कोरोना कहरमा सरकार र समाजको भूमिका

0
43

– अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    विश्वभरि उत्पात मचाएको कोभिड–१९ ले नेपालमा पनि निकै आतङ्क मचाएको छ। अहिले मुलुकको हरेक कुनाकाप्चामा धनीदेखि गरीबसम्म, उचपदस्थ व्यक्तिदेखि किसानसम्म सबैमा कोरोनाकै त्रास छ। यसबाट जोगिन सरकार, समाज र आम नागरिक बुताले भ्याएसम्म सतर्क छन्। तर पनि सङ्क्रमण बढ्दै छ र मृतकको सङ्ख्या दिनानुदिन थपिंदो छ। सबैमा बाँचिएला कि नबाँचिएला भन्ने मानसिक त्रास चौबीसैं घण्टा विद्यमान छ। यो मानसिक त्रास कोरोनाभन्दा खतरनाक महामारी हो। शारीरिक दुर्बलता खाना र औषधिले निको पार्न सकिन्छ तर मानसिक दुर्बलता हटाउन निकै कठिन हुन्छ। यसको लागि औषधि र अस्पतालभन्दा समाज र सरकारको भूमिका आवश्यक पर्छ। आम नागरिकमा उत्पन्न भएको मानसिक त्रास हटाउन सरकार र समाज बढी सतर्क हुनुपर्छ। सरकारले सामाजिक दूरी कायम गर्दै सबैको सहज उपचारको व्यवस्था मिलाएर नागरिकको मनबाट भय हटाउनुपर्छ भने समाजले सङ्क्रमित व्यक्तिसँग सामान्य बिरामीझैं व्यवहार गर्न सक्नुपर्छ। कोही सङ्क्रमित हुनुमा उसको तथा उसको परिवारको कुनै दोष छैन, तर उसलाई छिःछिः–दूरदूरको व्यवहार प्रदर्शन गर्नु, सङ्क्रमितसँग सामाजिक सम्बन्ध विच्छेद गर्नु सबैभन्दा ठूलो महामारी हो।
    मानिस सामाजिक प्राणी भएकोले समाजबेगर बाँच्न सक्दैन। जसरी पानीबाट निकालेर माछालाई बाहिर राखिदिने हो भने केही समयमा छटपटाएर मर्छ, उसैगरी सङ्क्रमित व्यक्तिलाई समाज र आफन्तको स्नेह, सहयोग र सहकार्यबाट वञ्चित गर्दा उसको जिउने आशा मर्छ र ऊ मर्छ पनि। अहिले अढाई हजार नागरिकले आत्महत्या गर्नुको पछाडि दुईवटा कारण देखिन्छ। पहिलो, सरकारले सङ्क्रमितहरूको तत्परतापूर्वक उपचार हुनेगरी मनोबल बढाएन, दोस्रो समाजले सङ्क्रमित र निजको परिवारलाई हेलाको दृष्टिले हे–यो। महामारीको औषधि विकसित नभएको र सरकारले अस्पताल, चिकित्सक, आइसोलेशन केन्द्र, एम्बुलेन्सको व्यवस्था पर्याप्त व्यवस्था नगर्दा र काठमाडौंजस्तै मोफसलमा पनि उपचारको व्यवस्था नगर्नु हो। जटिलभन्दा जटिल अवस्थाको सङ्क्रमित समयमा काठमाडौं पुग्दा ज्यान जोगिने तर मोफसलमा सामान्यभन्दा सामान्य सङ्क्रमितले ज्यान गुमाउनुपर्ने अवस्थाले असुरक्षा मात्र जन्माएको छ। असाध्य बिरामीलाई अस्पतालले अन्यत्र रेफर गरे पनि सङ्क्रमितलाई काठमाडौं पु–याउन ठूलो समस्या देखिएको छ। धनीमानी व्यक्तिका लागि प्लेन र हेलिकप्टरको व्यवस्था हुँदो रहेछ। पोजिटिभ भएपनि कोरोना रिपोर्ट नेगेटिभ बनाएर पठाइँदो रहेछ तर गरीबको भाग्यमा एउटा एम्बुलेन्स पनि पर्दैन। यसर्थ सरकारले बढी सङ्क्रमित भएको क्षेत्रको लागि कमसेकम पाँचवटा सरकारी एम्बुलेन्स र दुईवटा हवाई एम्बुलेन्स तैनाथ गरिदिने हो भने मृत्युदर घटाउन सकिन्छ। यसतर्फ सरकारको ध्यान छैन। केही हप्ता पहिलेसम्म सङ्क्रमित लाशको व्यवस्थापनमा समेत कठिनाई थियो। यद्यपि लाशबाट सङ्क्रमण सर्दैन भन्ने विज्ञानको अभिमत छ।


