउतिया पर्व गर्छिन्। त्यस्तै, अमेरिकामा बस्ने सप्तरी राजविराजकी मीरादेवी पनि सन्तानको उन्नति र प्रगतिको लागि जिउतिया व्रत बस्दै आएकी छन्। उनीहरू भन्छन्– “हामी विदेशमा बसे पनि स्वदेशको संस्कृति र परम्परा बिर्सेका छैनौं।”


    सञ्चारकर्मी विमला गुप्ता विगत बा–ह वर्षदेखि खर–जिउतिया व्रत गर्दै आएको बताउँछिन्। उनी भन्छिन्– “सन्तानको दीर्घायुको लागि जसरी मेरी माई जिउतिया व्रत गर्दै आइरहेकी छन्, म पनि मेरो सन्तानको लागि गरिरहेकी छु। पुस्तौंदेखि चलिआएको यो संस्कृतिले सन्तानप्रति आमाको ममत्व दर्शाउँछ।”
    यस पर्वमा झिंगनी (खरतरोई) र झिंगनीको पात अनिवार्य चाहिन्छ। देहातमा झिंगनीको पात सित्तैमा पाए पनि शहरमा प्रतिपात रु २ देखि ५ का दरले यस वर्ष बिक्री भइरहेको छ। कोरोनाको यस महामारीका बीच पनि यो पर्व मनाउन चाहिने सामग्रीको दरभाउ विगतभन्दा आकाशिएको छ र मानिसहरू महँगोमा खरीद गरिरहेका छन्।
    यस पर्वको अवसरमा नयाँ वस्त्र, झिंगनी, झिंगनीको पात, खरी (पिना), मडुआको पीठो, दही, चिउरा, चिनी तथा पूजन सामग्री आवश्यक पर्छ। यस पर्वमा व्रतालुभन्दा घरका बच्चा, युवालगायत प्रौढहरूमा समेत उत्सुकता देखिन्छ र यसको मुख्य कारण हो ‘सरगही’ खाने आतुरता। त्यस्तै, बच्चाहरू हजुरआमा वा आमासँग खोला वा पोखरी गएर नुहाउने, पौडी खेल्ने रहर पूरा गर्ने अवसर पाउँछन्। गाउँबाट महिलाहरू गीत गाउँदै खोलासम्म नपुग्दै बच्चाहरू हतारिएर पहिले नै पुगिसकेका हुन्छन्।
    यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिन मनाइन्छ। सप्तमीको दिनलाई ‘सरगही खाएके’, अष्टमीको दिनलाई ‘व्रत रहेके’ र नवमीको दिनलाई ‘पारन करेके’ भनिन्छ। सप्तमी तिथिको बिहान व्रतालुहरू नजीकको खोला/पोखरीमा गई तोरीको खरी (पिना) लगाएर नुहाउँछन्। अलिकति खरी झिंगनीको पातमा राखेर खोलामा बगाएपछि नुहाउने चलन छ।
    जिउतिया व्रत कथा अनुसार चील र स्यालजस्ता जनावर पनि जिउतिया व्रत बस्ने भएकाले तिनका लागि पातमा खरी राखी खोलामा बगाउने प्रचलन छ। सप्तमी तिथिको दिन महिलाहरू बिहान खोलामा गई नुहाउँछन्। भोलिपल्ट अष्टमीमा सूर्योदय पहिले, ब्रह्म मुहूर्तमा पितृ, चिल्हो–सियारिन र जिउतवाहनलाई दही–चिउरा चढाएर ‘सरगही’ खाने र परिवारजनलाई खुवाउने परम्परा छ।
    अष्टमीको दिन साँझ व्रतालुहरू खोला/पोखरीमा गई स्नान गर्दछन्। नयाँ–नयाँ लुगा लगाउँछन् र एक ठाउँमा जम्मा भई गीत गाउँदै बेलको पातमा तेल राखेर चढाउँछन्। त्यसपछि बरियारको रूखको पूजा हुन्छ। महिलाहरूमध्ये पुरनिया (वृद्ध) महिलाले चिल्हो (चील) र सियार (स्याल)को कथा सुनाउँछन्। पर्वको अन्तिम दिन अर्थात् नवमीको दिन एकाबिहानै नुहाएर पितृलाई जाय–अङ्कुरी चढाइसके पछि पारन गर्ने परम्परा छ। पारनको लागि तयार खाना खानुभन्दाअघि गुइँठाको आगोमा धूपको हवन गरेपछि मात्र खान्छन्, जसलाई ‘पारन’ भनिन्छ र यससँगै व्रतको समापन हुन्छ।
