स्थानीय दरबारहरू

0
33

 – कुमार रुपाखेती
    राणा र शाह बस्ने सुविधासम्पन्न निवासलाई उति बेला दरबार भनिन्थ्यो। दरबारमा शक्तिशाली र सम्पन्न मान्छे बस्छन् भन्ने धारणासमेत भएकाले त्यतिखेर दरबारलाई सम्मानले हेर्नेहरू धेरै थिए। मुलुकमा छरिएर रहेका दरबारहरूलाई राजदरबार (नारायणहिटी)ले थोरबहुत भरथेक गर्ने गर्दथ्यो।
    कुनै जमानामा वीरगंज र वरपरसमेत चलनचल्तीका थुप्रै दरबार थिए। वीरगंजमा रेशमकोठी दरबार, छपकैया दरबार, ओमआश्रम दरबार, श्रीपुर दरबार, लङ्गडाराजाको बिर्ताबजारस्थित दरबार, सुवर्ण शम्शेरको दरबार, इटियाही दरबार, गौरको पुरेनवा दरबार आदि, इत्यादि। त्यस्तै, बारा कलैयाको रामराजा दरबार, बरियारपुर दरबार आदि नाम कहलिएका दरबार थिए। समयको बहावसँगै अचेल यी दरबारहरूको नामोनिसान छैन। मुलुकमा बहुदलीय व्यवस्था आगमनपछि यस्ता दरबारहरू अस्तित्वविहीन भएको देखिन्छ। आफ्नो जमानामा निकै चर्चित यी दरबार क्षेत्र अहिले छोटेमोटे गाउँमा परिणत भएका छन्। छपकैया, रेशमकोठी, बरेवा दरबार र बरियारपुर दरबार दर्जनौं बिघा क्षेत्रमा अवस्थित थिए। पुरानियाहरू दरबारियाहरूको मुर्ली बगैंचा अझै सम्झन्छन्। राणा र शाह शासकबाट डाँडा कटाइएका र केही स्वेच्छाले र शासन गर्ने रोलक्रममा आफूहरू नपर्ने निश्चित भएपछि मुलुकका विभिन्न जिल्लामा छरिएर शान–शौकतका साथ बसेका थिए। राणाकाल र पञ्चायतकालसम्म यिनको दबदबा र रोब कायम थियो। राजनीतिक परिवर्तनपछि दरबारहरूको चल्ती मलीन हुन थाल्यो। खर्चालु प्रवृत्तिका दरबारिया खलकहरू आम्दानीको स्रोत सुक्न थालेपछि बचेखुचेको श्रीसम्पत्ति बेचेर खान थाले र परिवार नै तितरबितर हुन थाल्यो। राणा र शाहहरू आम्दानी अठन्नी, खर्चा रुपियाँ प्रवृत्तिका हुन्छन्। श्रीसम्पत्ति सकिएपछि जीहजूरी गर्दै यिनको पछि लाग्नेहरू पनि आफ्नो बाटो लागे। यिनको मानमनितो गर्नेहरूले आँखा तर्न थाले, जसले गर्दा आफ्नो आन, बान र शानका लागि प्रसिद्ध राणा, शाहहरू यो तीन दशकमा दीनहीन अवस्थामा पुगे। यिनको सेवा सुश्रुषा र यिनको खातिरदारीमा जी हजुरीको सुगा रटान गर्नेहरू अहिले आफ्ना मालिकभन्दा धनी र जग्गा जमीनको स्वामी भएका छन्। दान–दातव्यमा राणा र शाहहरू अलि उदार र दिलदार नै देखिन्छन्। यिनले वीरगंजवासीको हितमा दान गरेको वीरगंजको रानीघाट अचेल खुम्चिएर सानीघाटमा परिणत भएको सबैलाई थाहै छ।


