कसैले आत्महत्या किन गर्छ ?

0
39

– सञ्जय साह मित्र
    भारतमा एउटा आत्महत्याको घटनाले निकै चर्चा पाएको छ। भारतीय चलचित्र क्षेत्रका नवनायक सुशान्त सिंह राजपूतको मृत्युलाई प्रारम्भदेखि नै आत्महत्या बताइएको थियो। बिहार र मुम्बई पुलिसदेखि सिबिआईसम्मको अनुसन्धानमा संलग्नताले उक्त घटनाले भारतीय सञ्चारमाध्यममा निरन्तर स्थान प्राप्त गरिरहेको छ। त्यस घटनाको अनुसन्धान र अनेक किसिमबाट विश्लेषण भइरहेको छ। त्यो घटना आत्महत्या हो कि हत्या भन्ने निष्कर्ष त अझै निस्कन सकेको छैन तर हालैका महीनाहरूमा सबैभन्दा चर्चित व्यक्तिगत मृत्युको घटना बन्न पुगेको छ। नायक राजपूतको अस्वाभाविक मृत्युको खबर सुनेपछि जसकसैलाई दुःख लागेको थियो, त्यस अस्वाभाविक मृत्युप्रति शोक जनाउनेमध्ये हजारौं नेपाली पनि थिए। विश्वका लाखौं मानिसले घटनाप्रति दुःख व्यक्त गरेका थिए।
    नेपालमा पनि केही महीना पहिले एउटा आत्महत्याले निकै चर्चा पाएको थियो। एकजना सञ्चारकर्मीले भरतपुरमा गरेको आत्महत्याले सबैभन्दा बढी मानिसको ध्यान आकृष्ट गरेको थियो। आफ्नो घरभन्दा टाढा एउटा होटलमा भएको उनको अस्वाभाविक मृत्यु सुन्ने जसकसैलाई साँच्चै पीडा भएको थियो। देशवासीलाई नै पीडा पु–याएको थियो। त्यस घटनाको पीडा हाम्रो देशले अझै पनि बिर्सेको छैन। त्यस घटनापछि उत्पन्न परिस्थिति पनि फरक किसिमको थियो। त्यस अस्वाभाविक मृत्युबारे पनि हत्या कि आत्महत्या भन्ने बहस र तर्क चलेका थिए।


    होला, कुनै–कुनै घटनामा कतै–कतै हत्यालाई पनि आत्महत्या भनिएको हुन सक्छ। तर हत्या र आत्महत्या एउटै होइन। सामान्यरूपमा मानिसले आफैंले आफूलाई मृत्युको मुखमा धकेल्नु आत्महत्या हो। आफैंले मृत्यु रोज्नु आत्महत्या हो। यो सर्वथा अनुचित र घृणित कदम हो। लाजमर्दो कदम हो। आफैंलाई अपमान गर्ने कदम हो। कुनै पनि कोण, प्रतिकोण र दृष्टिकोणबाट आत्महत्यालाई राम्रो मान्न सकिन्न। राम्रो मान्नुहुँदैन। आत्महत्या गर्नेहरूलाई त्यही भएर काथर, कायर, डरछेरुवा आदि भनिन्छ। आत्महत्या गर्नेलाई कसैले श्रद्धा गर्दैन। आत्महत्यालाई कसैले कहिल्यै कुनै पनि मूल्यमा समर्थन गर्नुहुन्न।
    आत्महत्या जीवनदेखि पलायन मात्र होइन, घरपरिवारलाई पछिसम्म दिने पीडा हो। आश्रितमाथि जीवनभरको लागि अभिशाप हो। यदि कसैले आत्महत्या गर्दछ भने उसका आमाबुबादेखि उनका साथीसम्मलाई मानिसले हेप्ने गर्दछन्। अगाडि त आमाबुबा वा साथीप्रति सहानुभूति दर्शाउलान् तर पछाडि यिनीहरूको यस्तै व्यवहारले वा यस्तै कारणले फलानोले आत्महत्या गरेको हो भनिरहन्छन्। यसले गर्दा जसले आत्महत्या गरेको हुन्छ, उसको पनि अपमान भइरहेको हुन्छ। मरेपछि पनि अपमान पाइने मृत्यु आत्महत्या हो। जे जस्तो अवस्थामा पनि आत्महत्यालाई कायरता नै भनिन्छ। आत्महत्या गर्नेले आफ्नो घरपरिवारलाई पछिसम्म दुःख दिइरहन्छ। यहाँ भूत बनेर सताउँछ भन्न खोजिएको होइन। उसको कारणले परिवारजनले दुःख पाउँछ भन्ने अर्थमा भनिएको हो।
