राजा भनेको राजा नै हो

0
41

– कुमार रुपाखेती
    धेरै नेपालीहरूले अहिले राजा महेन्द्र र उनका योगदानलाई सम्झिने गरेका छन्। आज मलाईसमेत राजा महेन्द्रबारे दुई हरफ लेख्न मन लाग्यो। राजा महेन्द्रको बाल्यकाल नै तनावपूर्ण र उथलपुथल वातावरणमा हुर्के–बितेको देखिन्छ। श्री ५ को नाममा श्री ३ को जगजगी, पिता त्रिभुवन नै राणाहरूको खटनपटनमा बस्नुपर्ने, दरबारभित्र र बाहिरसमेत श्री ३ को दबदबा, समुचा मुलुकमा राणाहरूकै हालीमुहाली आदि इत्यादि।
    २००७ सालको क्रान्तिपछि समेत महेन्द्रको तनावमा कमी आएन। प्रजातन्त्रवादी र मोहन शम्शेरहरूसँग ठ्याकठुक, मनमुटाव, पिता त्रिभुवनको देहावसान, भारतको दबाब आदि कारणहरूले गर्दा राजा महेन्द्रको शिक्षा, दीक्षासमेत राजसी ढङ्गले भएन। त्यसैले राजा महेन्द्रलाई कम शिक्षित राजा पनि भनिन्थ्यो। येनकेन प्रकारेण २००७ सालदेखि २०१७ साल आयो र यसबीच राणा र विपीहरूबाट राजा महेन्द्रले धेरै कुरा सिक्ने र बुझ्ने मौका पाए। चारैतिरको कुरा बुझेपछि महेन्द्रले तनावके बीच विपीको जननिर्वाचित सरकारलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागू गर्ने जोखिम उठाए। अब उनको तनाव र जिम्मेवारी झनै थपियो। पञ्चायतलाई टिकाउने, छिमेकी र विदेशीलाई सम्झाउने, रिझाउने र देशको द्रुत गतिमा विकास गर्ने, जनतालाई विश्वासमा लिने, गतिला मान्छेद्वारा शासन चलाउने आदि इत्यादि। न रहन्छ बाँस, न बज्छ बाँसुरी शैलीमा यिनले आफ्नो शासनकालमा दलीयताको जरै उखाल्ने प्रयत्न गरे। कम शिक्षित भनिने यी राजाले त्यतिखेर रूस, इङ्गल्यान्ड, स्पेन, अमेरिका, चीन, भारतजस्ता मुलुकहरूलाई बहुदल हटाउनुपर्ने र पञ्चायती व्यवस्था लागू गर्नेपर्ने बाध्यताबारे अच्छाखासा कनभिन्स गरेका थिए। अविछिन्न रूपमा देश विकास गर्न, यी दुस्साहसी राजाले काङ्ग्रेसका शीर्ष नेताहरूलाई निर्वासनमा जान विवश तुल्याए र दलीय राजनीतिमा कडा प्रतिबन्ध लगाइदिए। यिनको पालामा नेपालमा थुप्रै सडक, राजमार्ग र कलकारखाना स्थापना भएको देखिन्छ। त्यस्तै साम्प्रदायिक सद्भाव कायम राख्न र राष्ट्रवादी भावना जागृत गर्न पनि यिनलै ठूलै मेहनत गरेको देखिन्छ। विदेशी राष्ट्रहरूसँग दौत्य सम्बन्ध, संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को सदस्य आदि पनि यिनकै शासनकालदेखि शुरूआत भएको पाइन्छ। आफ्ना पुर्खा पृथ्वीनारायण शाहले नेपाल दुई ढुङ्गाबीचको तरूल हो भन्ने कुरा मनन गर्दै यिनले चीन र भारत दुवैसँग समदूरी बनाए। भारतकै सहयोगमा त्रिभुवन राजपथ र चीनको सहयोगमा पृथ्वी राजमार्ग, कोदारी राजमार्ग आदि बनेका हुन्। स्वदेशमा मात्र नभई राजा महेन्द्र मुलुकबाहिर समेत चर्चित थिए। संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा राजा महेन्द्रले भूपरिवेष्ठित मुलुकको समस्या र अप्ठेराबारे दिएको भाषण विकसित मुलुकका राष्ट्राध्यक्षहरूले मुखामुख गर्दै दमदार भाषणको संज्ञा दिएका थिए। त्यसपछि बैठकहरूमा त नेपालका राजाले कस्तो धारणा व्यक्त गर्ने हुन् भन्ने चासोको विषय बन्न थाल्यो। तर मुलुकको आन्तरिक राजनीतिक कलह, इन्दिरा गाँधीको कचकच आदि इत्यादि तनाव यिनको जीवनको अन्त्यकालसम्म नै देखियो। तनावग्रस्त हुँदा राजा महेन्द्र तनाव छल्न चितवन, नारायणगढको दियालो बङ्गलामा आराम गर्न जान्थे। उनको देहावसान पनि उनकै मनपर्ने दियालो बङ्गलामा भयो। राजा महेन्द्रलाई सम्झने क्रममा उनका उत्तराधिकारी राजा वीरेन्द्रको चर्चासमेत आवश्यक देखिन्छ। बाबुको बिडो थाम्दै वीरेन्द्रले समेत सुरक्षा परिषद्को बैठकहरूमा दमदार भाषण दिन्थे। एकपटक यिनले अविकसित राष्ट्रहरूले भोग्नुपरेको समस्याबारे बोल्दा विकसित राष्ट्रका प्रमुखहरूले जिब्रो टोकेका थिए। राष्ट्र सङ्घका बैठकहरूमा वीरेन्द्र आकर्षणका केन्द्र बन्थे रे। यिनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भनी राखेको प्रस्तावले विश्वको ध्यान नेपालतर्फ खिचेको थियो। सार्क सम्मेलनहरूमा समेत राजा वीरेन्द्रको बेग्लै शान हुन्थ्यो। राजीव गाँधी, बेनजीर भुट्टोहरू राजाको दर्शन भेटका लागि प्रतीक्षारत देखिन्थे।