    जिउतिया व्रतसँग सम्बन्धित कथामध्ये एउटा कथा निम्नानुसार छ। गन्धर्व राजकुमारको नाम जिउतवाहन थियो। उनी धेरै उदार र परोपकारी थिए। बुढेसकालमा जिउतवाहनका बुबा वानप्रस्थ जानलाग्दा जिउतवाहनलाई सिंहासनमा आसीन गराए र आफू आश्रम गए। राजपाटमा जिउतवाहनको मन लागेन। जिउतवाहनले राज्यको कार्यभार आफ्ना भाइहरूलाई सुम्पेर आफू बुबाको सेवा गर्न आश्रमतर्फ लागे। आश्रममा छँदा उनले मल्यावती नामकी एक राजकन्यासँग विवाह गरे।
    एक दिन जङ्गलमा विचरण गर्दै जिउतवाहन धेरै टाढा पुगे र एउटी वृद्ध महिलालाई घना जङ्गलबीच भावविह्वल अवस्थामा भेटे। उनले वृद्ध महिलासँग रोएको कारण सोध्दा उनले भनिन्– “म नागवंशकी महिला हुँ र मेरो एकमात्र पुत्र छ। पक्षीराज गरुडसमक्ष नागहरूले उनलाई दिनहुँ एउटा सर्प प्रदान गर्ने वाचा गरेका छन् र आज मेरो छोरा शङ्खचुडको बलिदानको दिन हो, त्यसैले म वियोेगमा छुँ।” जिउतवाहनले ती वृद्ध महिलालाई आश्वासन दिए– “नडराऊ। म तिम्रो छोराको जीवन रक्षा गर्नेछु। उसको साटो म उसको रातो कपडा लगाएर आफैं जान्छु।” यति भनेपछि, जिउतवाहनले शङ्खचुडको हातबाट रातो कपडा लिए र सो वस्त धारण गरी बलिदानको लागि निर्धारित वधशिलामा पल्टिए।
    निर्धारित समयमा पक्षीराज गरुड आए र रातो कपडामा बेरिएका जीउतवाहनलाई पञ्जाले समातेर पहाडको टुप्पोमा लगे। आफ्नो अधीनमा रहेको प्राणीको आँखामा आँसु र मुखबाट कुनै चित्कार नसुनेपछि गरुड छक्क परे। उनले जिउतवाहनलाई आफ्नो परिचय दिन भने। जिउतवाहनले सम्पूर्ण घटना वृत्तान्त सुनाए। गरुड उनको साहस र अरूको प्राणरक्षा गर्न आफैंलाई बलिदान दिने जिउतवाहनसँग धेरै प्रभावित भए। प्रसन्न भएर गरुडले उनलाई जीवनदान दिए र अबदेखि सर्पको बलि नलिने वरदान पनि दिए। यस प्रकार जिउतवाहनको अदम्य साहसले नागजातिको रक्षा भयो। सोही बेलादेखि पुत्रको रक्षाको निम्ति जिउतवाहनको पूजा गर्ने प्रचलन शुरू भएको किंवदन्ती छ।
    सन्तानलाई आमाले कति माया गर्छन् भन्ने सन्देश जिउतिया पर्वको यस कथाबाट बुझ्न सकिन्छ। सन्तानप्रति आमाको प्रगाढ ममत्व अतुल्य छ। सन्तानलाई जन्म दिएपछि मृत्युपर्यन्त सन्तानको सुखमा आफ्नो सुख देख्ने आमाबाहेक अरू कोही हुन सक्दैन। आफूलाई सन्चो नभएपनि सन्तानको लागि जिउतिया व्रत बस्नै पर्ने ममताकी धनी आमाहरूको वर्णन गर्न कठिन छ। सन्तानको दीर्घायुको लागि आमाले गर्ने जिउतिया पर्वको महात्म्य अपरम्पार छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्