नयाँ शैली

0
85

    कोरोनाले विध्वंस ल्याएकै हो। विध्वंस पनि सबैभन्दा बढी मानवीय ज्यानको। यो प्रत्यक्ष्F विध्वंस हो। अप्रत्यक्ष विध्वंसको रूपमा यसले सरकारहरूलाई स्वेच्छाचारी बनाएको छ। कोरोनाको भयले मानिस घरमा कोच्चिनुपर्ने बाध्यता त छँदैछ, यस अवसरको उपयोग सरकारहरूले प्रशासनलाई छाडा बनाएर तमाम तरहका मानव अधिकार हननको शृङ्खला नै चलाएको छ। कोरोनाको नाउँमा प्रशासन दुस्सहरूपमा अतिचारी बनेकोे छ। सरकारको भनाइ र प्रशासनको गराइमा कुनै समन्वय छैन। पञ्चायतकालका राजप्रतिनिधि अञ्चलाधीशहरूले सरकारको नीतिलाई धोती लगाएजस्तै अहिले प्रशासनको नियत संविधानविरोधी र नागरिकमारा बन्दै गएको छ। राज्य र प्रशासनले कोरोनालाई निहँु बनाएर दमनको चक्र कस्दै लगेका छन्।
    अर्कोतिर कोरोनाकै कारण धेरै नयाँ जीवनशैलीको विकास पनि भइरहेको छ। मानव सभ्यता उँभो र उँधो लाग्ने यस्तै अवसरमा हो। विवेकजन्य निर्णय गर्न सक्दा सभ्यताले पुराना विकृतिहरू पखालेर नयाँ समाजको निर्माण गर्दछ भने त्यसविपरीत काम गर्दा नयाँ विकृतिहरूको मात्र जन्म हुन्छ। कोरोनाले एकातिर मानव ज्यानमा सङ्कट ल्याएको छ भने यसका कारण भोलिको मानवजीवन निष्कन्टक र पर्यावरणमैत्री बन्ने अवसर पनि देखिइरहेको छ। आज कोरोना महामारीले विश्वलाई अँठ्याएको साढे पाँच महीना बित्न लाग्दा जल, नभ र थलले परिशुद्ध हुने अवसर पाएका छन्। यद्यपि यो दिगो रहन सक्दैन, किनकि कोरोना महामारी ओरालो लाग्नेबित्तिकै झन् घनीभूतरूपमा नभमा वायुयान, जलमा उद्योगजन्य फोहरको निष्कासन र थलमा यातायातका साधनहरू चलायमान भएर अवस्था पुनर्मुषिको भवः हुनेछ। हो, थेगिराख्न सके र आजको सतर्कतालाई संस्कारको रूपमा विकसित गर्न सके एउटा नयाँ सभ्यता र समानान्तर संस्कृतिको पनि विकास हुनेछ। आज भर्चुअल संस्कृतिको विकास भइरहेको छ। यसलाई निरन्तरता दिन सके निश्चय पनि धरतीको धेरै समस्या समाधान हुन सक्छ। विभिन्न स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय गोष्ठीहरूका लागि मानिसले भागदौड गर्नुपर्ने छैन, शिक्षामा यो पद्धतिलाई उपयुक्त बनाउन सके आर्थिक अभावले कसैको योग्यता खेर जाने छैन।
    तर कुरा के भने कुनै पनि अप्ठ्यारो स्थितिलाई हामी कुन दृष्टिले हेर्छौं र त्यसको उपचारका लागि कुन नीति प्रयुक्त गर्छौं भन्ने हो। युरोपतिर कुनै सरकार अपदस्थ हुने बेला उसले नागरिक हकमा वृद्धि हुने कुनै न कुनै निर्णय गरेर जान्छ। सत्तालाई बढी जनमुखी हुने नियम पारित गरेर जान्छ। त्यसैले आज युरोपेली मुलुक विकासको गतिमा सबैभन्दा अगाडि छन्। नेपालमा भने यस्तो अवस्था आउँदा सरकारहरू नागरिक हितविपरीत निर्णय गर्न सिपालु हुन्छन्। जसले गर्दा नागरिक निरीह र निर्बल बन्दै गएको छ। नागरिक निर्बल हुनुको अर्थ सरकार पनि निर्बल र निरीह बन्नु हो भन्ने कुरा नेपालका शासकहरूको गिदीमैं छिर्दैन। त्यसैले कोरोनाले ल्याइदिएको अवसरलाई नयाँ शैली, नयाँ पद्धति विकासमा ल्याउनुको साटो राज्य र प्रशासन पञ्चायतकालभन्दा पनि राणाकालीन नागरिक हितविपरीत कार्य गर्न अग्रसर हुन थालेको छ। नभए विद्यालय बन्द, पसल बन्द, मानिस बन्दजस्ता अनैतिक काममा उत्साहित हुने थिएनन्। नागरिकसँग कडारूपमा प्रस्तुत हुनु योग्य प्रशासकको कसी ठान्नेहरूको आज पनि नेपालमा कुनै कमी देखिएन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्