    यदि कुनै निराशा छ भने त्यसको सम्बोधन गर्नुपर्छ। कतिपय निराशा सामान्य हुन्छन्। मनपर्ने साथी, आफन्त, आमाबुबा, पत्नी, छोराछोरी आदिलाई भनेपछि मन हलुङ्गो हुन्छ। यदि निराशाको समय छ भने सकेसम्म समूहमैं बस्नु, घुम्नु, बोल्नु, हाँस्नु, रमाइलो गर्नु र खाना खानुपर्छ। यस्ता कार्यले एकातिर तनाव व्यवस्थापन सजिलो हुन्छ भने अर्कोतिर मनलाई विभिन्न काममा भुलाउन सकिन्छ। साथीभाइलाई सहयोग गर्ने, सामूहिक काममा रुचि लिने तथा प्राकृतिक स्थानको अवलोकन गर्नाले पनि तनाव धेरै हदसम्म कम हुन्छ र मनबाट निराशाको बादल छाँटिएर जान्छ। साँच्ची प्रकृतिमा फुलेका फूल, त्यस फूलको रस चुस्न आउने पुतली, भमरा, रूखमा बसेका चरा, चराको बोली, अलिकति हावा चल्दा हल्लिने रूखबिरुवाका हाँगा–पात, नदी किनारमा विभिन्न जन्तु–जनावर, पानीमा रमाउने चरा तथा माछालाई हेरेर पनि मनको तनाव कम गर्न सकिन्छ। रूखको हाँगामा बसेका चरा के, कसरी अन्तत्र्रिmया गर्छन्, मानिसले सुन्ने चराको बोली उनीहरूको आन्तरिक संवाद हो कि होइन ? बगैंचामा बसेको बेला कसरी एउटा चराले आफ्नो व्यवहारमा परिवर्तन ल्याइरहेको हुन्छ ? साह्रै साना जातका चरा कसरी फुर्तीसाथ उड्ने र बोल्ने गर्छन् जस्ता विषयले मानिसको ध्यान मूल समस्याबाट हटाउन सक्छ। प्रकृतिको रहस्य, ईश्वर आदि विषयमा साथीसित बहस वा अन्तत्र्रिmया गरेर पनि तनावमुक्त हुन सकिन्छ।
    हामीकहाँ अध्ययनको संस्कार ज्यादै कम छ। पुस्तक अध्ययनले तनावलाई धेरै कम गर्दछ। रुचि अनुसारको पुस्तक अध्ययन गर्नु धेरै लाभदायक हो। मानिसका रुचि अनेक भएजस्तै अनेक किसिमका पुस्तक बजारमा उपलब्ध छन्। आफ्नो रुचि भएको क्षेत्रका पुस्तकहरू कतै यात्रामा जाँदा किनेर घर ल्याई सङ्ग्रह गर्नुपर्छ। कतिपय पुस्तक त कति रमाइला हुन्छन् भने धेरैचोटि पढ्दा पनि फेरि पढूँपढूँ लाग्छ। हरेकले यस्ता केही पुस्तक आफ्नोलागि खोजेर राख्नु आवश्यक छ। जसलाई मन लागेको बेला पढ्ने त हो नै, जब मानसिक वा मनोवैज्ञानिक तनाव हुन्छ, त्यति बेला पढ्दा तनाव कम हुन्छ।
    तनाव व्यवस्थापनमा मनोरञ्जनको ठूलो भूमिका रहेको मानिन्छ। मनोरञ्जनको सबैभन्दा ठूलो साधन नाच आजभोलि लोप भएर गइसक्यो। टेलिभिजन, सिनेमा तथा आधुनिक मनोरञ्जनका अन्य सबै साधनभन्दा नाचको आयाम ठूलो हुन्थ्यो। नाचले पाँच–छ घण्टा खुला सामूहिक मनोरञ्जन गराउँथ्यो। सामूहिक मनोरञ्जन गर्ने मानिसमा तनाव ज्यादै कम हुन्छ। पहिले त मनोरञ्जनका लागि महीनैपिच्छे अनेक लोकगीत तथा नृत्यहरू हुने गर्दथे। त्यति बेला आत्महत्याका घटना बिरलै सुन्न पाइन्थ्यो। अझै पनि यिनको महत्व घटेको छैन, तर बिस्तारै लोप हुँदै जाँदा ग्रामीण मनोरञ्जनको एउटा क्षेत्र नै हराउन थालेको छ। आधुनिक युगमा पनि गीत–सङ्गीत सुन्ने, नृत्य गर्ने, धार्मिक प्रवचन सुन्ने, आध्यात्मिक प्रवचन तथा भजन सुन्ने, सम्भव भएसम्म ध्यान गर्ने, व्यायाम गर्ने हो भने आत्महत्याजस्तो तुच्छ भाव मनमा कहिल्यै आउन पाउँदैन र जीवनसित अनन्य प्रेम हुन थाल्छ। जीवनभन्दा अमूल्य अरू केही हुन सक्दैन, कहिल्यै पनि १
