के सिक्यो त सरकारले ?

0
42

    नेपालमा मात्र होइन, विश्वलाई नै कोरोनाले गिजोलेको छ। यसको निस्तार कसरी हुन्छ, अहिलेसम्म अनिश्चितजस्तै छ। यद्यपि धेरै देशले कोरोना भाइरसविरुद्ध खोप विकास गरेको समाचार आइरहेको छ। कुनै–कुनै औषधि परीक्ष्Fणको चरणमा पनि पुगिसकेको छ। तर संसारभरिको रोगहरूको नियमनकारी संस्था विश्व स्वास्थ्य सङ्गठनले भने कोरोना कुनै खोपबाट निर्मूल हुँदैन, यससँग मानवजातिले बाँच्न सिक्नुपर्छ भनेको छ। अर्थात् यसको खोपको आविष्कार भएपनि रोगीलाई निको पार्न सकिन्छ, पोलियो, चेचक, हैजाजस्तो कोरोनालाई निर्मूल भने पार्न सकिंदैन। कोरोनाविरुद्ध खोपको सफलताले मानिस मधुमेह, क्यान्सर, उच्च रक्तचापजस्तो दुर्निवार रोगजस्तै आजीवन कोरोनासँग जुध्नु नपर्ला, रुघाखोकी, निमोनिया, टाइफाइडजस्तो रोगको सामना गरेझैं अवस्था भने रहिरहनेछ। अहिलेसम्मको स्वास्थ्य विज्ञानले देखाएको वास्तविकता यही हो। अर्थात् कोरोना समाप्त हुँदैन। मानिसले यसबाट जोगिएर नै कार्य–व्यापार गर्नुपर्नेछ। यस तथ्यलाई आम नेपाली नागरिकले बुझिसकेको छ, बुझ्न सरकारले बाँकी छ।
    शुरूमा विश्वभरि नै कोरोनाको जुन त्रास फैलियो, त्यसले मानिसहरू आत्तिएर काम छाडेर घरमा थन्किए, विदेश गएका स्वदेश फर्किए। बिस्तारै पङ्गु बन्दाको क्षण कोरोनाभन्दा भारी देखिएपछि बुझ्ने देशका सरकारहरूले सतर्कता र सावधानी अँगालेर कार्य–व्यापार शुरू गरे, भूपि शेरचनको भेंडो देशको भेंडो सरकार भने लकडाउनमाथि उक्लेर निषेधाज्ञा लगाउन तथा नागरिकलाई चोट पु–याउने आदिम संस्कारभन्दा माथि उक्लन सकेन। हो, भारतमा मजदूरी गर्ने अति सामान्य नेपालीहरू भोकमरीबाट आत्तिएर पुनः भारत फर्कन थालेका छन्। हिजो जुन महामारीको त्रासले ज्यान जोगाउन देश फर्केका थिए, आज त्यै कालको गालमा फर्कन थालेका छन्। भोकै मर्नुको साटो रोग लागेर मर्नु बेस भन्ने कटु यथार्थ उनीहरूले बुझेकाले पुनः त्यै धरतीमा फर्कन बाध्य भएका छन्, जहाँ दिनहुँ पचासौं हजार मानिस कोरोनाबाट सङ्क्रमित भइरहेका छन् र हजारौंको सङ्ख्यामा मरिरहेका छन्। नेपालका सञ्चारमाध्यमहरूले आजीविकाका लागि अति सङ्क्रमित मुलुक जान लाम लागेका नेपालीहरूको नियतिलाई प्रमुख समाचार बनाएर प्रस्तुत गरिरहेका छन्।
    भोकाहरूलाई कामको खोजी छ, कार्य–व्यापार बन्द गरेर बसेकाहरूलाई कामदारको खोजी छ। त्यो अवस्था नेपालमा नभएको होइन। नेपालमैं काम गर्ने वातावरण बनाई तिनलाई यहीं रोक्न नसकिने होइन। भारतीय सरकारी सञ्चारमाध्यमहरूमा कोरोनासँग डराएर घरमा थन्किने होइन, पर्याप्त सुरक्षा अँगालेर काम गर्नुपर्छ भन्ने सन्देशहरू आइरहेका बेला नेपाली शासकहरू निषेधाज्ञामाथि निषेधाज्ञा थपिरहेका छन्। मानौं नेपालीहरूको पेट छैन, उनीहरूलाई खानुपर्ने आवश्यकता नै छैन। अघोरीहरू अतिशयमा विश्वास गर्छन्। सरकारको नीति अघोरी छ। नेपाल सरकार कोरोना नियन्त्रणको नाउँमा लकडाउन र निषेधाज्ञा थपेर अतिशयता प्रदर्शन गर्न खोजिरहेको छ। त्यो अतिशयता जनतालाई जसरी पनि कुण्ठित राख्नु, मानसिक रोगी बनाउनुमा प्रदर्शित भइरहेको छ। मूढले आफूबाहेक अरूको सुन्दैन। अरूको सिको गर्दैन। त्यसैले आज विश्व चलायमान हुने सुरसार गरिरहँदा पनि सरकारले केही सिक्न सकेको छैन होइन कि सिक्न पनि चाहिरहेको छैन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्