    भनिन्छ, यही खलकले आफ्ना चल्तीका बेला वीरगंजमा भारतबाट लुगा धुने धोबी, मासु काट्ने बगरे, काम गर्ने मजदूर, व्यापारीहरूलाई आफ्नो सुरक्षा र बलबुतामा यता ल्याएका हुन्। आफ्नो दरबार निर्माण गर्न मिस्त्री, बढई मिस्त्री, मजदूरसमेत यिनले उताबाट यता ल्याएका रहेछन्। राणा र शाहहरू दरबार बनाउन खप्पिस र शोखिन मानिन्छन्। वीरगंजमा रहेका केही राणा र शाह परिवार अझै पनि सम्मानित पेशा, व्यवसाय गरेर जीवन धानिरहेका र सामाजिक सेवामा सक्रिय र समर्पित देखिन्छन्। होटल सम्झनाका शिव राजा, उषा शाह, मधु राणा, ज्योति शाह आदि यस्ता स्मरणीय नामहरू हुन्। त्यस्तै अरुण विक्रम शाह साहित्यिक फाँटमा सक्रिय छन्। कतिपय त मधेस आन्दोलनमा आजित भएर वीरगंजलाई टाटा–बाइ–बाई गर्दै टाढिए। पहिलो नेपाल सुन्दरी रूबी राणाका स्व. पिता साहित्यकार जनक शाह पनि वीरगंजकै धरोहर हुन्। पूर्वअभिनेत्री जल शाहकी आमा प्रेमा शाह आफ्नो बेलामा पर्साकी जल्दीबल्दी कवि, साहित्यकार हुन्। वर्तमान चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह शिवराजाकी नातिनी हुन्। पञ्चायती राजनीतिमा रौतहटबाट द्रोण शम्शेर र बाराबाट चन्दा शाह सक्रिय थिए।
    पञ्चायतकालमा यिनको संरक्षण हेतु सरकारले यिनलाई साहेबज्यू भत्तासमेत दिन्थ्यो। बनेन्द्र विक्रम शाह, प्रमोद विक्रम, माइला राजा, रवि विक्रम शाह, मनोहर विक्रम शाह आदि गरी करीब ४/५ जना साहेबज्यू त वीरगंजमैं थिए। साहेबज्यूहरूसँग त्यतिखेरका स्थानीय प्रशासक डराउँदथे, अदबले पेश हुन्थे। शायद त्यतिखेर साहेबज्यूहरू राज्यमन्त्रीस्तरको सुविधाभोगी हुन्थे। तर व्यवस्था परिवर्तनले यिनको भत्ता र पदवी खोसियो, यिनलाई हेर्ने दृष्टिकोण र शक्ति क्षीण भयो र यिनीहरू दरबार, घरबार त्यागेर अन्यत्र पलायन हुन बाध्य भए। कुनै बखत वीरगंजको श्रीपुर, छपकैया, रेशमकोठीतिर अधिकतम सङ्ख्यामा भेटिने राणा, जबरा र शाहहरू अचेल इक्कादुक्का मात्र भेटिन्छन्। उतिबेला साथीभाइले यिनलाई पनि सम्मानपूर्वक राजा भनी सम्बोधन गर्दथे। दरबारहरूको दरबार मानिने राजदरबार (नारायणहिटी)को अवस्थासमेत अहिले पेन्डुलमझैं छ।
    राजा महेन्द्रको पालामा राजदरबारको जगजगी कसैसँग लुकेको थिएन। वीरेन्द्रको पालामा समेत नारायणहिटी जल्दोबल्दो थियो, जसको प्रकाशले छरिएर रहेका अन्य दरबारसमेत जगमगाउँथे। तराईका यस्ता थुप्रै दरबारिया, जो कुनै बखत सयौं बिघा जग्गा–जमीनका स्वामी थिए, आज शरणार्थीझैं यताउता भौंतारिइरहेका भेटिन्छन्। यिनका पढेलेखेका सन्तानहरू सेना, प्रहरी, स्तरीय जागीरमा कतैकतै देखिन्छन्।
    वीरगंजेली खेलकूदमा समेत कुनै बेला रूपाल शम्शेर, कञ्चन विक्रम शाह, कोहिनूर राणा, सुवर्ण हजुर, मयुर राणा, विशाल राणा आदिले नाम कमाएका थिए। स्व. विशाल राणाको नाममा त स्व. विशाल मेमोरियल फूटबल प्रतियोगिता नै हुन्छ, जुन यसपटक कोरोनाले गर्दा स्थगित छ। ‘उडायो सपना सबै हुरीले’ भनेझैं प्रजातन्त्रले साहेबज्यू पदवी र भत्ता खोसिनु, राजदरबार हत्याकाण्डले गर्दा छोटे दरबारहरू लोप हुँदै गए। तर पनि हिङ नभए पनि हिङ बाँधेको टालो छ भनेझैं कतिपय राणा र शाहहरू अझै पनि येन केन प्रकारेण आफ्नो राजसी शान कायमै राखेर बसेको दुर्लभ दृश्यसमेत हाम्रो वीरगंजमा देखिन्छ।
    राजनीतिको कुरा गर्ने हो भने अधिकांश राणा र शाहहरू राप्रपालाई खाँटी राजावादी पार्टी मान्दछन् र राप्रपाप्रति लचिलो देखिन्छन्। राजा ल्याऊ, देश बचाऊतिर पनि यिनको रुझान देखिन्छ। अहिले राजसंस्था नून खाएको कुखुराझैं प्रतीत भएपनि ज्ञानेन्द्र, हिमानी शाह र हृदयेन्द्र देखेर यिनीहरू आशावादी देखिन्छन्। वीरगंजका अधिकांश शाह र राणाजीहरू दरबार पुनः बलियो भएको देख्ने लालसा राख्दछन्। वीरगंज मात्रै किन नेपालभरि दरबारिया नाता, कुटुम्बहरूको चाहना पनि यही हो। वीरगंजभरि सुवर्ण शम्शेरको दरबार ख्यातिप्राप्त र विशाल दरबार मानिन्थ्यो। घण्टाघरभन्दा उत्तर रहेको ब्यारेकसँग टाँसिएको त्यो विशाल र आकर्षक दरबारको अहिले एउटा इँटासमेत देखिंंदैन। कुनै बखत वीरगंजमा रहेका सबै दरबारको नेतृत्व गर्ने सुवर्ण शम्शेरको त्यो रातो दरबारमा एकताका श्री ५ को सरकारको थुप्रै कार्यालय थियो। भनिन्छ, वीरगंजमा सबैभन्दा पहिलो बनेको दरबार नै यही थियो।
    यसरी वीरगंजमा रहेका करीब आधा दर्जन दरबार एउटा सानो अवधिमा छुमन्तर भएको देखिन्छ। लाज नमानेर भन्ने हो भने वीरगंजमा नामी भनिएका यी दरबारका सन्तानहरू अचेल वीरगंजमैं कोठा भाडामा लिएर बसेकोसमेत देखिन्छ। शायद यसैलाई भनिन्छ, नसीब अपना अपना। तर पनि बूढापाकाहरूका मुखबाट छपकैया, श्रीपुर र रेशमकोठी दरबारहरूले आफ्नो समयमा थुप्रैको हित र कल्याण गरेको कुरा सुन्दा रमाइलो नै लाग्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्