वर्षा ऋतुमा समाहित छ जीवन–विद्याको प्रशिक्षण

0
29

    हाम्रा ऋषि–मनीषीहरूले प्रकृतिलाई चेतन सत्ता मानेर त्यससँग सामञ्जस्य स्थापित गर्दै जीवनयापन गर्ने सिद्धान्तमा जोड दिएका छन्। प्रकृतिसँग सद्भावपूर्ण सद्व्यवहारको पुण्य परम्पराका कारण  प्रकृतिले हाम्रालागि आमा बनेर पोषण व्यवस्था त गरेकै छ, जीवनसूत्रको दिव्य प्रेरणा पनि प्रदान गरेको छ। प्रकृतिका विभिन्न ऋतुहरू विभिन्न सूक्ष्म–प्रवाह तथा स्थूल–संसाधन लिएर आउँछन्। त्यसलाई बुझेर त्यस अनुकूल व्यवस्था बनाई हामी प्रकृतिका अनुदानहरूको श्रेष्ठ उपयोग गरेर श्री, समृद्धि र सन्तोषका अधिकारी बन्न सक्छौं।
    वर्षा ऋतु स्थूलक्रममा जलवृष्टि तथा सूक्ष्ममा पर्जन्य–उर्वरताको प्रवाह लिएर आउँछ। समझदार व्यक्तिले प्रकृतिको प्रवाहअनुरूप आफ्नो व्यवस्था मिलाएर त्यसबाट समुचित लाभ लिन्छ। जसले त्यस अनुकूल व्यवस्था मिलाउन सक्दैन, उसलाई लाभ त थोरै प्राप्त हुन्छ, समस्याको पनि सामना गर्नुपर्छ। स्थूलक्रममा पानी पर्छ। यदि छतको व्यवस्था समयमा गरिएको छैन भने पानी चुहिन्छ र घरमा चिस्यान उत्पन्न हुन्छ। यदि सडक र नालाहरूको सफाइ राम्ररी गरिएको छैन भने हिलो र घरमा पानी पस्ने समस्या झेल्नुपर्छ। यसविपरीत जसले समयमा तयारी गरेको छ, उसलाई त्यस्तो कठिनाईको सामना गर्नुपर्दैन र उसले वर्षाको आनन्द पाउँछ।
    सूक्ष्मक्रममा उर्वरता बढ्छ। समयमा जमीन तयार पारेर बीउ छरेको छ भने अन्नको लाभ हुन्छ। तर उर्वरताले बीउका साथै घाँस–पात पनि हुर्काउँछ। यस्तोमा गोडमेल गरिएन, घाँसपात उखेलेर फालिएन भने फसललाई हानि पुग्छ। प्रकृतिको उर्वरताले जहाँ रूख–बिरुवा तीव्रताले बढ्छन्, त्यहीं लामखुट्टे–झिङ्गा, भुसुनाहरूको पनि भरमार हुन्छ। सफाइमा लापरवाही भयो, अलिकति फोहर भयो कि यिनको उत्पत्तिमा तीव्रता आउन थाल्छ।
    यति मात्र होइन, आँखाले नदेखिने विषाणु–रोगाणुहरू पनि तीव्रताले हुर्कन्छन्। अलिकति बेवास्ता भयो कि शरीर रोगको प्रकोपले थला पर्छ। भनाइको तात्पर्य यो हो कि उर्वरताका वाञ्छनीय प्रभावलाई संरक्ष्Fित–प्रवद्र्धित गर्दै त्यसका अवाञ्छनीय प्रभावलाई निरस्त गर्ने व्यवस्था पनि निरन्तर गरिराख्नुपर्छ। जीवनका सबै आयाममा प्रकृतिको प्रवाहको वाञ्छित परिणाम बढाउने र अवाञ्छित परिणाम निरस्त पार्ने साधना आवश्यक हुन जान्छ।
    वर्षा ऋतुको साधनाकाल पनि कम उल्लेखनीय छैन। वर्षा ऋतुको स्थूल र सूक्ष्म, दुवै प्रवाहको सदुपयोग–सुनियोजनमा तत्परता देखाउनु जरुरी हुन्छ। स्थूलतन्त्रबारे त अधिकांश मानिस सावधान रहन्छन्, तर सूक्ष्मतन्त्रमा थोरैको ध्यान जान्छ। हाम्रा ऋषि–मनीषीद्वारा, दुवै क्षेत्रका लागि विवेकपूर्ण रीतिनीति प्रतिपादन तथा प्रयोग तरीका  निर्धारित गरिएको छ। त्यसलाई बुझेर विवेकपूर्वक व्यवहारमा प्रयुक्त गरियो भने वर्षाकालको कुप्रभावबाट जोगिएर सुप्रभावको पर्याप्त लाभ प्राप्त गर्न सकिन्छ।
