पाठक मञ्च

0
33

श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रशासन कार्यालय।
विषय : किसानको दुःखबारे जानकारी ज्ञापन दिएको छु।
उपरोक्त सम्बन्धमा म पर्टेवासुगौली गाउँपालिका–२ रङ्गपुरमा बस्ने गरीब र ऋण पीडित किसान हुँ। करीब ३० कट्ठा खेती गरी परिवारको पालनपोषण गर्दछु। रङ्गपुरमा चारवटा किरानापसलबाट मल बिक्री हुन्छ। अहिले त्यहाँ मल छैन। सखुवाप्रसौनी गाउँपालिकामा मल आयो तर पसलेले रु १८०० मा खरीद गरेकोले रु २००० मा बेच्छु भन्यो। म महुवन पुगें, त्यहाँ पनि मल पाइनँ। त्यसपछि सखुवाप्रसौनी गाउँपालिकाका ५, ६, ३, ४ र १ सबै वडा घुमें मल पाइनँ। पसलछेउका मानिससँग सोध्दा त्यहाँ पनि मलकै समस्या रहेको थाहा पाएँ। सखुवाप्रसौनी गाउँपालिकामा थुप्रै सहकारी भएपनि दाम दुई हजार र मेरो वडा गादीमा सहकारी नभए पनि दुई हजार, कुरा बुझ्न सकिनँ। वीरगंजमा पाइन्छ कि भनेर वीरगंज जिल्ला सहकारी सङ्घमा गएँ। त्यहाँ मल आयो तर नेताहरूको लागि पहिले नै बूक रहेछ। साल्ट्र ट्रेडिङ पुगें। कार्यालयका हाकिमलाई आफ्नो दुःख भनें। उनले डिलरमार्फत् मात्र बिक्री गर्ने कुरा सुनाए। धेरै अनुरोध गर्दा जिल्ला प्रशासन कार्यालय र वडाको सिफारिश भए दिन सकिने आश्वासन दिए। कोरोनाको जोखिम मोल लिएर तीन दिन सदरमुकाम चहार्दा पनि खाली हात फर्कें। स्थानीय सरकार, वडाध्यक्षलगायत प्रमुखको यसमा कुनै भूमिका पाइनँ। मलाई लाग्छ, यस्तै अरू किसानहरूको पनि समस्या होला। यस सम्बन्धमा पत्रकारहरूको पनि भूमिका देखिनँ।
–देशलाई उत्पादन दिने, तर राज्यले सम्मान नदिने एक दुःखी किसान
पटेर्वासुगौली गाउँपालिका–२ गादी, पर्सा

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्