    अहिले ऋतु अनुकूल प्रायःलाई रुघाखोकी छ। मौसम परिवर्तनले प्रायः मानिसको तापक्रम पनि असन्तुलित हुन्छ। अधिकांश मानिस त विगतजस्तै सामान्य औषधि, तातो पानीको कुल्ला र तातो प्रयोग गरेरै निको भइरहेका छन्। तर समाजमा त अरूको चियो बस्ने बानी छ। सामान्य रुघाखोकी पनि लागेको छ भने व्यक्तिसँग मात्र होइन, परिवारसँगै विच्छेद गर्न पूरा समाज तयार देखिन्छ। यस्ता सामाजिक विकृतिले गर्दा सामान्य रुघाखोकी लागे पनि चिन्ताले समस्या जटिल बन्दैछ। सामाजिक सद्भाव, मानवता, मानव संवेदना कहाँ हरायो ? सामान्य सङ्क्रमण भएर केही हुन्न, त्यसपछि जे पर्छ समाजले गर्छ भनिदिने हो भने सङ्क्रमितको आत्मबल बढ्छ। आधा रोग त्यसै हराउँछ। यसरी सबैले सबैको हौसला बढायौं भने रोग लाग्दैन र लागे पनि चाँडै निको हुन्छ। महामारी जति खतरनाक भएपनि ६७ प्रतिशत सङ्क्रमित निको भएकै छन्। यसबाट सङ्क्रमण लाग्नेबित्तिकै मान्छे मर्छ भन्ने होइन। पतिलाई सङ्क्रमण लागेको पुष्टि भएपनि सँगै सुत्ने पत्नी र बच्चा सङ्क्रमित नभएको पुष्टि भएकै छ। कोरोना सबैमा सर्छ भन्ने हावा फैलाएर समाजलाई आतङ्कित पार्नु खतरनाक खेल हो। केही हप्ता पहिलेसम्म निजी तथा सरकारी अस्पतालहरूले कुनै पनि बिरामीको उपचार गर्नै मानेनन्, समाजले सङ्क्रमित लाशको सद्गत हुनै दिएन, तर अदालतहरूले अन्तरिम आदेश जारी गरेर अस्पताल तथा समाजलाई अवरोध नगर्न बाध्य पा–यो। जसले गर्दा अहिले लगभग सबै अस्पतालले बिरामीको उपचार गरिरहेका छन्। यसले जनतामा धेरै आशा पलाएको छ। भगवान् दुनियाँमा छन् कि छैनन् कसैले भन्न सक्दैन तर कृत्रिम भगवान् भनेको अस्पताल र स्वाथ्यकर्मी नै हुन्। जटिल रोगले छटपटिएको बिरामी नजीक सामान्य ज्ञान राख्ने स्वास्थ्यकर्मी मात्र उपस्थित भयो भने बिरामी तथा आफन्तमा ठूलो आशा एवं बल आउँछ। रोग निको हुने आशा जाग्छ। जब कुनै बिरामीलाई स्वास्थ्यकर्मी र अस्पतालले छुनै मान्दैन, अस्पतालभित्र छिर्नै दिंदैन, त्यस अवस्थामा बिरामी र उसका आफन्तका लागि आशा गर्ने कुनै ठाउँ बाँकी रहन्न र रोगभन्दा हतासाले रोगीको ज्यान जान्छ। यस्तो नदेखिएको होइन, अस्पतालको गेटमा केही मानिसको ज्यानसमेत गएको छ। अस्पताल र स्वास्थ्यकर्मीले कसैको उपचार गर्न अस्वीकार गर्न नपाउने कानूनी व्यवस्था हुँदाहुँदै पनि सरकार