    सन्त परम्परामा भनिएको छ कि सन्त श्रेणीका साधक लोक–शिक्ष्Fण तथा लोक–मङ्गलका कार्यहरूलाई गति दिन विचरण गरिरहन्थे। तिर्खाएको व्यक्ति तिर्खा मेट्न कुँवासम्म पुग्नु त ठीक छ, तर सन्त त बादलजस्तै तिर्खाएको धरतीसम्म स्वयम् पुगेर त्यसको तिर्खा मेट्ने साधना गरिरहन्छन्। रामचरित मानसमा लेखिएको पनि छ– ‘सन्त सुखी विचरंत मही’ अर्थात् सन्त प्रकृतिका मानिस धरतीमा विचरण गर्दै लोक–मङ्गलको साधना गरेर सुखको अनुभव गर्दछन्।
    सन्तजनकोे परम्परा पैदलयात्रा हो। प्राचीनकालमा वर्षा ऋतुमा पैदलयात्रा निकै कठिन हुन्थ्यो। त्यसैले वर्षायाममा यात्रा रोकेर उनीहरू कतै कल्पवास गर्दथे। एक स्थानमा बसेर विशेष तप–साधनाद्वारा शरीर–शोधन प्रयोग तथा स्वाध्याय–सत्सङ्गद्वारा मन–शोधन गर्ने प्रयोग गर्दथे। खानपानको संयमले, शरीर शोधनका यौगिक क्रियाहरूद्वारा, शरीरमा उत्पन्न हुने रोगाणु तथा विषाणुको प्रभावलाई निरस्त पार्दथे। उनको मार्गदर्शनमा सामान्य व्यक्ति पनि यस प्रकारका साधनामा लागेर लाभान्वित हुन्थे। स्वाध्याय–सत्सङ्गद्वारा मन–बुद्धि–चित्त आदि परिष्कृत गर्ने साधना–अनुष्ठान गर्ने–गराउने गरिन्थ्यो। दुवै प्रकारको प्रयोग मिलेर यस्ता कल्पसाधनालाई सार्थक बनाउँथे।
    लोक परम्परामा पनि विवाहादि आयोजनहरू रोकेर शिवार्चन, चन्द्रायणजस्ता साधनाक्रमलाई महत्व दिइन्थ्यो। वर्षा ऋतुबाट लाभ प्राप्त गर्नका लागि श्रेष्ठ विचार एवं प्रवृत्तिको बीउ विशिष्ट साधना, सत्सङ्ग आदिको माध्यमले रोप्ने परम्परा थियो। सद्विचाररूपी बीउ सत्प्रवृत्तिको रूपमा विकसित हुन्छ भने त्यसलाई सत्सङ्गको पोषण दिनु अभीष्ट हुन्छ। वर्षाकालको उर्वरताको लाभ प्राप्त गर्नका लागि यस्ता साधनाक्रम अँगाल्नु युक्तिसङ्गत हुन्छ। सन्त परम्परा र लोक परम्परा, दुवैमा देव संस्कृतिले यस्ता साधनाक्रमलाई महत्व दिएको छ।
    वर्षा ऋतुले दिव्य शिक्ष्Fण प्रदान गर्दछ। प्रकृतिको स्थूल–सूक्ष्म प्रवाहका साथ प्रकृतिमा सञ्चालित हुने विविध घटनाहरूले पनि आफ्नै ढङ्गले निकै मूल्यवान् शिक्षण प्रदान गर्दछन्। पूर्वीय चिन्तन परम्परामा प्रकृतिबाट प्रेरणा लिने विशेषता रहेको छ। भगवान् दत्तात्रेयका २४ गुरु, प्रकृतिकै घटक हुन्। उपनिषद्, संस्कृत काव्यहरूमा यस्ता असङ्ख्य प्रसङ्ग छन्।
