कुनियतपूर्ण सहानुभूति

0
30

आकाशलाई शून्य मानिन्छ। शून्य केही पनि होइन, र सबै थोक हो। शून्यको आविष्कार पहिले गणितको कुनै अर्थ थिएन। श्रीकृष्णले पनि गीतामा भनेका छन् म शून्यको पनि महाशून्य हुँ। अर्थात् शून्य केही हो। शून्य आकाश हो। आज त्यही आकाश मानवजातिका लागि वर्जित गरिएको छ। वर्जना वायुयानमा प्रतिबन्ध मात्र लगाएर गरिएको होइन, मानिसको वैचारिक आकाशलाई पनि लकडाउन गर्ने प्रयास गरिंदै छ। मानिसले आज केही गर्न पाइरहेको छैन। मानिसलाई थुनुवाझैं घरमा कोच्चिन बाध्य पारिएको छ। मानिस आज नजरबन्दीमा छ। नजरबन्द गर्नुको कारण एउटा रोग मानिएको छ, जसबारे हामी केही जान्दैनौं, जसको कुनै उपचार छैन। हुन सक्छ, विश्वका सरकारहरूले यसरी मानिसलाई नजरबन्द राख्दा रोगबाट हुने ज्यान जोखिम घटेको होला, तर यस नियन्त्रणले रोग लागेरभन्दा बढी मानिसको मृत्यु भइरहेको तथ्यप्रति सरकारहरूले ध्यान दिइरहेका छैनन्। र मानिसको हकको आकाशमा प्रतिबन्ध लगाइरहेका छन्। भौतिक आकाश मात्र होइन, भावाकाशमा पनि प्रतिबन्ध लागेको छ।
मानिसमा भावको उदय खुला प्रकृतिको विचरणबाट प्राप्त हुने हो। विचरण अर्थात् घुमाइ, टहलाइमा प्रतिबन्ध लागेपछि मानिसमा कसरी भाव उदय हुन्छ ? सिर्जनाविना मानवजीवनको कुनै अर्थ छैन। सिर्जनाको अभावमा मानिस जीवित लाशमा परिणत हुन्छ। आज त्यही भइरहेको छ। सरकारहरूले बन्देज लगाउन्जेल मानिस अहिले देखिएको महामारीप्रति संवेदनशील बन्दैन। यो मानिसको प्रवृत्ति हो। जुन दिन सरकारहरूले नागरिकको स्वास्थ्यको सुरक्षा गरिरहेको नाटक बन्द गर्नेछन्, मानिस स्वयम् आफ्नो स्वास्थ्यको सुरक्षा गर्न थाल्नेछ। सरकारले गर्ने भनेको रोगको उपचार हो। रोगको प्रतिकारस रोग लाग्नै नदिने जिम्मेवारी नागरिकको हो। आज विश्वमा केही विकसित देशका सरकारहरूबाहेक कसले आफ्नो जनताको स्वास्थ्यको उत्तरदायित्वपूर्ण जिम्मेवारी महसूस गरेको छ ? स्वास्थ्यरक्षा रोगबाट मात्र होइन, रोग निम्त्याउने खाद्य पदार्थबाट पनि हुनुपर्छ। खाद्यान्नमा मिलावट, खाद्य पदार्थमा प्रदूषण, स्वास्थ्यमा विग्रह उत्पन्न हुने रसायनको प्रयोगजस्ता निकृष्ट कर्म आज विश्वभरि भइरहेको छ।
खोइ कुनै सरकारले तत्परतापूर्वक त्यस्ता कुरामा प्रतिबन्ध लगाएको ? पहिलेदेखि नै त्यस्तो गरेको भए नागरिकलाई विश्वास हुन्थ्यो, सरकार उसको स्वास्थ्यप्रति चिन्तित छ। उसलाई सरकारमाथि भरोसा हुन्थ्यो। अनि ऊ सरकारले गरेको कामलाई आफ्नो हितअनुकूल ठान्ने थियो। सरकारले बन्देज लगाएका कुराहरूको अत्यन्त व्यग्र भएर मानिस किन खोजी गरिहिंड्छ ? त्यस पछाडिको मनोविज्ञान सरकारप्रति अनास्था हो। केही हदसम्म मानिस बानीले विवश हुनु अर्कै कुरा हो। सरकारलाई मदिरा र चुरोटबाट अत्यधिक राजस्व प्राप्त हुन्छ, तर सरकार यी वस्तुको उपभोगमा नियन्त्रण गर्छ भने नागरिकले कसरी पत्याउने सरकारको नीति उसको हितअनुकूल छ ? कोरोनाकालमा पसल खोलेको भनेर सरकार दण्ड–जरिवाना लगाउँदै हिंड्छ, मूल्यसूची नराखेको भनेर कारबाई गर्छ। तर कीटनाशक छरेको तरकारी, कार्बाइडमा पकाएको फलफूलमा नियन्त्रण गर्न हातखुट्टा चलाउँदैन, जनताले के भनेर सरकारमाथि विश्वास गर्ने ? सरकारले शान्ति सुरक्षामा मात्र ध्यान दिए पुग्छ, कुनियतको सहानुभूति जनतालाई सह्य हुन सक्दैन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्