मूकदर्शक मात्र बन्यो। यसमा अस्पताल एवं स्वास्थ्यकर्मीलाई सम्पूर्ण जिम्मेवार ठान्न सकिंदैन किनभने निजी अस्पताल नाफा कमाउने उद्देश्यले सञ्चालित भई सरकारलाई कर बुझाउँछन्। यस्तो विषम परिस्थितिमा उपचार गर्दा जोखिम पनि हुन्छ। सबै अस्पतालमा सबै रोगको साधन–स्रोत हुँदैन, चिकित्सक हुँदैन। अस्पतालका कर्मचारीमा सङ्क्रमण फैलिए, सोको व्यवस्थापन निजी अस्पतालबाट सम्भव हुँदैन। त्यस्ता अस्पतालले पिपिईको व्यवस्थापन, आइसोलेशन वार्ड निर्माण गर्नु नोेक्सानी मोल लिनुहुन्छ। यसर्थ सरकारले त्यस्ता निजी अस्पताललाई उपचार गर्न बाध्य पार्दा उत्पन्न हुने सबै जोखिमको जिम्मेवारी आफैं लिनुपर्छ। जसले गर्दा निजी अस्पतालहरू पनि हौंसिन्छन्। संविधानको धारा ३५ मा हरेक नागरिकको निश्शुल्क उपचार गर्ने र उपचारमा सबैको पहुँच हुने मौलिक हकको व्यवस्था छ। यस अन्तर्गत सरकारले हरेक अस्पतालमा उपचारको व्यवस्था नमिलाउँदा र अस्पतालको जोखिमको जिम्मा नलिएकोले समस्या जटिल बन्दै गएको छ। सामान्य सङ्क्रमणबाट जोगिन घरेलु विधि–दिनमा तीन/चार पटक पानी तताएर बाफ लिंदा रुघाखोकी, ज्वरो चाँडै निको हुन्छ भने जसलाई रुघाखोकी, ज्वरो छैन उनीहरूले बिहान–बेलुका एकपटक पानी तताएर बाफ लिंदा भित्रको चिसो बाफ भएर बाहिर निस्कन्छ र तापक्रम असन्तुलित हुँदैन। तापक्रम असन्तुलित भएन भने न सर्दी लाग्छ, न खोकी र ज्वरो लाग्छ।
    रुघाखोकी, सर्दी हुनु भनेको प्रकृतिले शरीरभित्र रहेको विकृत पदार्थ यी माध्यमबाट बाहिर निकाल्नु हो। तातो बाफले यस प्रक्रियालाई तीव्र बनाइदिन्छ र थोरै समयमा शारीरिक विकृति बाहिर निस्केपछि मानिस स्वस्थ हुन्छ। अहिले मौसम परिवर्तन हुने क्रममा छ, रुघाखोकी अहिलेको सामान्य रोग हो, तर यही लक्षण कोरोनाको पनि हुने भएकोले रुघाखोकीको उपचारमा बढी ध्यान दिनु आवश्यक छ।
    देशमा अहिलेसम्म सङ्क्रमित भएका र २७९ मानिसले ज्यान गुमाएको अवस्था निकै भयावह भएपनि यसको रोकथाम तथा नियन्त्रणको लागि सरकार र समाजको सकारात्मक भूमिका अपरिहार्य छ। समाजमा सङ्क्रमण सर्ने त्रास र सङ्क्रमण लागे पनि सरकारले हरेक उपाय गरी बचाउने वातावरण सिर्जना गरी आम जनताको आत्मबल बढाउन जरुरी छ। निषेधाज्ञा, लकडाउनले रोग सङ्क्रमणको प्रतिरोध गर्न सहयोग भएको छ, तर यसका साथै मानसिक त्रास हटाउन पनि जरुरी छ। समाजले हेलाको दृष्टिले देख्ने त्रास हटाउनुपर्छ। समाजले पनि कोरोना सङ्क्रमितसँग सामान्य बिरामी सरह व्यवहार गर्नुपर्छ। पहिलेदेखि कायम रहेको सामाजिक सद्भाव नष्ट हुन दिनुुहुँदैन। यसमा नागरिक समाजको भूमिका अपरिहार्य छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्