सफल हुन सकेन निषेधाज्ञा

0
47

    सरकार निषेधाज्ञामाथि निषेधाज्ञा लगाइरहेको छ, सँगसँगै कोरोना सङ्क्रमण दर पनि बढिरहेको छ। निषेधाज्ञा अलिकति खुकुलो भयो कि मानिस हुलका हुल बजारमा देखा पर्न थाल्छन्। यसै हुलले सङ्क्रमणको विस्तार गरेको छ। यस क्रियापछिको मनोविज्ञानलाई सरकारले बुझ्न सकेको छैन। जनताको दबाबमा लकडाउन वा निषेधाज्ञा खुकुलो पार्छ र सङ्क्रमण बढ्नेबित्तिकै निषेधाज्ञामा कडाइ गर्दै नागरिकलाई भकुर्न थाल्छ। कडाइ भएपछि नागरिक घरभित्र पस्छ, अभावमा बाँच्छ र खुकुलो हुनेबित्तिकै फेरि हुल बनाउन थाल्छ। न नागरिक, न सरकार, दुवैले सङ्क्रमणको संवेदनशीलतालाई बुझ्न सकेका छैनन्। सरकार र नागरिक क्रिया र प्रतिक्रियाको पुनरावृत्ति मात्र गरिरहेका छन्, तथ्यमा सङ्क्रमणविरुद्ध लडाइँमा असफल हुँदै गएका छन्। निषेधाज्ञा लगाएर न सरकारले सङ्क्रमण रोक्न सक्यो, न छ महीनादेखि लकडाउनको सास्ती खेपेर नागरिक रोगबाट जोगिन सक्यो। किन निषेधाज्ञा खुकुलो हुनेबित्तिकै नागरिकमा सङ्क्रमणको मात्रा बढ्छ र सधैं काममा संलग्न सुरक्षाकर्मी, सफाइकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीमा थोरै मात्र सङ्क्रमण सर्छ ?
        सुरक्षाकर्मीदेखि सञ्चारकर्मीलाई सङ्क्रमण सरेकै छैन भन्ने होइन। उनीहरू पनि सङ्क्रमित भएका छन्, तर आफ्नो क्रियाकलापको दाँजोमा न्यून। लकडाउनभरि पसल खोली नागरिकलाई राहत पु–याइरहेका थोरैमात्र पसले सङ्क्रमित भए, किन ? उत्तर सरल र स्पष्ट छ– साहस, सतर्कता र सङ्क्रमण प्रतिरोधी सजगता अँगालेका थिए। त्यै साहस, सतर्कता नागरिकले आत्मसात् गरेको भए, सङ्क्रमण भयावहरूपमा फैलिने थिएन। सरकारले पनि नागरिकको यस हतारोको उत्तर विवेकसम्मत किसिमले दिन सकेन। उसको एउटै मन्त्र छ– लाठो उज्याउनु १ लाठो उज्याएर नागरिकको मनोबल यति खस्काएको छ कि सामान्य नागरिक हतपती बजार निस्कनै चाहँदैन, बरु अभाव सहेर बसिरहन्छ। अनि खुकुलो भएको मौका पायो कि हुल बनाउन थाल्छ। सरकार र प्रशासनले सधैं खुकुलो र हुलमा नियन्त्रण गर्ने मनोविज्ञान विकसित गरेको भए लाठी पनि नभाँचिने र सर्प पनि मर्ने स्थिति आउने थियो। अहिलेको अवस्था त साँप नमर्ने, लाठी चाहिं भाँचिने कार्य भइरहेको देखियो।
    हामी बानी भन्छौं। बानी बसेपछि संस्कार बन्छ। बानी केही मेहनतपछि छुट्छ, संस्कार हतपत छुट्दैन। संस्कार बसाउन प्रणाली उचित हुनुपर्छ। राज्य प्रणाली संविधानले बसाउने होइन। राज्याधिकारी तथा उच्चपदस्थ व्यक्तिहरूले आफैं आदर्श स्थापित गर्न सक्नुपर्छ। उनीहरूले आफूले गर्ने र अरूले गर्ने कार्यमा असमानता देखाए भने त्यसले राम्रो प्रणालीको विकास हुँदैन। आजको समयमा देखिएको कमी त्यति हो। मानिसलाई जब यो विश्वास हुन्छ कि म आवश्यक काममा लागि बाहिर निस्कँदा सुरक्षाकर्मीले दुःख दिंदैन, उसले बेलाबेला आवश्यक सामलको जोहो गर्छ। तर त्यसो भएको पाइएको छैन। जसले गर्दा धेरै दिनमा एकपटक लकडाउन खुकुलो हुँदा मानिस हतारिन्छ र हुलमा परिणत हुन्छ। यसै बेला उसले अनिश्चितकालका लागि हैसियत अनुसार सामान किन्नुपरेको छ। यस्तो हुललाई न पसलेले भ्याउन सक्छ र कुनै पनि सेवाप्रदायक संस्थाले। लामो समयदेखि बैंकहरू बन्द छन्। बैंक खुलेपछि मानिस हतारिन्छन् नै। यस्तोमा मौका पाउने कोही हो भने त्यो कोरोना सङ्क्रमण मात्र हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्