    रामचरितमानसको किष्किन्धा काण्डमा भगवान् रामले वर्षाकालमा सहज घटित हुने घटनासँग सम्बद्ध प्रेरणाहरूको सुन्दर बोध भाइ लक्ष्मणलाई गराएका छन्। त्यसको अध्ययन गरेर  महत्वपूर्ण सूत्र हृदयङ्गम गर्न सकिन्छ।
    –बर्सने बादल धरती निकट आएर बर्सन्छन्, जसरी बुद्धिमान मानिस विद्या प्राप्त गरेपछि विनम्र बन्दछन्। बुद्धिमान् मानिस विद्या प्राप्त गरेपछि जनजनलाई त्यसबाट लाभान्वित बनाउन प्रयास गर्दछन्।
    वर्षाको पानीको आघात पर्वतले सहज सहन गर्दछ। यसै प्रकार दुष्ट व्यक्तिको कटु वचनको प्रभाव सन्त तथा सज्जन व्यक्तिमा पर्दैन। ठूला–ठूला विद्वान् विघ्नसन्तोषीहरूको व्यङ्ग्य वचनबाट आहत भएका देखिन्छन् तर जसको स्वभावमा शालीनता हुन्छ, ती त्यसबाट अप्रभावित रहेर सहज भावले लोक–मङ्गलको साधनामा लागिरहन्छन्। युग ऋषिले पनि लेखेका छन् कि कुटिल व्यक्तिको दुर्वचनको सबैभन्दा असल उत्तर हो–त्यसबाट अप्रभावित र सहज बन्नु।
    –वर्षाको पानी शुद्ध स्रावित जल हो। बादलबाट पानीको थोपा आफ्नो त्यसै शुद्धरूपमा झर्छ। भूमिको सम्पर्कमा आउने बित्तिकै त्यो फोहर हुन्छ। यसैगरी, ईश्वर अंश–जीवात्मा संसारको सम्पर्कमा आउनेबित्तिकै मायाले चपेटमा पार्छ। यदि जल स्थिर भयो भने त्यसमा मिसिएको माटो र अन्यान्य फोहर थेग्रिन्छ र जल सहज शुद्ध हुन्छ। यसै प्रकार ध्यान आदिको माध्यमले चित्तमा  स्थिरता आएपछि शुद्ध चित्तमा सहजै आत्मतत्वको बोध हुन थाल्छ।’
    –वर्षाको पानी सबै ठाउँबाट समेटिएर तलाउमा जम्मा हुन्छ। यसै प्रकार विनम्र, शालीन स्वभावका व्यक्तिमा सद्गुण सहजताले पुगिरहन्छ। गुणग्राहकताको कति सुन्दर उदाहरण वर्षाको यस घटनाले प्रस्तुत गरेको छ। सज्जन–शालीन व्यक्तिको वचन र व्यवहारमा विनम्रता हुन्छ र अर्काको सम्मान समेटेर राख्छ।
    –साना खहरे खोला थोरै पानी परे पनि उर्लिन थाल्छ। क्षुद्र मानसिकता भएका व्यक्ति यसै प्रकार थोरै सम्पदा
(धन, पद, यश) पाएर उन्मत्त व्यवहार गर्न थाल्छन्। गम्भीर प्रकृतिका व्यक्ति यस प्रकारको उपलब्धि पाएर पनि सहज बनिरहन्छन्।
    –हरियालीले भरिपूर्ण भूमिले त्यसैगरी शोभा पाउँछ, जसरी उपकारी व्यक्तिको सम्पत्ति। कन्जूस प्रकृतिका व्यक्ति आफ्नो धन लुकाएर राख्छन्। त्यो छ कि छैन त्यसको छनकसमेत पर्न दिंदैनन्। उपकारी व्यक्ति भने आफ्नो सम्पदालाई जनहितका लागि खुला गरिदिन्छन्, जसरी धरतीले आफ्नो उर्वरता र हरियालीलाई उजागर गर्दछ।
    –जसरी बाठो किसान आफ्नो खेतको गोडमेल गर्दछ, त्यसैगरी समझदार व्यक्ति आफ्नो मनोभूमिमा उम्रेको लोभ, मोह, अहङ्कारलाई सफलतापूर्वक उखेलेर फालिरहन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्