    पढेलेखेका मानिसले त आफ्ना निराशा लेखेर कागजको पानामा पखाल्न सक्छन्। यो भन्नुको तात्पर्य लेख्नु  निराशा हो भन्ने होइन। निराशा के हो, त्यो कसरी उत्पन्न भयो, किन उत्पन्न भयो, त्यसको कारण के हो र निराशाबाट पार पाउने मुख्य उपाय तथा सहायक उपायहरू के के हुन् ? यी र यस्ता कुरा डायरीमा लेख्ने हो भने धेरै हदसम्म समाधानको उपाय निकाल्न सकिन्छ। यसैगरी, यदि सिर्जनात्मक मानिस छ भने आफ्नो निराशालाई अरूको निराशा बनाएर पात्र तथा परिवेश बदलेर कथा, कविता, उपन्यास आदि लेख्न सक्छ। लेखेर आफूभन्दा अग्रज वा नजीकको मित्रलाई देखाउने हो, रचनामा सल्लाह सुझाव माग्ने हो, आएका सुझावसहित परिष्कार गर्ने हो, पुनर्लेखन गर्ने हो। यस्ता कामबाट निराशा शक्तिमा बदलिन सक्छन्। त्यस शक्तिले सामथ्र्य बढाउँछ। सामथ्र्य बढेपछि क्रमशः सुनाम फैलिंदै जान्छ र प्रसिद्धिको प्राप्ति हुन्छ। वास्तवमा निराश मानिसले प्रसिद्धि प्राप्त गर्ने दिशामा आफूलाई अग्रसर बनाउनुपर्दछ।
    आत्महत्या गर्नेहरूले आफ्ना पितापुर्खाको नाम कसरी राखेका छन् ? गौरवलाई कसरी थामेका छन् ? जगहँसाइ गरेर जानेहरूलाई यस्ता कुराको केही अर्थ हुँदैन। यदि धर्ममा विश्वास गर्ने हो भने हाम्रा शास्त्रहरूले आत्महत्या गर्नेलाई नराम्रो मानेका छन्। अर्को जुनीमा पनि दुःख पाउने बताएका छन्। यसरी एउटा जुनीमा आत्महत्या गरेर घरपरिवार र वंशजलाई नै ग्लानिको आगोमा धकेलेर जानेले अर्को जुनीमा शान्ति नपाउने रहेछ। न घरको न घाटको हुने यस प्रकारको अस्वाभाविक मृत्यु समाजको दृष्टिमा घृणाकै विषय हो। आफ्नो जीवन कलङ्कित पार्नुभन्दा जुनसुकै परिस्थितिसित जुझेर समस्यामाथि विजय पाउने वीर कहलाउनु उचित हुन्छ। समस्यासित सङ्घर्ष गरेर अगाडि बढ्ने हो भने सन्ततिले गर्व गर्छ। गर्वको बाटोमा हिंड्नुपर्ने जीवनलाई शर्मको बाटोमा लैजानेहरू घृणाका पात्र हुन्। निकृष्ण मानव हुन्।
    आत्महत्या एउटा ठूलो समस्याको रूपमा समाजमा देखिन थालेको छ। यसलाई सामान्य समस्याको रूपमा लिनुहुँदैन। व्यक्ति तथा समाजले आत्महत्या रोकथाम गर्न प्रयास गर्नु आवश्यक छ तर यसमा सबैभन्दा
ठूलो भूमिका राज्यको हुनु आवश्यक छ। राज्यले पनि कोही किन आत्महत्या गर्छ भन्ने विषयमा व्यापक सोधखोज वा अनुसन्धान गर्नुपर्छ। आत्महत्याका कारणहरू पहिचान गरी सम्भव भएसम्म निराकरण गर्नु आवश्यक छ। आत्महत्याले मानिस मात्र मर्दैन, यसले मानवता पनि मरिरहेको हुन्छ। यसैले सबैतिरबाट आत्महत्याको कारक पहिचान गरी यसलाई कम गराउन योगदान दिनु आवश्यक छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्