    नेपालबाट अचेल पनि नेताहरू विदेशमा हुने सभा, सम्मेलनमा डफ्फा लिएर जान्छन्, सैरसपाटा गर्छन्, सरकारी ढुकुटीमा मोजमस्ती गर्दै फर्कन्छन्। यिनका लागि यस्ता विदेशी सभा–सम्मेलनमा नेपालको शान–मान बढाउनेभन्दा घुमघाम र पिकनिकको माहौल देखिन्छ। ‘काम का न काज का दुश्मन अनाज का’ भनेझैं झुन्ड चाहिं नेपालकै ठूलो हुन्छ रे। उपेन्द्र यादव परराष्ट्रमन्त्री हुँदा बा–है मास पल्टनसहित विदेश भ्रमणमा जान्थे। यिनको रेलको डब्बाजस्तो भ्रमणले मुलुकले त केही पाएन तर राष्ट्रको ढुकुटीबाट करोडौं रुपियाँ यिनको आतेजाते र भत्तामा स्वाहा हुन्थ्यो। उपेन्द्र मात्रै किन, अचेल सबै मन्त्रालय, प्रधानमन्त्री, मन्त्रीहरूको उस्तै रवैया छ। भेडाबाख्राझैं हुल बाँधेर विदेश भ्रमण गर्ने परम्परा गिरिजाप्रसादको पालादेखि आरम्भ भएर अहिले ओलीको पालामा झन तेज रफ्तारमा छ। भनिन्छ, राष्ट्रसङ्घका बैठक, सुरक्षा परिषद्का बैठकहरूमा त अचेल नेपालले उपस्थिति मात्र जनाउँछ रे। त्यस्ता महत्वपूर्ण बैठकहरूमा भारतको हाँमा हाँ मिलाउने, भारतको पिछलग्गु बन्ने गरेकाले अचेल यस्ता सभा, समारोहमा नेपालको पहिलेको राजसी पहिचान गुमिसकेको छ रे।
    भनिन्छ, महेन्द्रको पालाको नेपाल खोज्न २०१७ सालतिर फर्किनुपर्छ। गणतन्त्र नेपालका नेताहरू त घरको बाघ, वनको स्याल प्रतीत भएका छन्। अनाप–शनाप, फतरफतर बोलिरहने ओली, तोतेबोलीका भकभके देउवा र गर्दन हल्लाउँदै अर्थहीन बोल्ने प्रचण्ड मुलुकभित्र उफ्रीउफ्री (भ्यागुता झैं) बोल्छन्। तर विदेशी समकक्षीसमक्ष स्तरीय दुई शब्द बोल्दा यिनको पसिना छुट्छ, दम फुल्न थाल्छ। देशी मुर्गी विदेशी चाल देखाउने ओली, प्रचण्ड र देउवाहरूसमेत कुनै बखतका राजा महेन्द्र र वीरेन्द्रका प्रजा नै हुन् र स्वदेशमा यिनको आचरण नवराजा जस्तै देखिए पनि विदेशीका अगाडि यिनीहरू अझै प्रजाकै हैसियत र स्तरमा खडा देखिन्छन्। मोदी जनकपुर आउँदा ओलीको गम्छा, कुर्ता, पैजामाको पहिरनले समेत यो कुरा साबित गरिसकेको छ।
    राजा भनेको राजा नै हो भन्ने ज्वलन्त प्रमाण त जिताजागता ज्ञानेन्द्र शाह पनि हुन्। सत्ता र शासनबाट फालिएको लामो समय बितिसक्दा समेत ज्ञानेन्द्र अझै नेपाली राजनीतिको केन्द्रमैं देखिन्छन्। अचेल त जहाँ ज्ञानेन्द्र त्यहाँ भीड देखिन थालेको छ। यदाकदा राष्ट्रिय पर्वहरूमा ज्ञानेन्द्रको तर्फबाट हुने वक्तव्यबाजी र बयानबाजीले ओली, प्रचण्डहरू झस्किरहेकै देखिन्छन्। राजाको मुलुक भ्रमणले समेत यिनलाई इन्तु न चिन्तु बनाएको स्पष्ट देखिन्छ। झन् राजावादीहरूले यिनको जयजयकार अझैसम्म गरिरहेको देख्दा नेताहरू तीनछक्क देखिन्छन्। सत्ताविहीन, मुकुटविहीन राजालाई जनताले यतिबिघ्न मन पराएको संसारमा बिरलै देख्न पाइन्छ रे।
    त्रिभुवनले २००७ सालमा प्रजातन्त्र ल्याउन, महेन्द्रले नेपाललाई भारतको ‘बुरी नजर’बाट जोगाउन, वीरेन्द्रले देश–विदेशमा नेपालको पहिचान गराउन सशक्त भूमिका निर्वाह गरेको इतिहासले देखाउँछ। पुर्खा र पिता अनि दाजु वीरेन्द्रले मुलुकका लागि गरेको त्याग र लगानीले नै ज्ञानेन्द्रसँग जनताले आशा र भरोसा राखेको देखिन्छ। संसारबाटै राजा, रजवाडा बिदा भई एकादेशको कथामा परिणत भइसके तापनि
नेपाली राजपरिवार अझै मृत भस्म नबन्दैमा झिल्को भैकन बल्नु छ झैं चलायमान छ, जनताको मनमा अमिट छाप छोडेको देखिन्छ। राजा भनेको राजा नै हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्