प्लाज्मा थेरापी गरिएका सङ्क्रमितको ६ दिनपछि मृत्यु

0
35


राधेश्याम पटेल, वीरगंज, २२ भदौ/
    वीरगंजमा पहिलोपटक प्लाजा थेरापीबाट उपचार हुँदै गरेको एकजना सङ्क्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालको आइसियू कक्षमा उपचाररत सर्लाही, चकरघट्टा–३, सुन्दरपुरका ३५ वर्षीय सङ्क्रमितको मृत्यु भएको हो। आइतवार बिहान १० बजेर २ मिनेटमा उनको मृत्यु भएको हो।
    प्लाजमा थेरापी उपचार विधिबाट सुधारोन्मुख रहेका निजको आइतवार बिहान अचानक मुटुको ढुकढुकी रोकिएर मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।
    उनी भदौ १३ गते अस्पताल भर्ना भएका थिए र १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। “उनी डिआइसी स्टेजबाट फर्किएका थिए,” नारायणी अस्पतालका एकजना चिकित्सकले भने, “डिआइसी चरणबाट फर्केका १०० जना बिरामीमा पाँचजना मात्र बाँच्ने अध्ययनले देखाएको छ, प्लाजामा थेरापी गरेपछि उनको अवस्था सुधारोन्मुख थियो, तर आज उनको निधनले नारायणी अस्पतालका सम्पूर्ण चिकित्सक दुःखी छौं।”
    डिआइसी चरण भनेको शरीरका विभिन्न अङ्गबाट आन्तरिक रक्तस्राव हुनु हो, त्यस्ता बिरामी बाँच्दैनन्, तर पनि प्लाज्मा थेरापी उपचार बिधिबाट उनको ज्यान बचाउने चिकित्सकहरूको सोच थियो। जुन सफल हुन सकेन। प्लाज्मा थेरापीबारे अझै थुप्रै अनुसन्धान हुनु जरुरी छ, प्लाज्मा थेरापीबाट सबै सङ्क्रमित निको नै हुन्छन् भन्ने विश्वास हटाउनुपर्छ, नारायणी अस्पतालका चिकित्सकहरूको भनाइ छ। चितवनमा पनि एकजना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार भइरहेको अवस्थामा मृत्यु भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्